सेन्ट इटेन- युरोपियन च्याम्पियनसिपको समुह ‘बी’ अर्न्तगत सोमबार स्लोभाकियाविरुद्ध खेल्दा इङल्यान्डका प्रशिक्षक रोय हड्सनसामु आक्रमणको जिम्मा कसलाई दिने भन्ने दबाब हुनेछ।
लेन्समा वेल्सविरुद्धको खेलमा जेमी भार्डे र ड्यानिअल स्टुरिजले बेन्चबाट आएर गोल गर्दै इङ्ल्यान्डलाई २–१ को जित दिलाएका थिए। रुससँग १–१ को बराबरी नतिजा निकालेको पहिलो खेलमा इरिक डायरले गोल गरेका थिए। हड्सनको पहिलो रोजाईमा रहँदै आएका ह्यारी केन दुवै खेलमा सुरुआतबाटै खेलेका थिए। तर उनी फ्रान्समा प्रभाव जमाउन संघर्ष गरिरहेका छन्। त्यसैले हड्सन अहिले अग्रपंक्तिमा कसलाई खेलाउने भन्ने दोधारमा छन्।
गारेथ बेलले फ्रि–किकमा उत्कृष्ट गोल गरेपछि वेल्सले इङ्ल्यान्डविरुद्ध अग्रता लिएको थियो। त्यस्तो अवस्थामा भार्डेले बराबरी गोल गरेका थिए भने स्टुरिजले विजयी गोल गरेका थिए।
वेल्सविरुद्ध दोस्रो हाफमा बेन्चबाट आएर गोल गरेपछि लेस्टर सिटीका फरवार्ड भार्डे सोमबार सेन्ट इटेनमा पहिलो रोजाईमा पर्ने सम्भावना बलियो बनेको छ।
‘पहिलो रोजाईमा परे भने म धेरै खुशी हुनेछु। प्रशिक्षकले कसलाई टोलीमा राख्छन् भनेर थाहा पाउन हामीले सोमबार सम्म कुर्नुपर्नेछ। आशा गरौं हामी टोलीमा पर्नेछौं,’ भार्डेले भने, ‘मलाई लाग्छ उनलाई पनि छान्न कठिन छ। टोलीमा पर्न प्रतिस्पर्धा हुनु राम्रो पक्ष हो। विकल्प धेरै भएपछि हामी जस्तो सुकै रणनीतिमा खेल्न सक्छौं।’
फ्रान्समा केनले लय गुमाएपछि प्रिमियर लिगमा टोटेनह्यामबाट उनले गरेको प्रदर्शन छाँयामा परेको छ। लिगमा उनी सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। उनीपछि भार्डे दोस्रो स्थानमा छन्।
टोटेनहयामका फरवार्ड केनले गत वर्ष ५ हजार ९२ मिनेट फुटबल खेलेका छन्। जुन भार्डे (३ हजार ७ सय ७) र स्टुरिज (१ हजार ८ सय १२) भन्दा धेरै हो। केनले क्लब र देशबाट पछिल्ला ७ खेलमा २ गोल गरेका छन्। त्यसको तुलनामा स्टुरिजले ६ खेलमा ३ र भार्डेले ५ खेलमा ४ गोल गरेका छन्। तर भार्डे युरो २०१६ मा इङ्ल्यान्डबाट पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका छन्।
‘केन थाके जस्तो लाग्दैन। उनले पहिलो रोजाइमा परेर गोल पनि गर्नेछन भन्नेमा मलाई विश्वास छ,’ भार्डेले भने, ‘उनले अभ्यासमा कडा मिहिनेत गरिरहेका छन्। त्यसैले पनि उनी पहिलो रोजाइमा पर्न सक्छन्।’
वेल्सविरुद्धको जितपछि इङ्ल्यान्ड ४ अंकका साथ समुहको शीर्ष स्थानमा छ। वेल्स र स्लोभाकियाको पनि ३ अंक भएकाले अन्तिम चरणको खेलबाट विजेता र उपविजेताको टुंगो लाग्नेछ। इङ्ल्यान्डले स्लोभाकियासँग प्रतिस्पर्धा गरिरहँदा टोउलउजमा वेल्सले रसियाविरुद्ध खेल्नेछ। त्यसलै शीर्ष स्थान पक्का गर्न इङ्ल्यान्डलाई स्पष्ट ३ अंकको आवस्यकता पर्छ।
यसअघि भएका तीन भिडन्तमा इङ्ल्यान्डले स्लोभाकियाविरुद्ध सतप्रतिसत नतिजा हासिल गरेको छ। तर स्लोभाकियाका रक्षक मार्टिन स्कर्टेल यसपाली फरक नतिजा आउने आशामा छन्। त्यसका लागि कप्तान स्र्क्टेलले लिभरपुलका सहयात्री स्टुरिजलाई रोक्नुपर्ने छ।
एक जनाको प्रदर्शनले टोलीको नतिजामा फकर नपार्न सक्छ, तर उनलाई साथ दिन नेपोलीका मिडफिल्डर मारिक हाम्सेकको साथ रहनेछ।
स्लोभाकियाले हाम्सेकबाट धेरै आशा गरेको थियो। तर उनको प्रदर्शन आशातित रहेको छैन। तर पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको जस्तो निराशजनक पनि होइन। स्लोभाकियाले रुसलाई २–१ ले पराजित गर्दा हाम्सेकले एक गोल गर्नुका साथै अर्को गोलको अवसर िसर्जना गरेका थिए। इङ्ल्यान्डविरुद्ध पनि त्यस्तै नतिजा निकाल्नेमा हाम्सेक आशावादी छन्।
‘त्यो निकै सुन्दर क्षण थियो। मैले त्यो कम्तिमा पनि २० पटक दोहर्याएर हेरे होला। त्यो साँच्चिकै रमाइलो थियो,’ रुसविरुद्धको गोलवारे २८ वर्षे हाम्सेकले भने।
स्लोभाकियाका मिडफिल्डर जन ग्रेगुसले इङ्ल्यान्डविरुद्ध सकरात्मक नतिजा निकाल्ने आशा व्यक्त गरे, ‘इङ्ल्यान्ड समुहको मात्र नभएर प्रतियोगिताको दावेदार टोली हो। तर त्यसले हामीलाई फरक पार्दैन, मलाई लाग्छ हामी प्रतियोगितामा रहनेछौं।’
प्रकाशित: ६ असार २०७३ ०४:४४ सोमबार