खेल

बंगलादेश भारतको नयाँ क्रिकेट प्रतिद्वन्द्वी

ढाका- च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा बिहीबार बंगलादेशले भारतको सामना गर्दा यसले एसियामा नयाँ क्रिकेट प्रतिद्वन्द्वीको जन्म गराउनेछ। थोरै मात्र बंगलादेशी समर्थकले मासरफ मोर्टाजाको कप्तानीमा रहेको टोलीले अन्तिम ४ को यात्रा तय गर्ने आशा गरेका थिए। त्यसैले बिहीबार भारतविरुद्ध मैदानमा उत्रँदाको क्षण स्वयम् खेलाडी तथा समर्थकहरूका लागि समेत विशेष तथा आश्चर्यजनक बन्नेछ।

बंगालादेशका सञ्चारमाध्यमले प्रतियोगिताबाट चाँडै घर फर्कनुपर्ने अनुमानका आधारमा कप्तान मोर्टाजाले गत साता नै आफ्नो परिवारलाई स्वदेश फर्काएको र अन्य खेलाडीहरू किनमेलमा व्यस्त रहेको बताएका थिए।

तर साकिब अल हसन र मोहम्मदुल्लाहको उत्कृष्ट ब्याटिङमा समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको नाटकीय जित हात पारेपछि बंगलादेशको सेमिफाइनल प्रवेश सम्भावना जीवित भएको थियो। ३३–४ को स्थितिमा रहेको बंगलादेशी इनिङलाई साकिब र मोहम्मदुल्लाहले २ सय २४ रनको महŒवपूर्ण साझेदारी गर्दै उकासेका थिए।

वर्षाबाट प्रभावित समूह ‘ए’ को अन्तिम खेलमा आयोजक इङल्यान्डले अस्ट्रेलियालाई पराजित गरेपछि बंगलादेश भाग्यमानी ठहरिँदै उपविजेताका रूपमा अन्तिम ४ मा प्रवेश गरेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को कुनै पनि प्रतियोगितामा बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो।

बंगलादेशी कप्तान मोर्टाजाले भारतविरुद्ध बिनादबाब मैदान उत्रँदै आफ्नो उपस्थिति प्रमाणित पार्न चाहेको बताएका छन्।

भारत–पाकिस्तानको खेललाई विश्व क्रिकेटमै सबै भन्दा रोचक र ठूलो भिडन्तका रूपमा लिइन्छ। तर अहिले बंगलादेश विश्व क्रिकेटको एक नयाँ प्रतिद्वन्द्वीको रूपमा उदाएको छ।

‘पछिल्लो तीन वर्षमा हामीले मेहनत गर्दै आफूहरूलाई धेरै सुधारेका छौं,’ मोर्टाजाले भने, ‘यस खाले प्रदर्शनले हामीलाई इङ्ल्यान्डमा सन् २०१९ मा हुने विश्वकपमा अझ राम्रो गर्न हौसला प्रदान गर्छ। यो प्रतियोगितामा हामीले जुन खाले प्रदर्शन गर्‍यौं, यसले हामी अन्तिम ४ मा प्रवेश गर्नका लागि सक्षम छौं भन्ने प्रमाणित गरेको छ। हामीले न्युजिल्यान्डविरुद्ध राम्रो प्रदर्शन गर्नुका साथै इङ्ल्यान्डविरुद्ध पनि ३ सयभन्दा बढी रन जोड्यांै। तर अस्ट्रेलियाले उही मैदानमा उही प्रतिद्वन्द्वीविरुद्ध यस्तो प्रदर्शन गर्न सकेन।’

यता उपाधि रक्षा गर्ने दाउमा रहेको भारत इड्गबास्टनमा उत्रँदा समूह चरणको पहिलो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानविरुद्धको प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा हुनेछ।

समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि १ सय २४ रनको सानदार जित हात पार्दै प्रतियोगितामा सुखद सुरुआत गरेको भारत दोस्रो खेलमा श्रीलंकासँग ७ विकेटले पराजित भए पनि अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।

‘हामी बंगलादेशविरुद्ध जित हात पार्दै च्याम्पियन्स ट्रफीको उपाधि रक्षा गर्ने अभियानमा थप एक कदम अघि बढ्न चाहन्छौं। किनभने अब पछि फर्केर हेर्ने स्थिति छैन। हामी हाम्रो सफलता यात्रालाई विश्राम दिने पक्षमा छैनौं,’ भारतीय कप्तान विराट कोहलीले भने।

प्रकाशित: १ असार २०७४ ०४:४४ बिहीबार

बंगलादेश भारतको क्रिकेट प्रतिद्वन्द्वी