समाज

सडक भासिँदा बागलुङ–बेनी सडकमा यातायात प्रभावित

बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ।

स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरै ठाउँमा पहिरो तथा हिलोका समस्या भएकाले म्याग्दी र मुस्ताङ आवतजावत गर्ने धेरै सवारीसाधनले विकल्पमा बागलुङ–बेनी सडक प्रयोग गर्दै आएका छन्।

पहिरोका कारण सडक दबेर भासिएपछि हिलोमा सवारीसाधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ। एक हप्तायता रइनेडाँडाको पहिराले दैनिकजसो घण्टौँसम्म बेनी–बागलुङ सडक अवरुद्ध हुन थालेको सवारी चालक गोविन्द बानियाँले बताए।

'ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिराको सडक पार गराए पनि बस, ट्रक, माइक्रोबस हिलो र चिप्लो अनि उकालो सडक उक्लन नसकेर जाम हुने गरेको छ', उनले भने, 'दुर्घटनाको जोखिमका साथै सास्ती भएको छ।'

सोमबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म सो ठाउँमा सडक अवरुद्ध बनेको थियो। दैनिकजसो यस्तै समस्या हुने गरेको यातायात व्यवसायी र यात्रुले बताएका छन्। यात्रु प्रकाश अधिकारीले यात्रु समयमा गन्तव्यमा पुग्न नसकेर बिचल्लीमा परेका बताए। रासस

प्रकाशित: २५ आश्विन २०७९ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App