खेल

ब्राजिलले खुशी मनाइरहँदा मेसी निरास

ब्राजिललाई विश्वकपमा पुर्‍याएपछि उल्लास मनाउँदै नेइमार

मोन्टेभिडियो– पाँच पटकको विजेता ब्राजिल मंगलबार पाराग्वेमाथि जित हासिल गर्दै अर्को वर्ष रूसमा हुने विश्वकपलाई छानिने पहिलो टिम बन्दा लियोनेल मेसी आश्चर्यजनक रूपमा प्रतिबन्धित भएपछि अर्जेन्टिना भने रोकिएको छ।

साओ पाउलोको एरिना कोरिन्थियन्समा नेइमार, फिलिप कौटिन्हो र मार्सेलोको गोलमा पाराग्वेमाथि ३–० को जित हालिस गर्दै ब्राजिलले रूसको टिकट काटेको थियो। दक्षिण अमेरिकी छनोट प्रतियोगितामा ब्राजिलले हासिल गरेको यो लगातार आठौं जित थियो। जितका बावजुद ब्राजिल छनोटको प्रतीक्षामा थियो। तर पेरूले ढिलो गरी सम्पन्न खेलमा उरुग्वेमाथि २–१ को स्तब्धतापूर्ण जित निकालेपछि ब्राजिल गणितीय रूपमा छनोट भएको थियो।

राजिलले खुसी मनाइरहँदा रूसको बाटो खन्ने अभियानमा अर्जेन्टिना र मेसी अर्को निराशा भोगिरहेका थिए।

ब्राजिलका लागि चाँडै छनोट हुनुको विशेष अर्थ थियो । तीन वर्षअघि आफ्नै भूमिमा सम्पन्न विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७–१ को लज्जाजनक हार भोगेको टोली एक वर्षअघिसम्म छनोटमा पनि संघर्षरत थियो। छनोट चरणका ६ खेल सकिँदा ब्राजिलले ९ अंक मात्र जोड्न सकेको थियो। जसका कारण टोली दक्षिण अमेरिकी छनोटको शीर्ष ६ भन्दा पनि तल झरेको थियो।

अत्यन्तै संघर्षमय क्षणको सामना गर्ने क्रममा ब्राजिल गत वर्ष सम्पन्न कोपा अमेरिका सेन्टेनारियोको पनि पहिलो चरणबाटै बाहिरिएको थियो । लगातारका खराब नतिजापछि पूर्वप्रशिक्षक डुंगालाई बर्खास्त गर्दै कोरिन्थियन्सका पूर्वप्रशिक्षक टिटेलाई नियुक्त गर्नु ब्राजिलका लागि सुखद रह्यो । टोली पछिल्ला आठ खेलमा शतप्रतिशत अंक निकाल्दै चार खेल बाँकी रहँदा शीर्ष स्थानमा ९ अंकको अग्रता लिँदै छनोट भयो।

‘परिवार, खेलाडी र समर्थकलाई हेर्दा उनीहरू खुसी देख्न पायो भने आफूले केही विशेष काम गरेको अनुभव हुन्छ। अहिले मलाई पनि आफू विशेष मानिस भएको अनुभव भइरहेको छ । मैले हेर्दा मेरो परिवार, खेलाडी र समर्थक सबै हाम्रो नतिजाबाट खुसी छन्,’ ब्राजिलले रूसको टिकट पक्का गरिसकेपछि टिटेले भने।

पाउलिन्होसँग वान टु पास खेल्दै कौटिन्होले गोल गरेपछि ब्राजिल पाराग्वेविरुद्धको खेलमा मध्यान्तर हुन ११ मिनेट बाँकी रहँदा अघि लागेको थियो। नेइमारले ५३औं मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पार्ने अवसर पाएका थिए। तर उनको प्रहार विपक्षी गोलकिपर एन्थोनी सिल्भाले जोगाउँदा उनी निराश भए। त्यसको ११ मिनेटपछि नेइमारले नै ब्राजिलको अग्रता दोब्बर पारे। आफ्नै क्षेत्रमा पाएको बललाई बायाँ क्षेत्रबाट दौडाउँदै लगेर नेइमारले गोल गरेका थिए। जहाँ रियाल मड्रिडका रक्षक मार्सेलोले अन्तिम समयमा गोल थप्दै ब्राजिलको तीन अंक पक्का गरे।

