खेल

चौथो अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता सुरु

अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको चौथो संस्करण मंगलबारदेखी सुरु भएको छ। अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता फागुन ३० गतेसम्म हुनेछ।

रोयल खाँचीकोट भगवती, ईलेभेन ब्रदर्स डिभर्ना, पुष्प वारियर्स र रोयल सन्धिखर्क गरी चार टिमको सहभागीता रहेको प्रतियोगितामा पहिलो खेल रोयल खाँचिकोटले जितेको छ। मंगलबार भएको पहिलो खेलमा ईलेभेन ब्रदर्स डिभर्नालाई १६ रनले हराउँदै खाँचीकोटले प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै उपविजेता टोलीले नगद ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेष भट्टराईले जानकारी दिए।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, प्रतियोगिता अवधीभरमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ। यस्तै दर्शक दिर्घामा बल समात्ने (क्याच गर्ने) लाई समेत पुरस्कृत गरिने भएको हो।

एपिएलका तिन वटा संस्करण टेनिस बलले खेलाईएको थियो भने यसपाली ‘सिम बल’ ले खेलाईएको छ। प्रादेशिक क्रिकेट संघले सिफारिश गरेका अनुभवी अम्पायरहरु समेत ल्याइएको संघका अध्यक्ष भट्टराईले बताए।

प्रतियोगिता समापन हुँदासम्म करिब १५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ। टिम दर्ता शुल्क २० हजार रुपैंया लाग्ने र देशविदेशमा रहेका खेलप्रेमीहरुको आर्थिक सहयोगमा प्रतियोगिता गर्दै आएको अर्घाखाँची क्रिकेट संघले जनाएको छ।

एपिएलको पहिलो संस्करणको उपाधी सुपर सुपा ईलेभेन र दोश्रो संस्करण रोयल सन्धिखर्कले जितेको थियो। त्यस्तै तेस्रो संस्करण नमस्ते अर्घाखाँचीलाई २६ रनले हराउँदै एम्स स्टारले उपाधी जितेको थियो।

प्रकाशित: २३ फाल्गुन २०७९ १३:५४ मंगलबार

क्रिकेट