खेल

व्यावहारिक सम्भावना समाप्त

बिहीबार बहराइनविरुद्धकाे खेलमा बल अगाडि बढाउँदै नेपालका खेलाडी(निलाे) । तस्बिर :एजेन्सी

काठमाडौं– किर्गिस्तानको बिस्केकस्थित ओर्मुजाकोभ रंगशालामा लगातार दुई पराजय भोगेपछि नेपाली युवा टोलीको एएफसी यु–१९ च्याम्पियनसिपमा छनोट हुने व्यावहारिक सम्भावना सकिइसकेको छ। 

अर्को वर्ष हुने एएफसी च्याम्पियनसिपका लागि छनोटअन्तर्गत समूह ‘ए’ मा नेपालले आयोजक किर्गिस्तान र बहराइनसँग पराजय भोगिसकेको छ । पहिलो खेलमा आयोजक किर्गिस्तानसँग २–० को नतिजामा पराजित नेपाल दोस्रो खेलमा बिहीबार बहराइनसँग ४–० ले निराश भएको थियो। 

पाँच टोली सम्मिलित समूहमा राउन्ड रोबिन पद्धतिमा प्रतिस्पर्धा गरेपछि शीर्ष टोली सोझै अर्को वर्ष इन्डोनेसियामा हुने प्रतियोगितालाई छानिन्छ । त्यसबाहेक आयोजक इन्डोनेसियासँगै छनोट चरणका १० समूहमा उपविजेता हुनेमध्ये उत्कृष्ट पाँच टोली पनि एएफसी च्याम्पियनसिपलाई छानिन्छन् । व्यावहारिक सम्भावनाबाट टाढा भइसकेको नेपालले इन्डोनेसियाको टिकट काट्ने गणितीय सम्भावनाका लागि शनिबार संयुक्त अरब इमिरेट्स (युएई) तथा सोमबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। 

समूहमा दुई चरणका खेल सकिँदा युएई, ओमान, बहराइन र किर्गिस्तानले एक÷एक जितका साथ समान तीन अंक जोडेका छन् । नेपाल भने दुवै खेलमा पराजित भएका कारण अंकरहित अवस्थामा छ । दुई खेल बाँकी रहँदा तीन अंकको मात्र फरक देखिनुले बलियो गणितीय सम्भावना देखाउन सक्छ । तर युएई र ओमानको फुटबलस्तर नेपालभन्दा धेरै माथि छ । जसका कारण दुई खेलमा पराजित भइसकेको टोलीबाट चमत्कार आशा गर्ने ठाउँ धेरै देखिन्न । गोलअन्तरमा पनि नेपाल सबभन्दा कमजोर छ । नेपालले दुई खेलमा ६ गोल खाइसकेको छ भने विपक्षी पोस्टमा एउटै गोल गर्न सकेको छैन । 
गत महिना भुटानमा सम्पन्न यु–१९ साफ च्याम्पियनसिपमा उपाधि जितेर हौसिएको नेपाली टोलीको किर्गिस्तान यात्रा कठिन मोडमा पुगेको छ । इन्डोनेसियाको टिकट काट्ने लक्ष्य सुरुका दुई नतिजाले टाढा पुर्‍याए पनि अन्तर्राष्ट्रिय एक्सपोजरको कमै मौका पाउने युवा टोलीका लागि बाँकी खेल आफूलाई तिखार्न राम्रो अवसर हुनेछ। 

इन्डोनेसियाको टिकट काट्ने लक्ष्य सुरुका दुई नतिजाले टाढा पुर्‍याए पनि अन्तर्राष्ट्रिय एक्सपोजरको कमै मौका पाउने युवा टोलीका लागि बाँकी खेल आफूलाई तिखार्न राम्रो अवसर हुनेछ। 

प्रकाशित: १८ कार्तिक २०७४ ०७:५६ शनिबार

व्यावहारिक सम्भावना समाप्त