खेल

तारकेश्वरमा मेयर रनिङ शिल्ड हुँदै

तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने भएको छ।

प्रतियोगितामा टेबल टेनिस, एथलेटिक्स, भलिबल, कबड्डी, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी गराए।

दोस्रो संस्करणमा टेबल टेनिस, बास्केटबल र ब्याडमिन्टन थप गरिएको हो। प्रतियोगितामा विभिन्न ४९ विद्यालयका २ हजार २ सय ५४ खेलाडीले प्रतिस्पर्धा गर्ने शिक्षा, युवा तथा खेलकुद शाखा, तारकेश्वर नगरपालिका प्रमुख पदमबहादुर खत्रीले बताए।

कुल ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। ब्याडमिन्टनमा ३, भलिबल र कबड्डीमा समान २/२, एथलेटिक्समा २६, कराते, उसु र तेक्वान्दोमा समान १२/१२, टेबल टेनिसमा ३ तथा बास्केटबलमा २ स्वर्णका लागि खेल हुनेछ।

टिम च्याम्पियनले १ लाख, दोस्रोले ६० हजार, तेस्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। गत संस्करणको उपाधि हिमरश्मिले जितेको थियो। मंसिर २२ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब २२ लाख रूपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ। खेल तारकेश्वर नगरपालिकाका विभिन्न स्थानका साथै एथलेटिक्सको ट्य्राक इभेन्ट भने हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा हुनेछ।

प्रकाशित: १६ मंसिर २०८० ०३:१६ शनिबार

तारकेश्वरमा मेयर रनिङ शिल्ड हुँदै टेबल टेनिस एथलेटिक्स भलिबल कबड्डी बास्केटबल उसु कराते तेक्वान्दो र ब्याडमिन्टनमा प्रतिस्पर्धा