खेल

नेपाल सुपर लिगः धनगढीले वीरगञ्जलाई हरायो

तस्बिरः नेपाल सुपर लिग (फेसबुक पेज )

गत सिजनको उपबिजेता धनगढी एफसीले नवप्रवेशी वीरगञ्ज युनाइटेड एफसीलाई २–१ ले हराउँदै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पनि सुखद सुरुआत गरेको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीले आजआइतबार सम्पन्न खेलमा  गोलकिपर दीप कार्कीको कप्तानीमा रहेको वीरगञ्जमाथि जित निकाल्दै सुखद सुरुआत गरेको हो । धनगढीको जितमा दुवै गोल विदेशी खेलाडीले गरे।फोडे फोफना र अहमद हिजाजीले गोल गर्दै धनगढीलाई जित दिलाएका हुन्।वीरगञ्जका लागि हान्स कोफिईले गोल गरे। धनगढीले अग्रता लिए पनि वीरगञ्जले पेनाल्टीमार्फत  गोल फर्काएको थियो।तर, खेलको अन्तिम समयमा दोस्रो रोजाइका खेलाडी हिजाजीले गोल गर्दै धनगढीलाई महत्वपूर्ण जित दिलाए।

खेलको दोस्रो मिनेटमा नै धनगढी एफसीले फोडे फोफानेको गोलबाट अग्रता लियो। आफिज ओलावालेको लेफ्ट फुटेट पास सदुपयोग गर्दै उनले वान टचमार्फत गोल गरेका हुन् । वीरगञ्जका लागि खेलको १३औं मिनेटमा पहिलो आक्रमण बुन्यो।डिएरिया भित्रबाट हान्स कोफीको पास नियन्त्रणमा लिँदै बिसोन गुरुङको प्रहार माथिल्लो बारबाट बाहिरियो।२६औं मिनेटमा वीरगञ्ज युनाइटेडका विलियम ओपोकुले फ्रिहेडरलाई पोस्टको दिशा दिन सकेनन्।३१औं मिनेटमा ओलावालेले धनगढीको अग्रता दोब्बर बनाउने अवसर गुमाए।

वीरगञ्जका गोलकिपर दीप कार्की अगाडि बढेको अवस्थामा डिएरिया बाहिरबाट उनको फितलो प्रहार गोलकिपर दीपले सहजै रोके।पहिलो हाफको थप समयमा वीरगञ्जले पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्कियो।कर्नर प्रहार बल धनगढीका डिफेन्डर डिएग्ने फलोउले हातले रोकेपछि वीरगञ्जले पेनाल्टी पायो। उक्त पेनाल्टीमा हान्स कोफिईले गोल गर्दै बराबरीमा फर्काए। त्यससँगै पहिलो हाफ १–१ को बराबरीमा सकियो।  

दोस्रो हाफमा दुवै टोलीले लामो समयसम्म राम्रो आक्रामण बुन्न सकेन।७१औं वीरगञ्जका सीमान्त थापाले लामो दूरीबाट गरेको प्रहार धनगढीका गोलकिपर मोहम्मद टाहाले सहजै नियन्त्रणमा लिए।७५औं मिनेटमा वीरगञ्जले अग्रता दोब्बर बनाउने अवसर पाएको थियो । वीरगञ्जका डिफेन्डर समला गुस्ताभाले सेन्टरबाट गरेको प्रहार धनगढीका गोलकिपर टाहाले मुस्किलले बचाए।८३औं मिनेटमा वीरगञ्जका तेज तामाङले डिएरिया भित्रबाट गरेको प्रहार धनगढीको गोलकिपर टाहाले सहजै नियन्त्रणमा लिए।८७औं मिनेटमा आशिष चौधरीले धनगढीलाई अग्रता दिलाउने अवसर गुमाए।  

करिब ८ यार्ड टाढाबाट उनको लेफ्ट फुटेट प्रहारले पोस्टको दिशा लिन सकेन । ८९औं मिनेटमा लेबनानका स्टार अहमद हिजाजले गोल गर्दै धनगढीलाई अग्रता दिलाए । कृतिषरत्न छुन्छुको उत्कृष्ट पासमा हिजाजले पेनाल्टी क्षेत्रबाट गोल गरेका हुन् । त्यो गोल नै धनगढीको जितमा निर्णायक बन्यो।

भोलि झापा एफसी र स्पोटीङ इलाम एफसीबिच साँझ ६ बजे काठमाडौकाे  दशरथ रंगशालामा खेल हुनेछ। 

प्रकाशित: १० मंसिर २०८० १४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App