खेल

सहज जितका साथ जनकपुर प्लेअफमा

शतकीय साझेदारी गरेका फार वेस्टका हस्मतुस्लाह साहिदी र विनोद भण्डारी रन लिने क्रममा।तस्बिर सौजन्य: क्यान

जनकपुर रोयल्सले पोखरामाथि सहज जितका साथ नेपाल टी–२० लिगको प्लेअफमा स्थान बनाउँदा काठमाडौं नाइट्सले भने अघिल्लो चरण प्रवेशका लागि अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ।

जनकपुर ९ खेलको समाप्तिमा ६ जित र ३ हारको नतिजापछि १२ अंकसहित दोस्रो स्थानमा बसेर प्लेअफमा छनोट भएको हो। समान खेलमा ८ जित र १ हारको नतिजापछि १६ अंक जोडेको लुम्बिनी अल स्टार्स यसअघि नै शीर्ष स्थानमा बस्दै प्लेअफमा प्रवेश गरिसकेको छ। तेस्रो स्थानकधो काठमाडौंको ९ खेलमा ४ जित र ५ हारपछि ८ अंक छ भने चौथो र पाँचाैं स्थानको विराटनगर सुपर किङ्स र पोखराको समान ६ अंक छ। छैटौं स्थानको फार वेस्टको ८ खेलमा ४ अंक छ।

६ टोली सहाभागी प्रतियोगिताको पहिलो र दोस्रो स्थानमा रहने टोलीले पहिलो प्लेअफ खेल्नेछन्। जसको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले इलिमिनेटरमा क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो र चौथो स्थानको टोलीले क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्।

शीर्ष स्थानको लुम्बिनी र दोस्रो स्थानको जनकपुरले पहिलो प्लेअफ खेल्नेछन्। क्वालिफायरका लागि भने बाँकी चारवटै टोलीको सम्भावना जीवितै छ। बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जनकपुरले पोखरालाई ६ विकेटले हरायो। पोखराले प्रस्तुत गरेको ६९ रनको लक्ष्य जनकपुरले नौ ओभरमा मात्र ४ विकेट गुमाउँदै पूरा गर्‍यो।  

जनकपुरको सहज जितमा आोपनर सौफदिन असरफले २७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३७ र कप्तान ट्रेभोन ग्रिफिट्ले १७ रन जोडे।  

पोखराका कुशल मल्लले ३ ओभरमा १० रन खर्चंदै ३ र आसिथा फर्नान्डोले ३ ओभरमा २१ रन खर्चंदै १ विकेट लिए।  

यसअघि टस हारेर ब्याटिङका लागि आएको पोखरा १२ ओभरमा मात्र ६८ रनमा सीमित भएको थियो। पोखराका लागि सिद्धान्त लोहनीले १७ तथा कुशल मल्ल र आसिफ शेखले १६ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।  

पोखरालाई सस्तोमा समेट्ने क्रममा जनकपुरका सोमपाल कामीले २ ओभरमा ८ रन खर्चंदै ३ विकेट लिए। त्यस्तै ललितनारायण राजवंशी र असरफले समान २ विकेट लिए।

यता लगातार दोस्रो फराकिलो हारसँगै काठमाडौंको यात्रा समूहचरणमा सीमित हुने सम्भावना बढेको छ। बुधबार शीर्ष स्थानको लुम्बिनीसँग १ सय २ रनको लज्जास्पद हार व्यहोरेको काठमाडौं बिहीबार फार वेस्टसँग ८३ रनले पराजित भयो।

फार वेस्टले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन मात्र जोड्न सक्यो।

काठमाडौंका लागि कमलसिंह ऐरीले २०, कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप रजाईले समान १७, सुनाम गौतमले १६ र सन्तोष कार्कीले १२ रन जोडे।

फार वेस्टका करण केसी, हस्मतुल्लाह साहिदी र दुर्गेश गुप्ताले समान २ तथा शेर मल्ल, प्रकाश जैसी र मिलिन्डा सिरिवद्र्धनेले समान १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको फार वेस्टले ओपनर हस्मतुस्लाह र विनोद भण्डारीको शतकीय साझेदारीमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रनको योगफल खडा गरेको थियो।

हस्मतुल्लाहले ५७ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७६ तथा विनोदले ४४ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ७३ रन प्रहार गरे। हस्मतुल्लाह र विनोदले पहिलो विकेटका लागि १ सय ५७ रनको साझेदारी गरेका थिए।

काठमाडौंका वासिर अहमदले ३ र अविनाश बोहोराले १ विकेट लिए। शीर्ष स्थानको लुम्बिनी र दोस्रो स्थानको जनकपुरले पहिलो प्लेअफ खेल्नेछन्। क्वालिफायरका लागि भने बाँकी चारवटै टोलीको सम्भावना जीवितै छ। 

प्रकाशित: २२ पुस २०७९ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App