खेल

नेइमारबिनाको बार्सिलोनालाई सफलता

बार्सिलोना – नेइमारबिनाको यात्रालाई सहज बनाउने क्रममा बार्सिलोनाले सोमबार राति ब्राजिलियन क्लब सापाकोइन्जेमाथि ५–० को नतिजा निकालेको छ । गत वर्ष विमान दुर्घटनामा १९ खेलाडीसहित २४ क्लब अधिकारी गुमाएको सापाकोइन्जे अझै पीडाबाट मुक्त भइसकेको छैन।

एलन रुचेलको कप्तानीमा रहेको भ्रमणकारी टोलीका लागि सोमबारको रात भावनात्मक रह्यो । विमान दुर्घटनाबाट बच्न सफल तीन खेलाडीले यही खेलबाट टोलीमा पुनरागमन गरे।
 
रुचेलले अन्य दुई निइटो र ज्याक्सन फोलम्यानसँगै टोलीमा पुनरागमन जनाए । कोपा सुडामेरिकाअन्तर्गत एट्लेटिको नेसनलविरुद्ध फाइनल खेल्न जाने क्रममा कोलम्बियाको पहाडमा विमान दुर्घटना भयो । उक्त दुर्घटनामा ७१ जनाको मृत्यु भएको थियो।

खेल सकिएपछि क्याम्प नोउमा उपस्थित ६५ हजार दर्शकमाझ सम्मानका लागि बेलाउँदा निइटो र फोलम्यानले आँसु झारेका थिए । दुर्घटनामा दुवैको दायाँ खुट्टामा चोट लागेको थियो।

‘खेलमा फर्कन पाउँदा म खुसी छु,’ स्पेनको सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा रुचेलले भने, ‘संसारका खुसी मानिसमध्ये म एक हुँ, किनकि सोच्नै नसक्ने अवस्थाबाट म बाँच्न सफल भएँ । स्पेन आएर यो रंगशालामा बार्सिलोनाविरुद्ध खेल्न पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु । जुन मैले कहिल्यै सोचेको थिइनँ।’

रुचेलले खेल सकिएपछि मायाको चिनोस्वरूप पाँच पटकका विश्व वर्ष खेलाडी लियोनल मेसीसँग जर्सी साटेका थिए । बार्सिलोनाले विज्ञप्ति जारी गर्दै ‘सापाकोइन्जेलाई संस्थागत रूपमै पुनस्र्थापित गर्ने र दुर्घटनाअघि जस्तै प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने’ बनाउन कोष खडा गर्ने लक्ष्यका साथ खेल आयोजना गरेको बताएको छ। 

मेसीको सामना गर्ने जिम्मेवारी पाएका रुचेलको टोलीले बार्सिलोनालाई कुनै पनि समय दबाबमा राख्न सकेको थिएन । बाज्रिलका फरवार्ड नेइमार कीर्तिमानी रकम २२ करोड २० लाख युरोमा पेरिस सेन्ट जर्मन (पिएसजी) गएपछि क्याटलान क्बलको गत साता उचारचढावपूर्ण बितेको थियो । नेइमारलाई प्रतिस्थापित गर्ने सम्भावित खेलाडीका लागि बार्सिलोनाले आगामी केही साताभित्र ठूलै रकम खर्चिने अनुमान गरिएको छ । क्याटलान क्लब लिभरपुलका फिलिपे कोउटिन्हो र बोरुसिया डर्टमन्डका औसमाने डेम्बेलेसँग जोडिएको खबर बाहिर आएको छ।

तथापि उनको स्थानमा खेलेका गेरार्ड डेउलोफेउले पहिलो हाफमा १ गोल गर्नुका साथै अन्य दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए । एभर्टनका पूर्वविंगर डेउलोफेउले छैटौं मिनेटमा इभान राकेटिचको पासमा गोल गरेका थिए । सर्जियो बुस्केटले ११औं मिनेटमा अग्रता दोब्बर पारे। 

‘यो अद्भुत अनुभव रह्यो । उनीहरू यहाँ खेल्न सक्षम थिए,’ डेउलोफेउले भने, ‘उनीहरू नायक हुन् । उनीहरूको अवस्थाबाट गुज्रिनुपरेको भए म रुन थाल्थें।’

डेउलोफेउकै क्रसमा मेसीले २८औं मिनेटमा गोल गरे । ३०औं मिनेटमा रुचेलले मैदान छाड्दा दर्शकले उभिएर सम्मान व्यक्त गरेका थिए । मेसीको पासमा लुइस स्वारेजले ५५औं मिनेटमा अर्को गोल थपे । डेनिस स्वारेजले ७४औं मिनेटमा पाँचांै गोल गरे । सापाकोइन्जेका गोलकिपर अर्टुर मोरासले पाको एल्कासरको पेनाल्टी प्रहार बचाएका थिए।

रुचेलले खेल सकिएपछि मायाको चिनोस्वरूप पाँच पटकका विश्व वर्ष खेलाडी लियोनल मेसीसँग जर्सी साटेका थिए।

प्रकाशित: २५ श्रावण २०७४ ०४:२८ बुधबार

नेइमारबिनाको बार्सिलोनालाई सफलता