खेल

उसु महासंघको अध्यक्षमा बर्तौला

नेपाल उसु महासंघको अध्यक्षमा पूर्वखेलाडी जनकप्रसाद बर्तौला निर्विरोध चयन भएका छन्।

शनिबार राति सम्पन्न उसु महासंघको साधारणसभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्वारोध चयन गर्‍यो। क्योकुसिन करातेका पूर्वखेलाडीसमेत रहेका बर्तौला राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य र अखिल नेपाल खेलकुद महासंघका सहअध्यक्ष हुन्।

उक्त साधारणसभाले वरिष्ठ उपाध्यक्षमा शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामालाई सर्वसम्मत चयन गरेको हो। वरिष्ठ उपाध्यक्ष कमाचार्य राखेपका पूर्वकोषाध्यक्षसमेत हुन्। महासचिवमा नवराज ढुंगाना, उपमहासचिवमा राजीव महर्जन, सचिवमा नवीन बस्नेत तथा कोषाध्यक्षमा शंकर भुजेल निर्विरोध चुनिए।

शुभराम मुनङ्गकर्मी, लव ढुंगाना, नवीन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारिन्जत, अञ्जली थापा, तीलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल सदस्यमा चयन भए।

राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासंघ तदर्थ समिति गठन गरेको थियो। नवनिर्वाचित पदाधिकारीलाई राखेपको खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए।

नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले पदाधिकारीलाई खादा लगाई बधाई दिएका थिए। त्यसअघि राखेप उपाध्यक्ष शिव कोइरालाले लाजिम्पाटमा आयोजित एक कार्यक्रमबीच साधारणसभाको उद्घाटन गरेका थिए। साधारण सभामा केन्द्र, चार प्रदेश र विभिन्न ३० जिल्लाका ६९ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन समितिको कार्यालयले जनाएको छ।

प्रकाशित: ६ चैत्र २०७९ ०२:५२ सोमबार

नेपाल उसु महासंघ अध्यक्षमा पूर्वखेलाडी जनकप्रसाद बर्तौला