समाज

ङ्यूङ्ने व्रत सम्पन्न

धर्मको माध्यमबाट समाजमा हुने विकृति र विसंगति हटाई समुन्नत समाज निर्माण गर्न राम्चेका युवाले सुरु गरेको ङ्यूङ्ने (निलाहार) व्रत बुधबार सम्पन्न भएको छ। जिल्लामा गठन भएको कालिका डोजो कराँतेका खेलाडीले बडादशैंको अवसर पारेर फूलपातीदेखि विजयादशमीसम्म चार दिने ङ्यूङ्ने व्रत सम्पन्न गरेका हुन्।

बुद्ध भगवानको उपदेशलाई व्यापक रूपले जागरण गराउने, ती उपदेशलाई अनुसरण गर्दै अगाडि बढ्ने, जीवनको उत्तराद्र्धमा अञ्जानवश गरिएका पापलाई ङ्यूङने व्रतले मोचन गराउने धार्मिक विश्वास छ।

यस्ता व्रतको प्रभावले कुनै पनि व्यक्तिको भावी दिनमा सोचमा परिवर्तन गराएर नकारात्मक क्रियाकलाप अन्त हुनाका साथै असल समाज निर्माणमा योगदान पुग्ने विश्वास छ। कालिका गाउँपालिका-१ का वडाध्यक्ष समेत रहेका कालिका डोजोका प्रमुख प्रशिक्षक दावा तामाङको अगुवाइमा २१ जनाले पहिलो चरण अन्तर्गत काठमाडौंको बौद्धनाथबाट सुरु गरेका उक्त व्रत दोस्रो चरणमा रसुवाको राम्चे क्षेत्रका गाउँटोलबाटै सुरु गर्ने लक्ष्य रहेको छ।

ङ्यूङ्ने व्रतले एक आपसमा सद्भाव बढाई सामाजिक सेवामा योगदान पुर्‍याउनका साथै एक अर्कामा समन्वय बढाउने कार्यमा मद्दत पुर्‍याउने उनले बताए। सामाजिक विकासका साथै समाजमा हुने सबै प्रकारका विकृति र विसंगति अन्त गर्न आफू निरन्तर अगाडि बढ्ने, राम्चेबाट क्रमशः जिल्लाभरमै अभियान जगाउने लक्ष्यका साथ पहिलो चरणमा बौद्धनाथलाई साक्षी राखी काठमाडौंबाट व्रत सुरु गरिएको र स्वदेश तथा विदेशमा रहेएका सबै नेपाली दाजुभाइ र दिदीबहिनीलाई सुख र शान्ति मिलोस् भन्ने कामना समेत गरिएको वडाध्यक्ष तामाङको भनाइ थियो। रासस

प्रकाशित: २० आश्विन २०७९ ०३:०७ बिहीबार

ङ्यूङने व्रत सम्पन्न धर्मको माध्यमबाट समाजमा हुने विकृति र विसंगति