खेल

स्वास्टाइरको संन्यास

बर्लिन- जर्मनी कप्तान बास्टियन स्वास्टाइगरले शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्। उनले जर्मनीका लागि १ सय २० खेलेका थिए। युरो २०१६ को फ्रान्सविरुद्ध २–० ले गुमाएको खेल नै स्वास्टाइगरका लागि अन्तिम खेल बनेको छ। म्यानचेस्टर युनाइटेडका ३१ वर्षे मिडफिल्डरले टि्वटरमार्फत संन्यास घोषणा गरेका हुन्।

'बास्टियन स्वास्टाइगर जस्तो ठूलो नामलाई हामीले राष्ट्रिय टोलीबाट बिदाइ गर्नुपरेको छ,' जर्मन फुटबल संघका अध्यक्ष रेनहार्ड ग्रिन्डेलले भनेका छन्। ओल्ड ट्राफोर्डको बसाइ लम्ब्याउने योजनासाथ स्वास्टाइगरले जर्मनी टोलीबाट संन्यास लिने घोषणा गरेको अनुमान छ। युनाइटेडका नयाँ प्रशिक्षक जोजे माउरिन्होले क्लब छोड्न चाहे खुला छाडेका ९ खेलाडीमध्ये स्वास्टाइगर पनि हुन्। युनाइटेडसँगको स्वास्टाइगरको सम्झौता अझै दुईवर्ष बाँकी छ।

उनको घुँडामा जनवरीमा चोट लागेको थियो। मार्चमा त्यही चोट पुनः बल्झेपछि हालै फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा टोलीका सबै खेलमा उनले खेल्न पाएनन्। समूह चरणमा युक्रेनविरुद्ध उनले गोल गरेका थिए।

स्वास्टाइगरले संन्यासका लागि यो उपयुक्त समय भएको बताएका छन्। जर्मनीले सन् २०१८ को विश्वकप छनोटको पहिलो खेलअघि नर्वेविरुद्ध सेप्टेम्बर ९ मा खेल्दैछ। त्यसको चार दिनअघि टोलीले फिनल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

'मैले राष्ट्रिय टोलीका प्रशिक्षक जोचिम लोउलाई संन्यासबारे जानकारी गराउँदै अब छनोटमा नराख्न भनेको छु,' स्वास्टाइगरले टि्वट गरेका छन्, 'म समर्थक, टोली, जर्मन फुटबल संघ र प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु। राष्ट्रिय टोलीबाट मैले १ सय २० खेल खेलेँ। त्यो क्षणलाई मेरा लागि कति सुन्दर र सफल थियो भन्ने शब्दमा बयान गर्न सक्दिनँ।'

जर्मनीका लागि ब्राजिलको रियोमा २०१४ मा विश्वकप जित्नु खेलजीवनकै अविस्मरणीय क्षण भएको उनले बताए। अर्जेन्टिनाविरुद्ध फाइनलको थप समयमा पुगेर मारियो गोइट्जेको गोलमा जर्मनी १–० ले विजयी भएको थियो। जर्मनीले जितेको त्यो चौथो विश्वकप उपाधि थियो।

'विश्वकप जित्नु हाम्रा लागि ऐतिहासिक र भावुक क्षण थियो। मेरो खेलजीवनमा अब त्यो दोहोरिने छैन,' स्वास्टाइगरले भनेका छन्, 'त्यसले पनि यो अन्तर्राष्ट्रिय खेलजीवन अन्त्य गर्ने यो सही समय हो। विश्वकप छनोटको सफलताका लागि म राष्ट्रिय टोली शुभकामना दिन चाहन्छु।'

अन्त्यमा समर्थकका लागि उनले थपे, 'तपाईहरूको लागि खेल्न पाउनु मेरा लागि गौरवको विषय हो। तपाईहरूसँग अनुभव बटुल्न पाएँ। सधैँ साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।'

जर्मन टोलीको भविष्यको कप्तानका रूपमा हेरिएका थोमस मुलरले स्वास्टाइगरप्रति सम्मान व्यक्त गरेका छन्। बायर्न म्युनिखका पूर्वसाथीको सम्मानमा मुलरले भने, 'देशका लागि १ सय २० खेल खेलेकोमा धन्यवाद। यसबीचमा त्यस्ता धेरै अविस्मरणीय क्षण रह्यो। बायर्न म्युनिख गोलकिपर म्यानुयल नुयुरलाई कप्तानमा स्वास्टाइगरको उत्तराधिकारीमा हेरिएको छ। प्रशिक्षक लोउले पनि स्वास्टागरको खुलेर प्रशंसा गरेका छन्।

'एउटा व्यक्ति र खेलाडीका रूपमा उनले देशका लागि पछिल्लो १२ वर्षमा जे जति गरे त्यसमा धन्यवाद दिन चाहन्छु,' लोउले भने, 'उनले देशको फुटबलका उनले सकेको योगदान गरे। टोलीको उद्देश्य र लक्ष्यमा उनी सधै प्रतिबद्ध रहे। एउटा प्रशिक्षकका रूपमा मैले उनीबाट धेरै सहयोग प्राप्त गरँे। उनले मेरा लागि जति गरे त्यसका लागि पनि धन्यवाद दिन चाहन्छु।'

युरो २०१६ को सेमिफाइनलबाट बाहिरिनुपरेकोमा केही पछुताएका स्वास्टाइगरले भने, 'मेरा लागि युरो कप जित्नु कति अर्थपूर्ण थियो भन्ने प्रशिक्षक लोउलाई थाहा थियो। म त्यो उपाधि जित्न चाहन्थेँ। किनकि १९९६ देखि हामीले युरोपियन च्याम्पियनसिप जित्न सकेका थिएनौं,' उनले भने, 'हामी त्यसमा फेरि पनि असफल भएका छांै। मैले त्यसलाई स्विकार्नुपर्छ।'

जर्मनीका लागि सबैभन्दा बढी खेल खेल्ने लोथर म्याथ्युज (१५० खेल) ले स्वास्टाइगरको चर्चा गर्दै भने, 'जर्मनी टोलीबाट लामो खेलजीवन बिताएकोमा म उनलाई बधाई दिन चाहन्छु।'

१९९० मा जर्मनीले विश्वकप जित्दाका कप्तान ५५ वर्षे म्याथ्युजले स्वास्टाइगरलाई प्रतिभाशाली खेलाडीका रूपमा व्याख्या गरे। स्वास्टाइगरले युरो लगत्तै सर्वियाली टेनिस सुन्दरी अना इभानोभिचसँग विवाह गरेका थिए।

प्रकाशित: १५ श्रावण २०७३ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App