खेल

संकटालाई तिलोत्तमा गोल्डकप

बुटवल- त्रिभुवन आर्र्मी क्लबलाई २-१ ले पराजित गर्दै सिएमजी क्लब संकटाले १९औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाइनलमा संकटाका लागि दुवै गोल नीराजन खडकाले गरेका थिए। खेल सुरु भएको ३०औं मिनेटमा राजु गुरुङले गोल गर्दैै आर्र्मीलाई अग्रता दिलाए पनि संकटाका नीराजनले  पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका थिए। उनै नीराजनले खेल सकिन ५ मिनेट बाँकी रहँदा निर्णायक गोल गरी संकटालाई उपाधि दिलाएका थिए।

संकटाले यस वर्ष यो तेस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको हो।  तीनै उपाधि जित्दा संकटाले आर्र्मीलाई नै हराएको थियो। यसअघि चितवनको विकास रनिङ शिल्ड र गत महिना रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पनि संकटाले आर्र्मीलाई हराएको थियो।

तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि आयोजक रूपन्देही—११ का गोलरक्षक दिलीप क्षत्रीले पाएका छन्। क्षत्रीले एक थान स्कुटर पुरस्कार पाएका हुन्।

यसै गरी उत्कृष्ट गोलरक्षक संकटाका विनय श्रेष्ठ भए। संकटाकै नीराजन खड्का उत्कृष्ट मिडफिल्डर छानिए। आर्मीका हिरण्य मगर उत्कृष्ट डिफेन्डर छानिँदा दीप लामाले उच्च गोलकर्ताको उपाधि जिते। सबै विधागत विजेताले नगद  १५ हजार रुपैयाँ पुरस्कार पाए। संकटाका प्रशिक्षक सल्यान खड्गीले उत्कृष्ट प्रशिक्षकको उपाधिसँगै नगद २० हजार रुपैयाँ जिते। रूपन्देही जिल्ला फुटबल संघको आयोजनामा फागुन १२ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका दुई टोलीसहित १० टोलीको सहभागिता थियो।

मोसफलकै प्रतिष्ठित गोल्डकपमध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएको हो। पटकपटक आर्थिक अभाव र अन्य कारणले रोकिएको यो प्रतियोगितालाई पछिल्ला दुई वर्षयता नियमित गर्ने प्रयास गरिएको छ। रूपन्देही जिल्ला फुटबल संघका अध्यक्ष कुमार केसीले प्रतियोगिता नियमित गर्ने र यो क्षेत्रलाई फुटबलको उर्भर भूमिका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए।   

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App