खेल

महिला प्रधानमन्त्री क्रिकेटमा प्रदेश नं. १ र सुदुर पश्चिम विजयी

इटहरीमा शुक्रबारदेखि सुरु पाँचौ प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रदेश नंं. १  र सुदुरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नं. १ ले मधेस प्रदेशमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ। मधेस प्रदेशले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश १ ले ११ दशमलव ४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो। प्रदेश १ को जितमा काजल श्रेष्ठ र रुविना क्षेत्रीको ओपनिंग जोडीले जितको बलियो आधार तयार पारेका थिए। काजलले ४२ बलमा ४ चौकाको मद्दतले २४ रन बनाउदा रुविनाले २७  बलमा २ चौकाको मद्दतले २१ रनको नटआउट पारि खेलिन।

त्यसअघि टस जितेर पहिला ब्याटिङ् गरेको मधेश प्रदेशले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ४९ रन बनायो। मधेशलाई सस्तैमा समेट्न प्लेयर अफ दि म्याच सबनम राईले ४ विकेट लिइन। रुविना  क्षेत्री र निशा शाहले दुई–दुइ विकेट लिदा ज्योती दनवार र एलिसा खडियाले एक–एक विकेट लिइन। मधेशका लागि सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ५ खेलाडीले डग आउट भए।

शुक्रबार नै भएको दोस्रो खेलमा युवा अलराउन्डर कविता कुँवरको उत्कृष्ट ब्याटिङ्मा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३३ रनले हराएको छ। टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो। सुदूरकी कविता कुँवरले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेलिन। यस्तै ऋतु कनोजिया २१ बलमा ४ चौकासहित २७ रनमा अविजित रहिन्। कप्तान विन्दु रावल र सम्झना खड्््काले १०–१० रन बनाए। रुबी पोद्दार ८, शोभा रोकाया २ र कविता जोशीले ७ रन बनाए।

बागमतीकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन। यशु पाण्डे, खुशी डंगेला र मनिषा उपाध्यले एक एक विकेट लिए। जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनायो। बागमतीकी कन्चन श्रेष्ठले २१ बलमा १ चौका सहित सर्वाधिक १६ रन बनाइन। ओपनर अस्मिता खरेल ३, सोनी पाख्रिन १५, हेलिसा गुरुङ ९, अश्मिना कर्माचार्य १३ र खुशी डंगोलले १४ रन बनाए। सुदूरका ऋतु कनोजियाले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन। मनिषा उपाध्यले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन।

प्रकाशित: २९ पुस २०७९ १२:५६ शुक्रबार

प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट