खेल

टी-२० क्रिकेट: लुम्बिनी जनकपुरसँग पराजित

पहिलो संस्करणको नेपाल टी-२० क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो। दुवै टोलीको लिग चरणको खेल समाप्त भएसँगै दुवै टोली क्वालिफायरमा पुगेका हुन्। लुम्बिनी अङ्क तालिकाको शीर्ष स्थानमा र जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भए।  

जितका लागि एक सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन मात्र बनायो। लुम्बिनीका लागि अनिल शाहले ३५ रन बनाउँदा लाहिरु मिलन्थाले ३२ रन बनाए। त्यस्तै सुनिल धमलाले २७ रन जोडे भने गुलशन झाले अविजित १० रन बनाए।  

जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले तीन विकेट लिए भने समिउल्लाह शिनवारीले दुई विकेट लिए। त्यसअघि पहिले टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा छ विकेट गुमाएर एक सय ५९ रन बनायो। जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित ४७ रन बनाए।  

त्यस्तै शरफुदिन असरफले ३४ रन बनाए भने खडक बोहोराले २२ तथा शमिउल्लाह शिनवारीले २० रन बनाए। लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान दुई/दुई विकेट लिए भने प्याट ब्राउन र इशान पाण्डेले समान एक/एक विकेट लिए।

दश खेल खेलेको लुम्बिनीले आठमा जित तथा दुई  खेलमा हार बेहोरेको छ। लुम्बिनी १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै समान १० खेलमा सात जित र तीन हारसहित जनकपुर १४ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रह्यो।

अब फाइनलमा पुग्न लुम्बिनी र जनकपुरले आइतबार हुने पहिलो क्वालिफायर खेल खेल्नेछन्। प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ तथा उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रकाशित: २२ पुस २०७९ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App