खेल

पोखरामा आगामि शनिबार ५५ किमीको ट्रेल रेस

कोभिडले रोकिएको तीनवर्षपछि पोखरामा गोरेटो दौडको छैटौं संस्करण ‘पन्चासे ट्रेल रेस’ आगामि शनिबार शुरु हुदैंछ। ५५ किलोमिटर दूरीको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट शुरु भई पन्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन हुनेछ। ५५ किलोमिटरको गोरेटो दौडसँगै ७ किलोमिटरको ‘फन रेस’ समेत आयोजना हुने छ।  

‘पन्चासे ट्रेल रेस’मा ६० जना धावकले प्रतिस्पर्धा गर्नेछन्। ७ किलोमिटरको फन रेसमा ३१ जनाको सहभागिता रहने आयोजक पोखरा ट्रेल रेस सिरिजका संस्थापक विकास गुरुङले जानकारी दिए। ‘५५ किलोमिटरमा ६० जना महिला तथा पुरुष धावकका दर्ता भईसकेको छ,’ उनले भने, ‘अनलाईन दर्ता म्याद सकियो अब ‘फिजिकल’ उपस्थितिमा दर्ता गर्न सकिन्छ।’  

५५ किलोमिटरको दौड कोमागाने पार्कबाट शुरु हुनेछ। ड्यामसाईड–रानीबन–पुम्दीकोट–भुम्दी–भन्ज्याङ–पन्चासे पुगेर भदौरे–धारापानी–ढिकुरपोखरी–नागडाडाँ–कास्कीकोट–सराङकोट हुदैं खपौदीमा पुगेर दौड समापन रुट तय गरिएको उनले बताए। संस्थापक अध्यक्ष गुरुङले दौड पुरा गर्ने धावकलाई ‘फिनिसर पदक’ उपलब्ध गराईने स्पष्ट पारे।  

पोखरा ट्रेल रेस सिरिजले दौडको लागि पाँचवटा ठाँउमा चेक प्वाईन्ट राख्ने जनाएको छ। पहिलो चेकप्वाइन्ट पुम्दीकोटमा दोस्रो भुम्दीमा तेस्रो भन्ज्याङ, चौथो भदौरे र पाँचौ चेक प्वाईन्ट कास्कीको नागडाँडामा राखिने उनले जानकारी दिए। गोरेटो दौड कोरोनापछिको पहिलो हो हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्ने काम ‘पोखरा टे«ल रेस सिरिज’ नामक संस्थाले गर्दै आएको छ।  

पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन्। ती गोरेटो केही प्रचलनमा छन्। केही प्रचलनमै छैनन्। प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियानलाई संस्थाले सहयोगी भूमिका खेल्दै आएको छ। प्रवद्र्धन गर्नु नै संस्थाको मुल उद्देश्य हो। उद्देश्य अनुसार नै संस्थाले सिरिजलाई फरक फरक उकाली ओराली गोरेटोमा दौडाउँदै आएको छ। संस्थाले दौडाउने सिरिजमा स्वदेशी तथा विदेशी धावकहरु समेत सहभागिता जनाउँदै आएका छन्। ‘नेपाली मौलिक एवं ग्रामीण गोरेटो(टे«ल)लाई पर्यटनसँग जोड्ने अभियान अन्तर्गत ट्रेल रेस गर्दै आएका हौं।’ संस्थापक अध्यक्ष गुरुङको भनाई थियो।  

५५ किलोमिटर दौड महिला तथा पुरुष विजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने छन्। उपविजेताले समान १५ हजार र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।  

प्रकाशित: १४ चैत्र २०७९ १०:०१ मंगलबार

५५ किमीको ट्रेल रेस पोखरा