खेल

प्रतिभाको अर्को उत्कृष्ट प्रदर्शन

काठमाडौं- प्रतिभा मालीले फेरी एक पटक प्रभावशाली प्रदर्शन गरेपछि माल्दिभ्समा जारी माल्दिभ्स क्लब लिग च्याम्पियनसिपमा मिस्किमागु इमेन जी ग्लुहन क्लबले तेस्रो जित हात पारेको छ। बुधबार मिस्किमागु इमेनले फैसदा क्लबलाई २५–२३, २६–२४, २५–२२ ले हराउँदा नेपाली राष्ट्रिय टोलीकी मुख्य स्पाइकर प्रतिभाले क्विन अफ द म्याचको पुरस्कार जितिन्।

लिगमा पाँच क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। मिस्किमागुले खेलेका चार मध्ये एउटा खेलमा मात्र हार सामना गरेको छ। माल्दिभ्स पुलिसविरुद्धको खेलमा टोली पराजित भएको थियो। प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई विदेशी खेलाडी राख्न पाउँछन्। त्यही प्रावधानअनुसार दुई क्लबबाट दुई/दुई नेपाली खेलाडी सहभागि छन्।

मिस्किमागु क्लबबाट प्रतिभासँगै राष्ट्रिय टोलीकी कोपिला उप्रेतीले खेलिरहेकी छिन् भने फैसदा क्लबमा नेपाली राष्ट्रिय टोलीका स्पाइकरद्धय अरुणा शाही र मञ्जु गुरुङ छन्।

माल्दिभ्स क्लब लिगमा पहिलो पल्ट सहभागी भएकी १४ वर्षे प्रतिभा सर्वाधिक क्विन अफ द म्याच पुरस्कार जित्ने खेलाडी हुन्। मिस्किमागुले जितेका सबै तीन खेलमा प्रतिभा उत्कृष्ट खेलाडी भएकी छिन्।

माल्दिभ्सका क्लबहरुले हरेक वर्ष विदेशी खेलाडी अनुबन्धित गरेर प्रतिस्पर्धा गर्न थालेपछि लिग च्याम्पियनसिप स्थानीय स्तरमा लोकप्रिय बन्दै गएको छ। प्रतियोगितामा सहभागी क्लबले अमेरिका, नेपाल र सर्वियाबाट खेलाडी झिकाएका छन्।

प्र्रतिभा र कोपिलाको मिस्किमागु क्लबले नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक हामिद मोभाहिदको प्रशिक्षणमा प्रतियोगिता खेलिरहेको छ। इरानी प्रशिक्षक हामिद १२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले कांस्य पदक जित्दाका प्रशिक्षक हुन्।

प्रकाशित: २ मंसिर २०७३ ०४:२३ बिहीबार

प्रतिभाको उत्कृष्ट प्रदर्शन