खेल

न्यु डायमन्ड र पश्चिमाञ्चलको विजयी सुरुआत

काठमाडौं– न्यु डायमन्ड एकेडेमी र पश्चिमाञ्चलले केएनपी राष्ट्रिय महिला भलिबलमा विजयी सुरुआत गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा पुरानो नैकापको डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमा २५–१९, २५–१७, २५–१० ले हरायो ।

नेपाल पुलिस क्लब प्रतियोगिताको साबिक उपविजेता टोली हो । गत वर्ष प्रतियोगिताको फाइनलमा पुलिसले एपिएफसँग खेलेको थियो । तर शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको तेस्रो संस्करणमा पुलिसले सुखद सुरुआत गर्न सकेन  र डायमन्डसँग सोझो सेटमा हार स्वीकार ग¥यो । पुलिसका प्रशिक्षक रूपेश विष्टले सेटको मुख्य तीन खेलाडी नहुँदा खेल हार्नुपरेको बताए ।

‘डायमन्डले आज राम्रो खेलेको थिएन । सुरुआती सेटमा अग्रता लिएर पनि हामी पराजित भयौं। सेट टिमको खेलाडी नहुँदा खेलको समन्वय मिल्न सकेन,’ प्रशिक्षक विष्टले भने, ‘मुख्य खेलाडी नहुँदा बलियो टोलीलाई हराउन कठिन हुन्छ । पहिलो खेल जितेर हामी राम्रो सुरुआत गर्ने लक्ष्यमा थियौं ।’

पुलिसकी स्पाइकर कामना विष्टको लिगामेन्टमा समस्या भएका कारण आराम गरिरहेकी छिन् । प्रशिक्षक विष्टका अनुसार चूडा खड्का प्राविधिक कारणले र सेटर सुशीला थापाको औंलामा चोट लागेका कारण नखेलेको बताए । सुशीलाको स्थानमा राष्ट्रिय टोलीकी पूर्वकप्तान नीता शाहले पुलिस टोलीबाट सेटरको भूमिका निर्वाह गरिरहेकी छिन् ।

चूडाको स्थानमा तिला चौधरीले स्पाइकरको रूपमा पहिलो पटक पुलिसको जर्सीमा कोर्टमा उत्रिएकी थिइन्। ओपन स्पाइकर कामनाको स्थानमा मनीषा चौधरीले ओपन स्पाइकरको पोजिसनबाट खेलेकी थिइन् । पुलिसले बुधबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रसँग खेल्नेछ।

केएनपी राष्ट्रिय महिला भलिबल डायमन्डले जित्न नसकेको दोस्रो प्रतियोगिता हो । घरेलु भलिबलमा बलियो टोलीको छवि बनाएको डायमन्डले ढोरपाटन डबल लिग महिला भलिबल र शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबलमा असफल हुँदै आएको छ । गत वर्ष प्रतियोगिताको पहिलो खेलमा डायमन्ड पुलिससँग पराजित भएको थियो । गत वर्ष भोगेको हारको बदला लिए पनि टोलीले सन्तोषजनक खेल खेल्न नसकेको डायमन्डका प्रशिक्षक कुमार राईले बताए ।

‘नतिजा हाम्रो पक्षमा आयो । तर हामीले स्वाभाविक खेल खेल्न सकेनौं । हामीले सोचेजस्तो केही कमजोर पक्षलाई हटाउन सकेनौं,’ प्रशिक्षक राईले भने, ‘नतिजाबाट सन्तुष्ट छु । हामीले उपाधि जित्न आगामी खेलबाट ब्लक र स्पाइकमा मेहनत गर्नुपर्छ ।’

मंगलबार मुख्य ब्लकर सबिता लोको स्थानमा वाल्मीका आचार्यले डायमन्ड टोलीबाट खेलेकी थिइन् । सविताले परीक्षाका कारण प्रतियोगिता खेल्न नसक्ने प्रशिक्षक राईले बताए ।

यसै गरी अर्को खेलमा पश्चिमाञ्चलले विभागीय टोली आर्मीलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । मञ्जु गुरुङको टोली पश्चिमाञ्चलले आर्मीलाई २५–२१, २५–१८, २५–२१ ले हरायो । लिग कम नकआउटको आधारमा भइरहेको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । मंगलबार उपराष्ट्रपति नन्दकिशोर पुन, शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयल, केएनपी गु्रपका कन्ट्री डाइरेक्टर मनोज मिश्रा, आइएमइ रेमिटका सिइओ सुमन पोखरेललगायतले प्रतियोगिताको उद्घाटन गरेका थिए।

‘डायमन्डले आज राम्रो खेलेको थिएन । सुरुआती सेटमा अग्रता लिएर पनि हामी पराजित भयौं। सेट टिमको खेलाडी नहुँदा खेलको समन्वय मिल्न सकेन,’

प्रकाशित: २४ जेष्ठ २०७४ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App