खेल

घलेले उम्मेदवारी नदिने

काठमाडौं- लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबका संस्थापक अध्यक्ष टासी घलेले एन्फाअध्यक्ष पदमा उम्मेदवारी नदिने भएका छन्। उम्मेदवारी दर्ता गर्ने समय आइतबारसम्म भए पनिघलेले शुक्रबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी नदिने बताएका छन्। उनी करिब एक महिनाअघि उम्मेदवारी घोषणा गरेर चुनावी अभियानका लागि देश दौडाहामा निस्केका थिए।

घलेले एन्फाको निर्वाचन निर्देशिका र चुनावी प्रक्रियाप्रतिअसन्तुष्टि जनाउँदैउम्मेदवारी नदिने निर्णयमा आफू पुगेको बताए।

तर फुटबलमा भएका कमीकमजोरीविरुद्ध निरन्तर आवाज उठाइरहने घलेले बताए। उनले भने, 'अहिलेको एन्फा निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषदले सकारात्मक रूपमा लिएको देखिनँ। एन्फा विधानमै समस्या छ। उम्मेदवारी नदिएपनि एन्फाको साधारणसभामा विधान संशोधन र आर्थिक नियमावलीको पक्षमा आवाज उठाउँछु।'

'एन्फामा थुप्रै कमजोरी छन्। फिफालाई पठाएको विधान नै हामीले पाउन सकेका छैनौं। राखेपसँग पुरानो विधान छ। एन्फामा तीनवटा विधान छ। कुन विधानबाट फुटबल चल्छ भन्ने स्पष्ट छैन,' घलेले भने, 'एएफसीलाई पठाएको विधानमा महासचिव (धिरेन्द्र प्रधान) ले हस्ताक्षर गरेको छ तर त्यो विधानअनुसार काम भएको छैन। मैले अहिले चुनाव जितेर पनि केही गर्न सक्दिनँ। विधानमै नभएको पदमा उठेर के गर्ने?'

उम्मेदवारी फिर्ता लिए पनि एक वर्षपछि 'स्ट्राइकर' भएर आउने घलेले बताए। ठट्यौली शैलीमा घलेले भने, 'अहिले पछि हटेपनि अभ्यास गरेर राम्रो स्ट्राइकर भएर निस्कनेछु। देशभरका एकेडेमीसँग फुटबल विकासका  लागि मनाङले सहकार्यगर्नेछ।'

एन्फामा विद्रोही समूहको नेतृत्व गरेका उपाध्यक्षकर्माछिरिङ शेर्पा र अन्य जिम्मेवार व्यक्तिले विधान र आर्थिक पारदर्शिताबारे कुरा उठाएपनि समाधान गर्न नसकेको घलेको आरोप थियो। उनले भने, 'जिम्मेवार पदमा भएका व्यक्तिले एन्फामा पारदर्शिता ल्याउने प्रतिबद्धता गरेका थिए तर कसैले त्यो पूरा गर्न सकेनन्।'

उनले आफ्नो चुनावी अभियानमा साथ तथा समर्थन दिने ए, बी, सी डिभिजन क्लब, जिल्ला संघ र राष्ट्रिय खेलाडीलाई धन्यवाद दिएका थिए।

प्रकाशित: ८ आश्विन २०७३ ०३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App