समाज

चुनाव आयो, सडक आएन

भक्तपुर कमलविनायकदेखि नगरकोट पुग्ने मुख्य सडक निर्माणमा ढिलाई भएको विरोधमा स्थानीय पर्यटन व्यवसायीहरु सोमबार विरोधस्वरुप माटो थुपारेर सडक अवरुद्ध गर्दै। तस्बिर: नागरिक

भक्तपुर नगरकोटबासीहरुको घरघरमा चुनाव आयो कि नगरकोट सडक बनाइदिन्छु भनी भोट माग्न आउँंछन्। धेरै पटक चुनाव आयो र गयो पनि तर अझैसम्म सडक निर्माण पूरा हुन पाएको छैन।

प्रत्येक पटक चुनाव आयो कि उम्मेदवारहरु सडक बनाइदिन्छु भनेर मुद्धा लिएर मत लिएर जितेर जान्छन् पनि तर सडक भने अहिलेसम्म पूरा भएको छैन। कहिले निर्माण पूरा हुने हो अझै अनिनिश्चत नै छ। भक्तपुरको कमलविनायक भत्केकोपाटी देखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक अहिले पनि निर्माणाधिन नै छ।

‘एक्जिम बैंक इन्डिया’को ऋण सहयोगमा शैलुङ र एआईपीएल जेभीले ०७३ कात्तिक ४ मा काम सक्ने गरी ०७१ जेठ २२ मा सडक विस्तारको सम्झौता गरेको थियो। यो वीचमा प्रतिनिधि सभाको चुनाव २०७४ को सम्पन्न भयो। साथै प्रदेश सभाको पनि। साथसाथै स्थानीय निकायको पनि तर सडक भने जस्ताको तस्तै नै छ।

सडक विस्तारमा ढिलाई भएको भन्दै स्थानीयले पटकपटक आन्दोलन पनि गरे। तर समस्या भने ज्यूका त्यू नै छ। सोमबार पनि सडकखण्ड विस्तारको नाममा ठेकेदारले आठ वर्षदेखि सडक अलपत्र पारेको भन्दै स्थानीय पर्यटन व्यवसायीले माटो थुपारेर सडक अवरुद्ध गरे। 

सडक विस्तार ढिलाइले पर्यटन व्यवसायी धरासायी बनेको र सडक थप जीर्ण भएको भन्दै स्थानीय बासिन्दाले माटो थुपारेर सडक अवरुद्ध गरेका थिए। नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले जति आन्दोलन गरे पनि कामले भने पूर्णता नपाएको दुःखेसो गरे।

स्थानीयहरु पछिल्लो पटकको प्रदेश सभाको निर्वाचनमा पनि नेपाली कांग्रेसबाट कृष्णलाल भडेल निर्वाचित भएर भौतिक मन्त्रीसम्म बनेको तर सडकको अवस्थामा भने कुनै सुधार नआएको बताउँंछन्। पटकपटक सडक बनाइदिन्छु भनेर भोट चाहि माग्ने र सडकले पूर्णता नपाएको भन्दै स्थानीय आक्रोशितसमेत छन्।

सडक विस्तारको ठेक्का लिएको ठेकेदार कम्पनीले सातौंपल्ट म्याद थपेर समेत अझै काम सकेको छैन। आयोजनाका अनुसार एक्जिम बैंक इन्डियाबाट ठेक्का सहमति प्राप्त प्रक्रियागत ढिलाई भन्दै पहिलोपल्ट २०१६ अक्टोबर २० सम्म काम सक्ने गरी एक सय २५ दिन म्याद थप भयो। दोस्रोपल्ट भूकम्पको बाहानामा २०१७ नोभेम्बर ०४ सम्म तीन सय ८० दिन, तेस्रोपल्ट सडकमा रहेको भौतिक संरचना स्थानान्तरण र रुख कटानमा ढिलाइ, स्थानीयको अवरोध, स्थानीय चुनावलगायत कारण देखाउँदै २०१८ जुन १३ मा सक्ने गरी दुई २१ दिन म्याद थप भएको थियो। 

चौथोपल्ट चिसो तथा वर्षाको कारण कालोपत्रे गर्ने कार्य गर्न नसकिएको तथा खरिद नियमावली २०६४ आठौं संशोधन अनुसार २०२० अप्रिल १९ मा निर्माण कार्यसक्ने गरी ६ सय ७६ दिन, पाचौंपल्ट खरिद नियमावली नवौं संशोधन अनुसार म्याद थप सम्बन्धी पूर्वनिर्णयहरु यथावत कायम भन्दै २०२० डिसेम्बर ३० सम्मका लागि दुई सय ५५ दिन, छैठौंपल्ट कोभिडका कारण भएको बन्दाबन्दीको बाहानामा २०२१ जुन २९ दिनसम्म एक सय ८१ दिन र सातौंपल्ट गत चैत मसान्त अर्थात् २०२२ अप्रिल १३ सम्मका लागि म्याद थप गरेको थियो। 

सार्वजनिक खरिद ऐनको १२ औं संशोधन अनुसार सडक निर्माणको म्याद आठौंपटक थपिएर २०७९ पुष मसान्तसम्म पुगेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजनाले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०७९ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App