खेल

भारत महिला एसिया कप च्याम्पियन

काठमाडौं- मिथाली राजले पुनः एक पटक उत्कृष्ट ब्याटिङ गरेपछि पाकिस्तानलाई १७ रनले हराउँदै भारत एसिसी महिला ट्वान्टी–२० एसिया कप क्रिकेटमा च्याम्पियन बनेको छ। प्लेयर अफ द म्याच मिथालीले अविजित ७३ रन बनाएपछि भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २१ रनको स्कोर खडा गरेको थियो। जुन प्रतियोगितामा एउटा खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो। ओपनर मिथालीले ६५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै पाकिस्तानी बलरलाई अन्तिम सम्म तनावमा राखेकी थिइन। प्रतियोगितामा सर्वाधिक व्यक्तिगत स्कोर बनाएकी मिथाली वुमन अफ सिरिजबाट पुरस्कृत भइन।

भारतले प्रतियोगिताको पहिलो खेलमा बंगलादेशलाई ६४ रनले हराउँदा मिथालीले अविजित ४९ रन बनाएकी थिइन्। त्यस्तै मिथालीले समुह चरणमा पाकिस्तानलाई ५ विकेटले हराउँदा ३६ तथा श्रीलंकाविरुद्ध ५२ रनको जित हासिल गर्दा ६२ रन बनाएकी थिइन। 

आइतबार भारतीय टोलीबाट दुई खेलाडीले मात्र दोहोरो स्कोर बनाउन सकेका थिए। मिथाली पछि जुलान गोस्वामीले १७ रन बनाइन। पाकिस्तानकी अनाम अमिनले २ विकेट लिइन।

जवाफमा पाकिस्तानले निर्धारित २० ओभर पूरा खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४ रनमात्र बनाउन सक्यो। पाकिस्तानकी कप्तान विस्माह महरुफले सर्वाधिक २५ र ओपनर जाभिरिया खानले २२ रन बनाए। भारतकी इक्ता विष्टले २ विकेट लिइन।

एसियाली स्तरको महिला क्रिकेटमा भारतले लगातार उपाधिमाथी कव्जा जमाइरहेको छ। एसियाली महिला टोलीबीचको क्रिकेट सन् २००४ मा श्रीलंकाबाट सुरु भएको थियो। प्रतियोगिताको पाँच संस्करण सकिँदा पाँचै पटक भारतले उपाधि जितेको छ।

५० ओभरको एकदिवसीय स्वरुपमा सुरु भएको प्रतियोगिता २०१२ देखि ट्वान्टी–२० का रुपमा परिवर्तन भएको थियो। २०१२ मा चीनमा सम्पन्न ग्वान्झाउ एसियाली खेलकुददेखि खेल २० ओभरमा झारिएको थियो।

थाइल्यान्डमा आइतबार सम्पन्न प्रतियोगितामा नेपालले भने सबै पाँच खेलमा पराजय भोगेको थियो। टेस्ट खेल्ने देशहरु भारत, पाकिस्तान श्रीलंका र बंगलादेशका साथै आयोजक थाइल्यान्ड र नेपाल प्रतियोगितामा सहभागि थिए। राउन्ड रोबिन लिग पद्दतिमा सबैले एक–अर्कासँग खेलेपछि शीर्ष दुई टोली आइतबारको फाइनललाई छानिएका थिए।

प्रकाशित: २० मंसिर २०७३ ०३:४० सोमबार

भारत महिला एसिया कप च्याम्पियन