समाज

यो वर्ष दशैँ टीकाको दिन भारी वर्षा हुने

यस वर्षको मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो।

तर, हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै गइरहेकाले नेपालमा अजै मनसुनी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार असोज १८ गते नवमीदेखि नेपालमा पनि न्यून चापीय प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना छ।

असोज १८ गते नवमीमा देशभर आंशिकदेखि सामान्यतया बदली रहने सम्भावना रहेको छ। त्यसदिन  प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असोज १९ गने टीकाको दिन देशभर सामान्य देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यी दिनहरूमा देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषिलगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: १४ आश्विन २०७९ १५:४३ शुक्रबार