खेल

प्रधान सेनापति म्याराथन माघको अन्तिम साता

नेपाली सेनाले महाशिवरात्रि र आफ्नो सेना दिवसको अवसरमा आठौं संस्करणको प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता गर्ने जनाएको छ।  

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर म्याराथन प्रतियोगिता माघ २८ गते गर्ने जानकारी दिएको हो। प्रतियोगितामा खुला पुरुषतर्फ मात्र म्याराथन आयोजना हुनेछ। हाफ म्याराथनमा महिला र पुरुष दुवै विधा समावेश गरिएको छ।  

यस्तै प्रतियोगितामा १० किलोमिटर र ५ किलोमिटर दौड पनि समावेश गरिएको छ। म्याराथनको विजेताले तीन लाख पुरस्कार पाउनेछ। यस्तै दोस्रो हुनेले दुई लाख, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ५० हजार गर्दै दशौं स्थानसम्म हासिल गर्ने सबैले नगद पुरस्कार पाउनेछन्। प्रतियोगितामा सहभागी हुनेले निशुल्क दर्ता फराम भर्न पाउनेछन्।  

यसै कार्यक्रमका बीच आर्मीको महिला तथा पुरुष भलिबल टोलीलाई एभरेष्ट बैंकले खेलकुद पोसाक प्रायोजनका लागि सम्झौता गरेको छ। आर्मीको तर्फबाट केन्द्रपति महासेनानी मुना बस्नेत र एभरेस्ट बैकका नायब महाप्रधक सन्तोषकुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो। सम्झौतापश्चात् बैंकले भलिबल टोलीलाई १० लाख बराबरको सहयोग गर्ने भएको हो। उक्त रकम आर्मीको भलिबल टोलीको विकासका लागि प्रयोग गरिने जनाइएको छ।

प्रकाशित: ६ माघ २०७९ ०२:४४ शुक्रबार

प्रधान सेनापति म्याराथन