खेल

मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट फागुन २६ बाट

पाकिस्तानी दूतावासको आयोजनामा फागुन २६ गतेबाट आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिता २०२३ हुने भएको छ।

पाकिस्तानी दूतावासमा सोमबार सम्पन्न एक कार्यक्रमका बीच प्रतियोगिताको मिति र खेलतालिका सार्वजनिक गरिएको हो। दूतावासले युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रत्येक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामा १२ क्लबको सहभागिता रहनेछ।  

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले दूतावासको यो प्रतियोगिता नेपाली युवा खेलाडीलाई थप अनुभव बटुल्ने अवसर हुने बताए। पाकिस्तानी दूतावासका चार्ज डी अपेयर (एआइ) उमर अलीले नेपाली युवा खेलाडीमाझ प्रतियोगिताले क्रमिक रूपमा चर्चा बटुल्दै गएको बताए।

प्रतियोगितामा सहभागी १२ टोलीलाई चार पोलमा विभाजन गरिएको छ। जसमा प्रत्येक पोलमा ३ टोली रहनेछन्।

पोल ‘ए’ मा पाकिस्तानी दूतावास, एचके क्रिकेट क्लब, लायन क्रिकेट क्लब, पोल ‘बी’ मा स्टार क्रिकेट क्लब, बल पार्क एकेडेमी र बलुवाटार क्रिकेट एकेडेमी छन्। त्यस्तै पोल ‘सी’ मा आरएस विद्यापीठ एकेडेमी, इन्स्टिच्युट अफ इन्जिनियरिङ, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर तथा पोल ‘डी’ मा वाइवाई जिसिएचए, प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर र नेक्सस क्रिकेट एकेडेमी छन्।

लिग चरणको समाप्तिपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। पाकिस्तानी दूतावास र एचके क्रिकेट क्लबबीच उद्घाटन खेलमा प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ९ फाल्गुन २०७९ ००:५४ मंगलबार

ट्वान्टी–२० क्रिकेट प्रतियोगिता