खेल

अल्ट्रा म्याराथनकी विश्वविजेता राईलाई २८ लाखसहित सम्मान

झापा– अल्ट्रा म्याराथनकी विश्वविजेता नेपाली खेलाडी मिरा राई बिहीबार झापाको दमकमा नगद २८ लाख रुपैयाँसहित सम्मानित भएकी छन् । ठूलो राशीको सम्मानले आफूलाई थप उत्साह भरेको उनले बताएकी छन्।

सगरमाथा डोजाङ बेलायतको अगुवाईमा मिरालाई २८ लाख नगदसहित सम्मान गरिएको हो । बेलायतस्थित सो डोजाङका प्रमुख तथा प्रशिक्षक राष्ट्र राईको अगुवाईमा केही  महिनामा बेलायतका किरात राई यायोक्खा, किरात युथ अर्गनाइजेसन, जोन मार्सल आर्ट एकेडेमी र भोजपुर समाजको सहभागितामा मिरा राईको सहयोगार्थ ३०लाख रुपँैया संकलन भएको थियो ।    राईलाई  २८लाख र उनका कराते प्रशिक्षक ध्रुबविक्रम मल्ललाई दुई लाख नगदसाथ सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टसहित खेलकुदका अगुवाले उनीहरुलाई सम्मान पत्र र नगद प्रदान गरेका थिए ।

भोजपुर जिल्लाको सानोदुम्मा ९ कि बासिन्दा २६ वर्षीया मिरा  माओवादीकी पूर्व लडाकु हुन् । प्रमाणिकरणका बेला अनमिनले उनलाई ‘अयोग्य’ घोषित गरेको थियो । त्यसपछि उनी वैदेशिक रोजगारीका लागि मलेशिया जाने तयारीमा थिइन् । सन् २०१४ मा प्रशिक्षक मल्लले नै उनलाई रोकेर खेलमा लाग्न प्रेरित गरेका थिए ।सन् २०१६ मा स्पेनमा भएको प्रतियोगितामा अल्ट्रा म्याराथनमा विश्वविजेता बन्दै मिराले प्रशिक्षकको विश्वास र आफ्नो क्षमता प्रमाणित गरेकी थिइन् ।
 

प्रकाशित: २१ पुस २०७३ १३:३० बिहीबार

अल्ट्रा म्याराथनकी विश्वविजेता राईलाई २८ लाखसहित सम्मान