खेल

तेस्रो टाईगर कप भलिबलः महिला तर्फ सशस्त्र र आर्मी बीच उपाधि भिडन्त

सशस्त्रका खेलाडीको स्पाईक ब्लक गर्ने प्रयास गर्दै गण्डकीका खेलाडी। तस्बिर उमेश पुन/नागरिक

तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधिको लागि सशस्त्र प्रहरी बलले अर्को विभागीय क्लब त्रिभुवन आर्मीसँग भिड्ने भएका छन्। टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा बिहीबार भएको प्रतिस्पर्धामा सशस्त्रले गण्डकी प्रदेश टोलीलाई सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो।  

सशस्त्रले गण्डकी प्रदेशको चुनौतिलाई २५–१३, २५–१७ र २५–२१ को सेटमा पन्छायो। यसैगरी दोस्रो सेमिफाईनल खेलमा न्यु डायमण्डको चुनौतिलाई त्रिभुवन आर्मीले २३–२५, २५–१३, २५–२२ र  २५–१२ सोझो सेटमा पन्छाउँदै उत्कृष्ट पुनरागमनसहित फाईनल यात्रा तय गरेको हो।  

उपाधिको लागि यी दुई बीच शनिबार फाईनल प्रतिस्पर्धा हुने छ। विजेता टोलीले ५ लाख रुपैयाँ नगदराशी प्राप्त गर्ने छ। उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ। नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन्।

प्रकाशित: १२ माघ २०७९ ०८:२७ बिहीबार

तेस्रो टाईगर कप भलिबलः सशस्त्र आर्मी