खेल

बिच भलिबल टोलीलाई संघको सम्मान

काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली भलिबल टोली सम्मानित भएको छ।

नेपाल भलिबल संघले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बंगलादेशमा सम्पन्न च्याम्पियनसिपमा पदक विजेता महिला र पुरुष टोलीलाई सम्मान गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पदक विजेता महिला टोलीका कोपिला उप्रेती र कमला पुन तथा पुरुष टोलीका दिलबहादुर सुनार र मानबहादुर श्रेष्ठलाई नगदसहित सम्मान गरेको हो। उनीहरूलाई नगद २५ हजार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो। सोही अवसरमा टोलीका प्रशिक्षक भरत शाह र व्यवस्थापक जुनु पुन मगरलाई पनि नगद २५ हजार रूपैयाँसहित सम्मान गरिएको थियो।

सन् २०२२ को डिसेम्बर २८ देखि ३० तारिखसम्म बंगलादेशको कक्स बजारमा सम्पन्न प्रतियोगितामा नेपालका पुरुष र महिला दुवै टोलीले रजत पदक जितेका थिए। च्याम्पियनसिपमा महिलामा पाँच र पुरुषमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। संघका महासचिव रोशनबहादुर श्रेष्ठले विभिन्न प्राविधिक कारणले पदक विजेता खेलाडीलाई पुरस्कार दिन ढिलाइ भएको उल्लेख गर्दै आगामी दिनमा समयमा नै खेलाडी प्रोत्साहनका कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। टोलीकी व्यवस्थापक जुनु पुनमगरले आफूले पाएको पुरस्कार रकम १९औं एसियाडको तयारीमा रहेका खेलाडीका लागि खर्च गर्ने घोषणा गरिन्।

उक्त कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलाडीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सम्मान र पुरस्कार आवश्यक रहेको उल्लेख गर्दै राज्यको तर्फबाट पनि यस्ता कार्यक्रम उचित समयमा हुनुपर्ने बताए। साथै कोइरालाले नेपालको राष्ट्रिय खेल भलिबलबाट आम मानिस र राज्यले नै ठूलो आशा र भरोसा गरेको उल्लेख गर्दै अन्य खेलको तुलनामा नेपालको भलिबलले धेरै पक्षमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।  

‘राज्य र आम समर्थकले नै राष्ट्रिय खेल भलिबलबाट धेरै आशा राखेको छ। सोहीअनुरूप संघले काम गरिरहेको छ भन्ने मैले बुझेको छु,’ कोइरालाले भने, ‘राखेपको तर्फबाट पनि जिम्मेवार हुनुपर्ने काम गर्न हामी प्रतिबद्ध छौं।’ संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले आगामी १९औं एसियाडका लागि नेपालको महिला र पुरुष दुवै टोलीलाई राखेपले समावेश गरेकोमा आभार व्यक्त गरे।  

आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउमा सहरमा हुने १९औं एसियाडमा नेपालका २९ खेलमध्ये नेपाली महिला तथा पुरुष भलिबल टोलीे पनि सहभागी हुनेछन्। सोही एसियाडका लागि नेपाली टोलीले हाल तयारी गरिरहेको छ। 

प्रकाशित: ६ श्रावण २०८० ०३:४४ शनिबार

बिच भलिबल टोलीलाई संघको सम्मान