खेल

पाकिस्तानविरुद्ध इङल्यान्ड लगातार सफल

लन्डन- जोय रुट र कप्तान इयान मोर्गानले अर्धशतक बनाएपछि इङ्ल्यान्डले दोस्रो एक दिवसीय क्रिकेटमा शनिबार पाकिस्तानलाई ४ विकेटले हराएको छ। जितसँगै इङ्ल्यान्डले पाँच एक दिवसीय श्रृखंलामा २–० को अग्रता लिएको छ।  

पाकिस्तानको इनिङमा आफ्नै टोलीका अदिल रसिदसँग ठोक्किएर चोट लाग्नाका वावजुद रुटले सानदार इनिङ खेलेका थिए। पाकिस्तानी हसन अलीको क्याच लिन रुट र अली दुवैले प्रयास गर्दा एक–अर्कासँग ठोक्किएका थिए। अलीको क्याच रुटले लिएपछि दौडदै आएका रसिद उनीमाथि परेका थिए। जसले गर्दा रुटको दायाँ गोलीगाँठोमा चोट लागेको थियो। तेस्रो नम्बरमा ब्याटिङ गर्ने रुटले केही समय आराम पाए। तर, ओपनर जेसन रोय दोस्रो बलमा आउट भएपछि रुटले इनिङ सम्हालेका थिए।

'रसिद मसँग निकै जोडले ठोक्किएका थिए। तर पनि त्यस्तो गम्भिर केही भएन,' रुटले भने, 'त्यो घटना झन्डै फुटबलमा हुने खालको थियो।'

एक दिवसीय विश्वकपको पहिलो चरणबाटै वाहिरिएयता इङ्ल्यान्डले उच्च प्रदर्शन गर्दै आएको छ। रुटको स्तरीय ब्याटिङअघि मार्क उड र क्रिस ओक्सले पाकिस्तानलाई नियन्त्रणमा राखेका थिए। उड र ओक्स दुवैले समान ३ विकेट लिएका थिए।

एक दिवसीय क्रिकेटमा सरफराज अहमद (१ सय ५) ले पहिलो शतक बनाएको खेलमा इमाद वसिमले ६३ रन जोडेपछि पाकिस्तानले पहिले ब्याटिङ गर्दै २ सय ५१ रन बनाएको थियो। पाकिस्तान अन्तिम बलअघि अलआउट भएको थियो।

'सरफराजले निकै राम्रो खेले। तर हामीले हामीले निकै राम्रो जवाफ दियौं। लगातार विकेट लिन सफल भयौं,' रुटले भने।

इङ्ल्यान्ड जारी श्रृखंला सुरु हुँदा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) वरियताको पाँचौं स्थानमा थियो। रुटले भने, 'विश्वको उत्कृष्ट टोली बन्ने हो भने हामीले अझै पनि धेरै मिहिनेत गर्नुपर्ने हुन्छ। हामी अहिले सही बाटोमा छौं।'

रुटले १ सय ८ बलमा ५ चौकाका साथ ८९ रन बनाएका थिए। त्यस्तै मोर्गानले ८० बलमा ९ चौकासहित ६८ रन बनाएका थिए। बेन स्टोक्सले ४२ रन जोडे। स्टोक्सले ३३ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। मोइन अलीले अविजित २१ तथा एलेक्स हल्सले १४ रन जोडेका थिए।

पाकिस्तानका इमाद वसिमले २, मोहम्मद आमिर, हसन अली र वाहव रियाजले समान १ विकेट लिए।

त्यसअघि पाकिस्तानका ओपनर सामी अस्लम १ रनमा आउट भए। अर्का ओपनर  सार्जिल खानसँगै हसन अली र यासिर शाह शून्य रनमा आउट भएका थिए। बाबर अजमले ३० तथा सोहेव मलिकले २८ रन बनाएका थिए।

इङ्ल्यान्डका लागि उड र ओक्सवाहेक लियम प्लेङकेटले २ र रसिदले १ विकेट लिएका थिए। इङ्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो एक दिवसीय खेल मंगलबार हुनेछ।

प्रकाशित: १३ भाद्र २०७३ ०२:२६ सोमबार

पाकिस्तानविरुद्ध इङल्यान्ड लगातार सफल