खेल

वाग्लेलाई ब्राइट फ्युचरको सम्मान

ब्राइट फ्युचर स्कुलले सोमबार मेक्सिकोको मजात्लानमा भएको आइएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा दोहोरो पदक जित्न सफल उज्ज्वल वाग्लेलाई सम्मान गरेको छ।

प्रतियोगिताअन्तर्गत उनले अफिसियल र खुला गरी छुट्टाछुट्टै प्रतिस्पर्धा गरेका थिए। उज्ज्वलले अफिसियलतर्फ स्वर्ण तथा खुलामा रजत जितेका हुन्। जुन १८ देखि २६ तारिखसम्म भएको प्रतियोगितामा उज्ज्वलले यु–१८ उमेरसमूहको ग्यरोगीतर्फ पुरुष ७३ केजीमुनि प्रतिस्पर्धा गरेका थिए। नैकापस्थित ब्राइट फ्युचरमा कक्षा १० मा अध्ययरत उज्ज्वलको यो नै ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, ब्राइट फ्युचरका अध्यक्ष मोहन कार्की र चन्द्रागिरी नगरपालिका वडा–४ का अध्यक्ष घनश्याम लुइटेललगायतले उज्ज्वललाई एक कार्यक्रमबीच टीका र खादा लगाएर सम्मान गरे।

उपाध्यक्ष कोइरालाले उज्ज्वललाई सफलताका लागि बधाई दिँदै ब्राइट फ्युचरले विभिन्न खेलमा प्रतिभावान् खेलाडी उत्पादनमा विशेष योगदान गरेको धारणा व्यक्त गरे। प्रिन्सिपल थापाले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण र रजत पदक जितेर स्कुलको मानसम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा बढाएकोमा उज्ज्वललाई धन्यवादसँगै बधाई दिँदै उज्ज्वलले स्कुलको मात्र नभई मुलुकको गौरवसमेत बढाएको बताए।  

प्रकाशित: १९ असार २०८० ०६:३९ मंगलबार

वाग्लेलाई ब्राइट फ्युचरको सम्मान