खेल

भैरहवालाई हराउँदै विराटनगर फाइनलमा

काठमाडौं– विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल)को फाइनलमा प्रवेश गरेको छ। 

बुधबार सम्पन्न पहिलो प्ले अफ् खेलमा भैरहवा ग्लाडियटर्सले लाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश गरेको हो । भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगर वारियर्सले १७ ओभरमा २ विकेट गुमाइ भेट्टायो । विराटनगरका लागि बाबर हायतले सर्वाधिक ६२ रनको योगदान दिए। 

उनले ४४ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ६२ रन बनाए। त्यस्तै कप्तान पारस खड्काले २४ बलमा २ चौका र ४ छक्काको मद्दतमा अविजित ४२ र अंशुमान रथले ३२ बलमा २ चौकाको मद्दतमा २६ रन बनाउन सफल भए।
 
विराटनगरका ओपनर ब्याट्सम्यान आसिफ शेख सून्य रनमै आउट भएपनि बाबर र अंशुमानको जोडीले राम्रो प्रदर्शन गरेपछि विराटनगर जित तर्फ लम्किएको थियो।
 
भैरहवाका लागि हरीशंकर शाह र पुनित मिश्रले १÷१ विकेट लिएका थिए। 
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको भैरहवा ग्लाडियर्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियोे।
 
विराटनगर वारियर्ससामु भैरहवा ग्लाडियटर्स सुरुमा खुलेर खेल्न नसक्दा मध्यम स्कोरमै समेटियो। भैरहवाका लागि सर्वाधिक रन आरिफ शेख र पुनित मिश्रले बनाएका थिए। शेखले ४६ र मिश्रले ४९ रनको योगदान दिए । २ जना बाहेक अन्य ब्याटसम्याले दोहोरो रनको स्कोर जोडन सकेनन्। 

भैरहवाले १७ रनमै ३ विकेट गुमाएको थियो । टोलीको १७ रन हुँदा कप्तान शरद भेषावकर ८ रन बनाउदै पेभेलियन फर्किएका थिए । त्यस्तै २७ रन हुँदा भैरहवाका रोहितकुमार पौडेल ७ रनमा आउट भएपछि भैरहवाको ब्याटिङ लाइन धर्मराएको थियो । त्यसपछि ब्याटिङ गर्न आएका आरिफ शेख र पुनित मिश्रले सम्हालिएर ब्याटिङ गर्दै टोलीको इनीङ उकासेका थिए । टोलीको स्कोर १०९ हुँदा भैरहवाका आरिफ शेख ४६ रन बनाइ क्याच आउट भएका थिए । आरिफले ३५ बलमा १ चौका र ३ छक्काको मद्दतमा सो रन बनाएका हुन् । त्यस्तै पुनित मिश्रले ३४ बलमा  ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाएका हुन। 

भैरहवालाई १२७ रनमा समेट्न विराटनगरका लागि सहान एडिसा र करण केसीले २/२ तथा पारस खड्का, अभिनास कर्ण र बसन्त रेग्मीले समान १/१ विकेट हात पारे।

विराटनगरसँग पराजित भएपनि भैरहवालाई फाइलन प्रवेश गर्ने अझै एउटा मैका छ। आजै हुने पोखरा राइनोज र ललितपुर प्याट्रियर्सबीचको विजेता टोलीसँग भैरहवाले फाइनल प्रवेशका लागि खेल्नेछ। 

प्रकाशित: १२ पुस २०७४ ०६:५८ बुधबार

भैरहवालाई हराउँदै विराटनगर फाइनलमा