खेल

नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलमा, स्क्वासमा महिला सिंगल्समा विपनाको जित

१९ औं दक्षिण एसियाली खेलकुद

बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले १९औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा आइतबार माल्दिभ्समाथि एक सय ३८ रनको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

पिङफेङस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा नेपालले कमजोर टोली माल्दिभ्समाथि सहज जित निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । अब क्वार्टरफाइनलको ‘ड्र’ सोमबार हुनेछ भने यसका खेल मंगलबार र बुधबार सुरु हुनेछन् । नेपाल क्वार्टरफाइनल खेल जित्दै अघिल्लो चरणको यात्रा तय गर्न चाहन्छ । मंगोलियाविरुद्धको पहिलो खेलमा कीर्तिमानको वर्षा गर्दै फराकिलो जित निकालेको नेपालले माल्दिभ्सविरुद्ध पनि सोही किसिमको नतिजा दोहोर्यायो ।

दुई सय १३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७५ रनमा नै अलआउट भयो । नेपालका अविनाश बोहोराले ६ विकेट लिँदै माल्दिभ्सको इनिङ धराशयी बनाए । सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो । माल्दिभ्सका लागि अब्दुल घानीले सर्वाधिक ३६ रन बनाए । उनले सन्दीपको बलमा छक्कासहित अन्य बलरलाई पनि बाउन्ड्री प्रहार गरे । उनी १६औं ओभरको पहिलो बलमा नै कुशल भुर्तेलद्वारा क्लिन बोल्ड भए ।  

त्यसअघि घानीले ३४ बलमा समान दुई चौका र छक्का हिर्काए । रसम रसिद १२ रनमा नटआउट रहँदा फरिद सिउसले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र माल्दिभ्स इनिङको दुई बलअगाडि नै समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १२ रनको विशाल योगफल खडा ग¥यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ बनाए ।

सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको नेपालले इनिङको अन्त्यसम्म पनि सोही प्रदर्शन जारी राख्यो । कुशल मल्ल २० बल खेल्दै ४७ रनमा नटआउट रहे । उनको इनिङमा समान तीन छक्का र चौका रह्यो । मध्यक्रमका ब्याटर गुल्सनले ३५ रन जोड्दा ओपनर कुशल भुर्तेलले पनि ३५ रन नै बनाए । तेस्रो ओभरको तेस्रो बलमा नै ओपनर आसिफ सेखलाई गुमाए पनि नेपालले आक्रामक ब्याटिङ भने जारी राख्यो । माल्दिभ्सको बलिङमा बाल्देउ स्माइलले तीन विकेट तथा नासिर नेर स्माइल, मिउभान मोहम्मद र थोलल रायनले समान एक विकेट लिए पनि नेपाललाई विशाल योगफलबाट रोक्न सकेनन् ।

नेपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनायो । अब नेपालले क्वार्टरफाइनलमा पाँच टेस्ट टोलीमध्ये भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीका कप्तान रोहित पौडलले आफूहरूले यो पिचमा खेलिसकेकाले त्यसको फाइदा पनि हुने र क्वार्टरफाइनलमा पनि सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् । उनले अविनाश ट्वान्टी–२० क्रिकेटमा राम्रो बलर रहेको र उनको लय फर्कनु सुखद पक्ष रहेको धारणा राखे । माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अविनाशले यो पिचमा ब्याटिङ गर्न त्यति सहज नरहेको उल्लेख गर्दै यहाँबाट पदक लिएर फर्किने विश्वास रहेको बताए ।  

एथलेटिक्स : फूलमती १५औं स्थानमा

नेपालकी फूलमती राना हानझाउमा जारी १९औं एसियाली खेलकुदको १५ सय मिटर दौडमा १५औं स्थानमा खुम्चिएकी छन् ।

हानझाउ ओलम्पिक स्टेडियममा आइतबार भएको १५ सय मिटरको दौड उनले १५औं स्थानमै रहेर पूरा गरिन् । उनले उक्त दूरी पूरा गर्न चार मिनेट ३७.६४ सेकेन्डको समय लगाइन् । यो समय फूलमतीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । यसअघि उनले सन् २०२३ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा चार मिनेट ४९.२२ सेकेन्डको समय निकालेकी थिइन् । आइतबार पूmलमतीले लाओस र पाकिस्तानकी खेलाडीलाई पछि पारिन् ।  

यस विधामा बहराइनकी मुतिल विनफ्रेडले स्वर्ण, भारतकी हरमिलन बेइन्सले रजत र बहराइनकै हिरपातो मार्ताले कांस्य जिते । स्वर्ण विजेता मुतिलले चार मिनेट ११.६५ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । पूmलमतीले अब आठ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।  

स्क्वास :विपनाको जित

नेपालकी विपना ब्लोनले जारी १९औं एसियाली खेलकुदअन्तर्गत स्क्वासमा महिला सिंगल्सतर्फ अन्तिम ३२ को खेलमा जित निकालेकी छन् ।  

