समाज

भाइरल पुलको वास्तविकता

कालिकोटको जितेगढा कालिकोट 'भर्‍याङ’ पुल।

कालिकोटको खाँडाचक्र नगरपालिका–२ जितेबजार र नरहरिनाथ गाउँपालिका–१ लालीघाट बजार जोड्ने कर्णाली नदीमा निर्माण भएको झोगुङ्गे पुल चढ्न लगाइएको भर्‍याङ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भाइरल पुलको वास्तविकता भने फरक छ। असोज १९ गतेदेखि आएको बाढीपहिरोले कर्णालीमा ठूलो धनजनको क्षति गर्‍यो। सोही बाढीले कर्णाली नदीमा रहेको जितेबजार र लालीघाट बजार जोड्ने झोगुङ्गे पुलको एकतर्फको भाग बगायो।

कर्णाली करिडोर र कर्णाली राजमार्ग जोड्ने पुल भएका कारणले आवात-जावतमा समस्या उत्पन्न भएपछि सहजताका लागि पुल चढ्न स्थानीय नरजङ्ग मल्लको पहलमा दुई लाख लगानीमा काठको भर्‍याङ निर्माण गरेर वारपार गर्न मिल्ने वैकल्पिक पुल निर्माण भएको छ।

गत असोज १९ गतेदेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले उक्त पुल भत्काएको थियो। ‘त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन संघीय, प्रदेश र स्थानीय सरकार कसैको आँखा परेन। बाढीपहिरोले पुलको आधा भागको लठ्ठाबाहेक सबै बगाएको थियो।' मल्लले भने, 'पुलमा लठ्ठामात्र बाँकी रहँदा पनि कसैको ध्यान नगएपछि आफूले नागरिकको सहज यात्राका लागि भर्‍याङबाट भए पनि पुलमा आउ-जाउ गर्न सहज बनाइदिएको हुँ।'

मल्लका अनुसार पुल नहुँदा नागरिकले पैदल तिला नदीको पुल हुँदै लालीघाटको पुल तरेर मंदिरबाट हिड्न बाध्य थिए।  दैनिक सयौं यात्रुहरुले ओहोर-दोहोर गर्ने सो पुलको जितेगढा बजार क्षेत्रतर्फ नदीको बहावले गर्दा पुलमा लठ्ठा बाहेक केही बाँकी नराखेपछि बाँकी खण्ड खाली छोडेर पुललाई भर्‍याङको सहारा दिइएको छ। स्थानीय नरजंङ मल्ल, मध्यपश्चिम यातायात प्रा.ली र व्यापारीको सहयोगमा पुल मर्मत भएको छ।

भर्‍याङ बनेपछि हिड्नका लागि केही सहजता आएपनि सम्बन्धित निकायबाट तत्कालै पुल मर्मत गरिन आवश्यक रहेको स्थानीयहरु बताउँछन्। सो पुलबाट कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका, सान्नित्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, पलाता गाउँपालिकाको साथै, बाजुरा जिल्ला र हुम्ला जिल्लाबासीहरुले नियमित यात्रा गर्दै आएका छन्।

प्रकाशित: १६ कार्तिक २०७९ ०५:११ बुधबार

कालिकोटको खाँडाचक्र नगरपालिका नरहरिनाथ गाउँपालिका लालीघाट बजार जोड्ने कर्णाली नदीमा निर्माण भएको झोगुङ्गे पुल