खेल

तीन बर्षदेखि रोकिएको लाखेजात्रा फुटबल यसबर्ष हुने

लाखेजात्रा फुटवलमा दर्शककाे चाप। फाइल तस्बीर।

ताप्लेजुङमा पछिल्ला तीनबर्ष लगातार रोकिएको लाखेजात्रा फुटवल यसबर्ष हुने भएको छ। जिल्लाकै गौरवसंग गाँसिएको खेल सञ्चालन सुरु गर्न सर्वपक्षिय सहमति जुटेपछि तयारीको दुईसाताकै प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको हो। भदौ १४ देखि २० गते सम्म भानुजन मावि अम्बिटारको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने सहमति बनेको लाखेजात्रा फुटलब खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए।

‘जिम्मेवारी प्राप्त भएसंगै प्रतियोगिता सञ्चालनका लागि तयारी तीव्र पारिएको छ’ अध्यक्ष गुरुङले भने। प्रतियोगिता सञ्चालनका लागि तयारी अवधि ज्यादै छोटो भएकोले तीव्र रुपमा काम गर्नुपर्ने दायित्व लाखेजात्रा खेल सञ्चालन समितिसंग रहेको गुरुङले जानकारी दिए। लगातार रोकिएको खेल प्रतियोगिता सञ्चालन गरेर जिल्लाको ‘गौरव’लाई निरन्तरता दिनुपर्ने निश्कर्ष सहित युवाहरुले प्रतियोगिताको निरन्तरताका लागि तीव्र दबाब दिएका थिए।  

२०२९ सालबाट बिभिन्न नाममा सञ्चालन हँुदै आएको प्रतियोगिता पछिल्लो समय लाखेजात्रा खेल सञ्चालन समितिका नामबाट निरन्तर बढ्दै आएको छ। २०७७ र २०७८ सालमा कोरोना संक्रमणका कारण र २०७९ सालमा प्रतियोगिता सञ्चालनस्थल भानुजन माविको खेल मैदान पुर्ननिर्माण सहितका कारणबाट प्रतियोगिता रोकिएको लाखेजात्रा खेल सञ्चालन समितिले जनाएको छ। ‘यसबर्ष खेल सञ्चालन सुरु गर्नैपर्ने जनचाहना अनुसार समिति पुर्नगठित गरी प्रतियोगिताको तयारी अघि बढाएका छौं’लाखेजात्रा खेल सञ्चालन समिति अध्यक्ष गुरुङले भने ।  

लाखेजात्राको अवसरमा बर्षेनि सञ्चालन हुने यो फुटबल प्रतियोगिताका लागि छुट्टै समिति बनाई प्रतियोगिता आयोजना गर्ने गरिएको छ। आयोजक संस्थालाई लाखेजात्रा खेल सञ्चालन समिति भनिएको छ। यो समिति लाखेजात्राको अवसरमा सञ्चालन हुने फुटबल प्रतियोगिता सहितका कार्यक्रमकै लागि भनेर गठन गर्ने गरिएको छ। प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन्। उपबिजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन्। यो रकम यसअघिकै प्रतियोगितामा घोषित रकम हो। ‘यो बर्षका बिजेता र उपबिजेता टिमले पाउने पुरस्कार रकम साविक बर्षभन्दा कम नहुनेगरी गर्ने गरी योजना अघि बढाएका छौं’ खेल सञ्चालन समिति अध्यक्ष गुरुङले भने। प्रतियोगिताका बिभिन्न पक्षबारे जानकारी दिन समितिले आइतवार पत्रकार सम्मेलनमार्फत बिबरण सार्वजनिक गर्ने समेत बताएको छ।  

फोटो ः लाखेजात्राको अवसरमा ताप्लेजुङमा सञ्चालित फुटबल प्रतियोगिता र हेर्ने दर्शकको भीड । यो प्रतियोगिता पहाडी जिल्लाहरुमा सबैभन्दा बढी दर्शक उपस्थित हुने भनेर पनि परिचित रहेको छ । तस्बिर ः फायल फोटो ।  

 

प्रकाशित: २ भाद्र २०८० ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App