खेल

दिल्ली सेमिफाइनलमा, संकटा क्वाटरफाइनलमा

धनगढी- धनगढीमा जारी खप्तड गोल्डकपमा भारतको दिल्ली युनाइटेड सोमबार पोखराको सहारा फुटबल क्लबलाई ३–२ ले पराजित गर्दै सेमिफाइनल पुगेको छ। धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक क्वार्टरफाइनलको १० औं मिनेटमा दिल्लीका लागि सन्दीपले गोल गरे। १४ आंै मिनेटमा सहाराका उत्तम गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए। ४६ औं मिनेटमा दिल्लीका थोपी र ५० औं मिनेटमा लागोले गोल गर्दै ३—१ ले अग्रता दिलाए। सहाराका लागि ७१ औं मिनेटमा सामसोनले गोल गरे। त्यसपछि सहाराले गोल फर्काउन नसकेपछि नतिजा दिल्लीको पक्षमा गयो। म्यान अफ द म्याच घोषित दिल्लीका थोपेले बाँकी सबै खेल जित्ने आशा व्यक्त गरे। दिल्लीका प्रशिक्षक क्लेवसोन दउर्तेले खेलाडीको तालमेल मिल्दा जित हासिल गर्न सकेको बताए।

सोमबार नै भएको अर्को खेलमा राजधानीको संकटा क्लबले जगदम्बा लुम्बिनीलाई २—१ बाट पराजित गर्दै क्वार्टरफाइनल पुगेको छ।

लुम्बिनीले सुरुआतमा गोल गर्दै लिएको अग्रता जोगाउन नसक्दा हार बेहोर्‍यो। पहिलो हाफको इन्जुरी समयमा लुम्बिनीका रितेश मल्लले गोल गरे। एक गोलको अग्रता लिएको लुम्बिनीले ६४ औं मिनेटमा आत्मघाती गोल खायो। लुम्बिनीका पूर्ण गुरुङले हेड गर्दै बल क्लियर  गर्दा आफ्नै पोस्टमा गोल भयो।

बराबरी भएपछि आक्रामक बनेको संकटाका सुमीत केसीले ७८ औं मिनेटमा गोल गर्दै टोलीलाई क्वार्टरफाइनल पुर्‍याए। आफ्नो टोलीले निकै मेहनत गरि जित हासिल गरेको संकटाका प्रशिक्षक सल्यान खड्गीले बताए।

लुम्बिनीका प्रशिक्षक विकास गुरुङले टोलीका रक्षक घाइते भएकाले र अफसाइड गोललाई मान्यता दिँदा हार्नु परेको बताए।

 

प्रकाशित: २६ पुस २०७३ ०४:१६ मंगलबार

दिल्ली सेमिफाइनलमा संकटा क्वाटरफाइनलमा