खेल

तीन जितसँगै डायमन्ड एकेडेमी शीर्षमा

काठमाडौं- सर्वाधिक राशीको ढोरपाटन डबल लिग महिला भलिबलको दोस्रो संस्करणमा न्यू डायमन्ड एकेडेमीले दुई टिम सहभागी गराएको छ। डायमन्डको सिनियर टोलीको कप्तानी ललिता नाथले सम्हालेकी छन्। जुनियर टोली न्यू डायमन्ड स्पोर्ट्स क्लबको कप्तान झरना श्रेष्ठ हुन्।

प्रतियोगिताको दोस्रो दिन डायमन्डका दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। एकेडेमीका दुई टोली आमनेसामने हुँदा नियमित प्रशिक्षक कुमार राई भने जुनियर टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। डायमन्डकी व्यवस्थापक सुनकेशरी मालीले भने सिनियर टोली प्रशिक्षकको भूमिका निर्वाह गरिन्। राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा आइतबार सिनियर टोलीले आफ्नै विद्यालयको स्पोर्ट्स क्लबलाई २५–९, २५–९ र २५–४ को सोझो सेटमा हरायो।

कुमारले नयाँ खेलाडीलाई अवसर दिन दुई टोली सहभागी गराएको बताए। उनले भने, …हाम्रो सिनियर टोलीबाट खेल्ने निश्चित खेलाडी छन्। नयाँ खेलाडीले खेल्ने अवसर पाइरहेका छैनन्। हामीमाथि बेन्च बलियो नभएको आरोप लाग्ने गरेको छ। आरोप मत्थर पार्न जुनियर खेलाडीलाई अवसर दिएर खेल्न तयार पार्ने लक्ष्य लिएका छौं।'

आइतबार लगातार ३ खेल जित्दै डायमन्ड स्पोर्ट्स एकेडेमी प्रतियोगिताको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। एकेडेमीले ९ अंक जोडेको छ। साबिक विजेता एपिएफ २ खेल जित्दै ६ अंकसहित दोस्रो स्थानमा छ।

पहिलो खेलमा एकेडेमीले नेपाल पुलिस क्लबलाई २५–१४, २५–१६, १३–२५ र २५–१३ ले पराजित गर्‍यो।

एकेडेमीका प्रशिक्षक कुमारले पुलिसलाई सोझो सेटमा हराउने लक्ष्य पूरा नभएको बताए। उनले भने, …पुलिसलाई सोझो सेटमा हराउने हाम्रो लक्ष्य थियो। डिफेन्स कमजोर हुँदा योजना असफल भए पनि जितबाट खुसी छौं।'

आइतबारको अर्को खेलमा एपिएफले विजेश्वरी ज्ञान मन्दिरलाई २५–६, २५–१२ र २५–९  ले पराजित गर्‍यो।

अर्को विभागीय टोली आर्मीले पहिलो जित हासिल गर्ने क्रममा  विजेश्वरी ज्ञान मन्दिरलाई सोझो सेटमा ३–२ ले हरायो।

अन्य खेलमा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले चण्डेश्वरी क्लबलाई पराजित गर्न पाँच सेट संघर्ष गर्नु पर्‍यो। प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा ढोरपाटनले २५–१८, २५–१९, १९–२५, २१–२५ र १५–८ ले खेल जित्यौ।

प्रकाशित: २५ पुस २०७३ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App