ब्राजिलले खुसी मनाइरहँदा रूसको बाटो खन्ने अभियानमा अर्जेन्टिना र मेसी अर्को निराशा भोगिरहेका थिए । ला पाजमा सम्पन्न खेलमा बोलिभियाले दुई पटकको विश्वविजेतामाथि २–० को रबाफ जमायो।

खेलभन्दा केही घण्टाअघि मात्र विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुरिचमा मेसीमाथि अनुशासन मिचेका कारण विश्वकप छनोटका चार खेलका लागि प्रतिबन्धको निर्णय गरेको थियो। गत साता चिलीविरुद्ध सम्पन्न खेल दौरान एक अधिकारीमाथि खराब शब्दले गाली गरेको अभियोगमा बार्सिलोनाका सुपरस्टारलाई फिफाको अनुशासन समितिले यस्तो कारबाही गरेको थियो। छनोट हुने अभियानमा संघर्ष गरिरहेको अर्जेन्टिनाका बाँकी पाँचमध्ये चार खेलमा मेसी प्रतिबन्धित हुनु टोलीका लागि ठूलो निराशाको खबर थियो।

मेसीको प्रतिबन्धका कारण अर्जेन्टिनाका प्रशिक्षक एडगार्डो बाउजा टिम चयन गर्ने क्रममा दबाबमा थिए। उनले म्यानचेस्टर सिटीका सर्जियो अग्विरोलाई बेन्चमा राख्दै एट्लेटिको मड्रिडका एन्जेल कोरियालाई पहिलो रोजाइमा खेलाएका थिए।

समुद्री सतहबाट ३ हजार ६ सय मिटरको उचाइमा रहेको ला पाजस्थित इस्टेडियो हेर्नान्डो साइल्सको पातलो अक्सिजनमा अर्जेन्टिना सुरुदेखि संघर्षरत अवस्थामा रह्यो। तीन अंकका लागि व्यग्रताका साथ प्रतीक्षा गरिरहेको बोलिभियाले खेल सुरु भएदेखि नै विपक्षीलाई नियन्त्रणमा राख्यो।

हुवाँ कार्लोस आर्कले ३१औं मिनेटमा बोलिभियाका लागि पहिलो गोल गरे । पाव्लो इस्कोबारको क्रसलाई उनले गोलमा परिणत गरेका थिए । दोस्रो हाफमा मार्सेलो मार्टिन्सले गोल गरेपछि बोलिभियाको जित पक्का भयो।

बुधबार बिहानका अन्य खेलका नतिजा पनि प्रतिकूल निस्किँदा भोगेको हारपछि अर्जेन्टिना स्वतः छनोट हुने शीर्ष चारभन्दा तल झरेको छ । चिली भने भेनेजुएलामाथि ३–१ को जित हासिल गर्दै चौथो स्थानमा उक्लिएको छ। आर्सनलका स्टार एलेक्सिस सान्चेजले फ्रि–किकमा गोल गर्दै दिलाएको चिलीको अग्रतामा इस्टेबान परेड्सले दुई गेल थपे भने सालोमोन रोन्डोमले भेनेजुएलाका लागि सान्त्वना गोल फर्काए।

उता क्विटोमा रियाल मड्रिडका स्टार हामेस रोडरिग्वेजले एक गोल गर्नुका साथै हुँवा क्वाड्राडोलाई अर्को गोलको अवसर सिर्जना गरेपछि कोलम्बियाले इक्वेडरमाथि २–० को जित निकालेको छ।

प्रकाशित: १७ चैत्र २०७३ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App