समाज

इलाका प्रशासन कार्यालय टीकापुरको भवन समय अगावै निर्माण सम्पन्न

विकास निर्माणका काममा ढिलासुस्ती भैरहेको जनगुनासो बढेको बेला इलाका प्रशासन कार्यालय टीकापुरको भवन भने निर्धारित समय अगावै निर्माण सम्पन्न भएको छ।  

निर्माण कार्यको जिम्मेवारी पाएको नागार्जुन कन्ट्रक्सन प्रालिले भवन निर्माणको काम तोकिएको समयभन्दा तीन महिना अघि नै निर्माण सम्पन्न गरेको हो। २०७७ पुस २६ गते भएको सम्झौता अनुसार भवन निर्माणको काम २०७९ पुस २५ गते सम्पन्न हुनुपर्ने उल्लेख छ।  

निर्माण कम्पनीले भने भवन निर्माणको काम २०७९ असोज ७गते नै सम्पन्न गरेको छ। निर्माण कम्पनीले निर्धारित समय अगावै काम सके वापत बोनस समेत प्राप्त गरेको छ। निर्माण कम्पनीका सञ्चालक दलबहादुर साउँदले १ सय ८ दिन वापतको बोनस प्राप्त गरेको बताए।  

३ करोड २३ लाख ८८ हजार ५३० रुपैयाँमा निर्माण सम्पन्न भएको भवनको आज एक समारोहकाबीच नेपाल सरकारका गृह सचिव विनोद प्रकाश सिँहले उद्घाटन गरेका छन्।  

निर्धारित समय अगावै भवन निर्माणको काम सम्पन्न गरेको भन्दै गृह सचिव सिँहले निर्माण कम्पनीलाई धन्यवाद व्यक्त गरे। उनले निर्माण कार्यमा ढिलाई गरेका कारण त्यस्ता निर्माण कम्पनीहरुको आलोचना भैरहेका बेला समय अगावै काम सम्पन्न गरेर उदाहरणीय कार्य प्रस्तुत गरेकोमा आभार व्यक्त गरेका छन्।

‘सबैतिर समयमा काम हुन नसकेको भन्दै चर्को आलोचना हुने गरेको सुनिन्छ’ उनले भने,‘तर यहाँ त समय अगावै भवन निर्माण सम्पन्न भयो। यसबाट अरुले पनि सिक्नुपर्छ।’

इलाका प्रशासन कार्यालय टीकापुर अहिलेसम्म भाडाको भवनमा सञ्चालित थियो। संघीय सरकारको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको छ। भवन निर्माण पश्चात सेवासुविधामा सहज हुने इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख पुष्कर खड्काले जानकारी दिए।  

उनले कर्मचारी अभाव भएका कारण सेवासुविधामा ढिलासुस्ती भैरहेकोले तत्काल आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गरिदिन गृह सचिव सिँहसँग आग्रह गरेका छन्।  

कार्यालयले जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका गरी पाँच वटा पालिकाका ३ लाख १५ हजार जनससंख्यालाई सेवा दिँदै आएको छ। हाल कार्यालयमा उपसचिवको नेतृत्वमा ११ जना कर्मचारी मात्रै कार्यरत छन्। जसले सेवाग्राहीको काम समयमै सम्पादन गर्न कठिनाई हुने गरेको छ।  

कार्यालय प्रमुख खड्काले दैनिक ६० वटा नयाँ नागरिकता र ४० जति नागरिकताको प्रतिलिपि बनाउने गरेको जानकारी दिए। उनले राहदानी, राष्ट्रिय परिचय पत्र लगायतका अन्य काम समेत प्रभावित हुने गरेको बताए।  

गृह सचिव सिँहले कर्मचारी अभाव सबैतिर भएकाले आवश्यकता अनुसार व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे।  

प्रकाशित: २४ कार्तिक २०७९ १०:०० बिहीबार

इलाका प्रशासन कार्यालय टीकापुर