खेल

छनोट सम्भावना जीवित राख्ने चाहना

मायामी- विश्वकप छनोटअन्तर्गत शुक्रबार पानामाविरुद्ध उत्रँदा अमेरिका निश्चित जितका साथ विश्वकप सम्भावना जीवित राख्न चाहन्छ । यता पानामा सन् २०१४ को विश्वकप छनोटको अन्तिम खेलमा भोगेको हारको बदला लिँदै पहिलो पटक विश्वकप खेल्ने लक्ष्यमा हुनेछ ।
पानामालाई गत संस्करणको विश्वकपमा छनोट हुने घरेलु मैदानमा सम्पन्न अन्तिम खेलमा जित पर्याप्त थियो । तर २–१ को अग्रता  लिए तापनि अन्ततः अमेरिकालाई ३–२ को नतिजा सुम्पिएपछि पानामाको पहिलो पटक विश्वकप खेल्ने सपना अपूरो बनेको थियो ।
कन्काकाफ छनोटको अन्तिम चरणमा ५ राष्ट्रले प्रतिस्पर्धा  गरिहेका छन् । शीर्ष तीन टोलीले स्वतः विश्वकपमा स्थान सुरक्षित गर्दा चौथो स्थानको टोलीले प्लेअफमार्फत पुनः एक पटक आफ्नो भाग्य परीक्षण गर्ने अवसर पाउनेछन् । यस क्षेत्रको चौथो स्थानमा रहने टोलीले सिरिया र अस्ट्रेलियाबीचको एसियाली प्लेअफ विजेतासँग दुई लेगमा प्रतिस्पर्धा गर्नेछ ।
८ खेलको समाप्तिमा १८ अंक जोडेको मेक्सिको यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । समान खेलमा १५ अंक जोडेको कोस्टारिका दोस्रो र १० अंक जोडेको पानामा तेस्रो स्थानमा छन् । समान ९÷९ अंक जोडेका अमेरिका र होन्डरुस क्रमशः चौथो र पाँचौं स्थानमा छन् । ३ अंक जोडेको ट्रिनिडाड एन्ड टोबागो अन्तिम स्थानमा छ ।
पानामाले शुक्रबारको खेलमा निश्चित जित निकालेमा अमेरिकाको शीर्ष तीनमा रहँदै स्वतः विश्वकपमा स्थान सुरक्षित गर्ने लक्ष्य समाप्त हुनेछ । पानामा भने विश्वकपमा छनोट हुनेछ ।
अमेरिकाका लागि यस खेलमा स्पष्ट तीन अंक जोडे पनि त्यसले विश्वकपमा स्थान पक्का हुने छैन, त्यसका लागि ट्रिनिडाड एन्ड टोबागोविरुद्धको अन्तिम खेलमा पनि निश्चित जित निकाल्नुपर्नेछ ।तर बराबरीमा रोकिएमा त्यसको प्रत्यक्ष फाइदा पानामालाई पुग्नेछ । त्यसैले प्लेअफको सम्भावना जीवित राख्नका लागि समेत अमेरिकासामु जितको विकल्प छैन । छनोट चरणको अर्को खेलमा कोस्टारिकाले होन्डुरसको सामना गर्दै छ । यस खेलमा जित हात पारेमा कोस्टारिकाले विश्वकप टिकट पक्का गर्नेछ । तर नजिता होन्डरुसको पक्षमा गएको खण्डमा अमेरिकाको प्लेअफको सम्भावना समेत कमजोर बन्नेछ । त्यस्तै ट्रिनिडाड एन्ड टोबागोले मेक्सिकोको सामना गर्दै छ ।

प्रकाशित: २० आश्विन २०७४ ०४:२६ शुक्रबार

छनोट सम्भावना जीवित राख्ने चाहना