खेल

पुलिसको सेमिफाइनल सम्भावना मजबुत

काठमाडौं- ओपनर सुनील धमलाको अर्धशतकप्रेरित नेपाल पुलिस क्लबले बिहीबार पूर्वाञ्चललाई ९ विकेटले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना मजबुत बनाएको छ।

सुनीलले ४९ बलमा अविजित ५२ रनको स्कोर बनाएपछि पूर्वाञ्चलले दिएको १ सय ५ रनको  लक्ष्य पुलिस क्लबले १७.१ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पूर्वाञ्चलले ३७.१ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रन बनाएको थियो।

समूह ‘बी’ मा लगातार दोस्रो जितपछि नेपाल पुलिस क्लब ४ अंकका साथ शीर्ष स्थानमा छ। खेलेका दुईमध्ये दुवै खेलमा पराजित भएको पूर्वाञ्चल तेस्रो स्थानमा छ। त्रिभुवन आर्मी क्लब २ अंकका साथ दोस्रो स्थानमा छ भने सुदूर पश्चिमाञ्चल अन्तिममा छ। पूर्वाञ्चल उद्घाटन खेलमा आर्मीसँग ९ विकेटले पराजित भएको थियो भने पुलिसले सुदूरपश्चिममाथि ७ विकेटको विजय हासिल गरेको थियो। हारसँगै पूर्वाञ्चल समूहचरणबाट बाहिरिएको छ।

पुलिसको कसिलो बलिङसामु पूर्वाञ्चलका मेहबुबबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। अनुभवी खेलाडीको कमी रहेको पूर्वाञ्चलका लागि मेहबुबले ४७ बलमा ४० रनको योगदान गरेका थिए। १६औं ओभर सकिँदा ५२–५ को स्थितिमा रहेको पूर्वाञ्चललाई मेहबुबले जुगल चौधरीसँग छैटौं विकेटका लागि ४० रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोर्‍याएका थिए।

तर, २६औं ओभरको अन्तिम बलमा मेहबुबले मञ्जित श्रेष्ठको बलमा आरिफ शेखलाई क्याच थमाएपछि पूर्वाञ्चलले लामो इनिङ खेल्न सकेन। २ चौका र ३ छक्का प्रहार गरेका मेहबुब आउट भएपछि पूर्वाञ्चलले थप १२ रन जोड्दा बाँकी सबै विकेट गुमायो। त्यसअघि ओपनर विधान गोस्वामी र अमल दासले पहिलो विकेटका लागि २४ रनको साझेदारी गरेका थिए। अमलले २ चौकासहित १३ रन जोड्दा गोस्वामीले १ छक्का हान्दै ७ रन बनाए।

पुलिसका सिद्धान्त लोहनीले ३.१ ओभरमा ३ रन दिएर ३ विकेट लिए। उनलाई ललित भण्डारी र सुशील कँडेलले समान २/२ विकेट लिएर साथ दिए। सुशीलले पहिलो खेलमा पनि ५ विकेट लिएका थिए। त्यस्तै कुशल भुर्तेल र मञ्जितको नाममा १/१ विकेट रह्यो।

सुनील र विकेटकिपर दिलीप नाथले दोस्रो विकेटका लागि ६० रनको अविजित साझेदारी गरेपछि पुलिसले १ सय ५ रनको लक्ष्य सहजै पूरा गरेको थियो। ३ चौका र ३ छक्का प्रहार गरेका सुनीलले अर्का ओपनर अमित श्रेष्ठसँग पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए। २१ बलमा ७ रन जोडेका अमित विधान गोस्वामीको बलमा आउट भएका थिए। अमितले पहिलो खेलमा ७५ रन बनाएका थिए।

त्यसपछि म्यान अफ दी म्याचसमेत रहेका सुनीलले दिलीप नाथसँग विजयी इनिङ खेलेका थिए। सुनील र दिलीपले दोस्रो विकेटका लागि ५५ बलमा ६० रनको अविजित साझेदारी गरेका थिए। ३३ बलमा ६ चौका हानेका दिलीप ३६ रनमा अविजित रहे।

पुलिसले समूहचरणको अन्तिम खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ भने पूर्वाञ्चलले सुदूर पश्चिमाञ्चलसँग प्रतिर्स्धा गर्नेछ। 

शुक्रबारको खेल

पूर्वाञ्चलविरु्रद्ध सुदूरपश्चिमाञ्चल

प्रकाशित: १२ जेष्ठ २०७४ ०५:०२ शुक्रबार

पुलिसको सेमिफाइनल सम्भावना मजबुत