लन्डन- लिभरपुल तथा इङ्ल्यान्डका कप्तान स्टेभन जेरार्डले बिहीबार ३६ वर्षको उमेरमा उदाहरणीय बनेको व्यावसायिक फुटबल करिअरबाट बिदा लिने निर्णय गरेका छन्। आफ्नै गृहनगरको क्लब लिभरपुलबाट १७ वर्ष खेल्ने क्रममा उनी १२ वर्ष टोलीका कप्तान थिए। त्यसक्रममा २००५ को चर्चित च्याम्पियन्स लिगसहित उनले लिभरपुलबाट सात मुख्य उपाधि जिते। गत वर्ष लिभरपुलबाट अमेरिकी मेजर लिग सकरको टोली लस एन्जल्स ग्यालेक्सी पुगेका जेरार्डले त्यहींबाट व्यावसायिक फुटबलमा पूर्णविराम लगाउने निर्णय लिए।
'पछिल्लो समय सञ्चारमाध्यममा मेरो करिअर र भविष्यका विषयमा विभिन्न समाचारहरू आउन थाले। यो अवस्थामा म व्यावसायिक फुटबलमा खेलाडीका रूपमा बिदा हुने निर्णयमा पुगेको जानकारी गराउन चाहन्छु,' जेरार्डले विज्ञप्तिमार्फत भनेका छन्, 'खेलाडीका रूपमा मेरो करिअर अत्यन्तै सफल र लोभलाग्दो रह्यो। त्यसका लागि म हरेक क्षणमा साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु। मैले इङ्ल्यान्ड, लिभरपुल र एलए ग्यालेक्सीको टोलीमा रहँदाका हरेक क्षणको मजा लिएँ।'
व्यावसायिक फुटबलमा अत्यन्तै सफल खेलाडी भए पनि जेरार्डले इङलिस प्रिमियर लिगको उपाधि कहिल्यै जित्न सकेनन्। तथापि उनले लिभरपुलबाट एकपटक युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग जित्नाका साथै दुईपटक एफए कप, तीनपटक लिग कप, युइएफए कप र युइएफए सुपर कप तथा कम्युनिटी सिल्डको उपाधि जितेका थिए।
लिभरपुल खेलाडीका रूपमा जेरार्डको सबैभन्दा सम्झनलायक क्षण २००५ को मे महिनामा इस्तानबुलको थियो। जहाँ च्याम्पियन्स लिग फाइनलको पहिलो हाफसम्म एसी मिलानसँग ३–० ले पछि परेको लिभरपुलले जेरार्डकै प्रेरणामा पाँचौंपटक युरोपियन कपको उपाधि जितेको थियो।
समग्रमा उनले लिभरपुलका लागि ७ सय १० खेल खेले। जुन इयान कालाघान र पूर्व टिम सहयात्री जेमी कारेघरको भन्दा मात्र कम हो। त्यसबीचमा उनले एनफिल्डको टोलीका लागि १ सय ८६ गोल गरे।
इङ्ल्यान्ड राष्ट्रिय टोलीका लागि १ सय १४ खेल खेल्दा उनले २१ अन्तर्राष्ट्रिय गोल गरे। इङ्ल्यान्डका लागि सर्वाधिक खेल खेल्नेको सूचीमा उनी पिटर सिल्टन्, वायन रुनी र डेविड बेकह्यामभन्दा मात्र पछि छन्। छपटक मुख्य अन्तर्राष्ट्रिय प्रतियोगितामा इङ्ल्यान्ड टोलीको हिस्सा बनेका जेरार्ड २०१० को विश्वकप, २०१२ को युरोपियन च्याम्पियनसिप र २०१४ को विश्वकपमा टोलीका कप्तान थिए।
'करिअरमा थुप्रै सकारात्मक उतारचढाव अनुभव गर्न पाउनु मेरा लागि स्मरणीय रह्यो,' जेरार्डले भने, 'लिभरपुलका लागि ७ सयभन्दा बढी खेल खेल्न पाउनुमा मलाई गर्व छ। त्यसमध्ये धेरैजसो खेलमा मैले कप्तानका रूपमा एउटा महान् टोलीलाई नेतृत्व गर्ने मौका पाएँ। इस्तानबुलको त्यो चर्चित रातसँगै क्लबलाई सफलता दिलाएका अरु थुप्रै क्षण मेरा लागि जीवनभर मिठो स्मरणका रूपमा कैद छन्। यसका लागि मैले आफूलाई भाग्यशाली ठानेको छु।'
'अन्तर्राष्ट्रिय स्तरमा इङ्ल्यान्डका लागि १ सय १४ खेल खेल्न सक्नु मेरा लागि ठूलो उपलब्धिको विषय हो। अझ आफ्नो देशको टोलीलाई कप्तानी नेतृत्व दिन पाउनु झनै गौरवपूर्ण काम हो,' जेरार्डले थपे, 'इङ्ल्यान्डको जर्सी लगाएका हरेक क्षण मेरा लागि गौरवमय स्मरण हुनेछन्। यस्तो भाग्य थोरै खेलाडीले पाउँछन्, जुन मैले पाएँ।'
पछिल्लो केही समययता जेरार्डले खेलाडीका रूपमा करिअर टुंग्याउने चर्चा थियो। सँगै उनले प्रशिक्षण टोलीमा रहेर लिभरपुल, सेल्टिक वा न्युक्यासल युनाइटेडमध्ये एकमा काम गर्ने पनि चर्चा थियो। लिभरपुल जेरार्डले सबैभन्दा बढी खेलेको र उनको सबैभन्दा प्रिय क्लब हो भने सेल्टिकमा लिभरपुलमा सँगै काम गरेका पूर्व प्रशिक्षक ब्रेन्डन रोजर्स तथा न्युक्यासलमा लिभरपुलका अर्का पूर्व प्रशिक्षक राफेल बेनिटेज कार्यरत छन्।
जेरार्डले इङ्लिस फुटबल पिरामिडको तेस्रो डिभिजनमा रहेको मिल्टन केन्स डन्सबाट मुख्य प्रशिक्षकमा काम गर्ने प्रस्ताव अस्वीकार गरेको बताइएको छ। समाचारमा जनाइएअनुसार संन्यासपछि नयाँ काम थालनी गर्नु भन्दा पहिला केही समय बिदा मनाएर सोच्ने भन्दै जेरार्डले केन्स डन्सको प्रस्ताव अस्वीकार गरेका थिए।
'म आफ्नो आगामी करिअरबारे निकै उत्साही छु। मलाई अझै नयाँ भूमिकामा भए पनि फुटबलमा धेरै गर्न सक्छु भन्ने विश्वास छ,' उनले भने, 'तत्काल म केही समय आराममा रहनेछु। खेलाडीका रूपमा बुट थन्क्याएपछि मसँग नयाँ करिअरका लागि थुप्रै विकल्प छन्। तीमध्ये के गर्ने भन्ने विषयमा सोचेर म चाँडै नयाँ करिअर सुरु गर्नेछु।'
प्रकाशित: १० मंसिर २०७३ ०६:१६ शुक्रबार