हानझाओ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आइतबार भएको खेलमा थाइल्यान्डकी चुजित वारितसरालाई हराएकी हुन् । थाइल्यान्डका प्रतिद्वन्द्वीले चुनौती दिने प्रयास गरे पनि विपना सफल भइन् । उनले चुजितलाई ११–७, ११–७ र ११–८ ले पराजित गरिन् । विपनाले १५ मिनेटमा खेल आफ्नो बनाइन् । महिला सिंगल्सकै अन्तिम ३२ मा नेपालकी कृष्णा थापाले भने खराब प्रदर्शन गरिन् । कृष्णाले दक्षिण कोरियाकी ली जिहुनसँग निरीह प्रदर्शन गरेकी हुन् । पहिलो सेटमा ११–३ को फराकिलो अन्तरले पछि रहेकी कृष्णाले दोस्रो सेटमा खाता नै खोल्न सकिनन् ।

तेस्रो सेट पनि कृष्णाले ११–३ ले नै गुमाइन् । उनले ११ मिनेटभित्र नै विपक्षीलाई खेलको नतिजा सुम्पिइन् । पुरुष सिंगल्समा पनि अरहन्तकेशर सिंहाले मलेसियाका माई बिन बहतियारसँग ११–५, ११–३ र ११–३ को निराशापूर्ण प्रदर्शन गरे । नेपालले मिक्स डबल्समा पनि खराब प्रदर्शन गर्यो । स्वस्थानी श्रेष्ठ र अमिर भ्लोनको जोडीले हङकङका ली का ई र वङ ची हिमको जोडीसँग ११–१ र ११–३ को सहज रूपमा हार बेहोर्यो। पाँच राष्ट्र रहेको समूह ‘सी’ मा नेपालले दोस्रो खेल सोमबार मलेसियासँग खेल्नेछ ।  

आर्चरी : चारै खेलाडी छनोट चरण पार गर्न सफल

आर्चरीको पहिलो दिन आइतबार नेपालका चार खेलाडीले पहिलो चरण पार गरेका छन् । फुयाङ यिन्हु स्पोर्टस सेन्टर फिल्डमा आइतबार नेपालका चारै खेलाडी पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन तथा महिलामा इमायुङ राई र मन्जु बजगाईंले छनोट चरण पार गरेका हुन् । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मञ्जुले ५ सय ६ अंक जोडिन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो । फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीको ७ सय पूर्णाङ्कमा पुरुषतर्फ ५२ वर्षीय योगेन्द्रले ६ सय २२ तथा महिलामा इमायुङले ६ सय ४७ को प्रदर्शन गरे । योगेन्द्र नेपालबाट सहभागी भएका सबैभन्दा पाका खेलाडी हुन् ।

दुई हप्तासम्म सञ्चालन हुने एसियाली खेलकुदमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीको पहिलो हप्ताको प्रतिस्पर्धा पूरा भएको छ ।

पहिलो हप्ताको खेल प्रतिस्पर्धा पूरा हुँदा चीनले पदकतालिकमा फराकिलो अन्तरले अग्रता बनाइरहेको छ भने उसलाई दक्षिण कोरिया र जापानले पछ्याइरहेका छन् । यो रिपोर्ट तयार पार्दासम्म चीनले १३० स्वर्ण पदक जितेको छ । आयोजक राष्ट्रले दक्षिण कोरियाविरुद्ध सय स्वर्णभन्दा बढीले अग्रता बनाएको छ । दक्षिण कोरियाले ३० र जापानले २९ स्वर्ण जितेका छन् । ८० हजार क्षमता रहेको ओलम्पिक स्पोर्टस सेन्टर स्टेडियममा खचाखच दर्शकका बीच चीनले भव्य समारोहको उद्घाटन गरेको एक हप्ता बितिसकेको छ ।

थ्री डी एनिमेसन र भर्चुअल टर्चवाहक यस एसियाली खेलकुदको उद्घाटन समारोहको विशेषता हो । यस पटक चार सय ८१ विधामा प्रतिस्पर्धा हुँदा ओलम्पिकमा भन्दा यहाँ धेरै राष्ट्रले पदक जित्ने सम्भावना पनि छ । यद्यपि, नेपालले भने अहिलेसम्म पदक जित्न सकेको छैन । यस पटक चीनले ‘माइन्ड गेम’ (दिमाखको खेल) भन्दै ब्रिज, चेस र चाइनिज चेसका साथै ई–स्पोटर््स ‘लिग अफ लिजेन्ड’ लगायत खेल प्रदर्शन भइरहेको छ । चीनले करिब ९ सय खेलाडी संख्यामा घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको छ ।  

तीमध्ये चीनलाई स्वर्ण दिलाउने सबैभन्दा कान्छी खेलाडी १३ वर्षीया स्केटबोर्डर हुन् । सुई चेन्छीले महिला स्ट्रिट स्केटबोर्डमा स्वर्ण पदक जितिन् । उनी आगामी वर्ष पेरिस ओलम्पिकमा समेत प्रतिस्पर्धा गर्दै छिन् । एसियाली खेलकुदमा प्रतिस्पर्धा गरिरहेका ९ खेलले ओलम्पिकको छनोट चरणका लागि पनि खेल्नेछन् । आर्चरी, आर्टिस्टिक पौडी, बक्सिङ, ब्रेकिङ, हकी, मोडर्न पेन्टाथलन, सेइलिङ, टेनिस र वाटर पोलोले आगामी ओलम्पिकका लागि यहाँबाट नै छनोट चरण पार गर्नेछन् ।  

प्रकाशित: १५ आश्विन २०८० ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App