राजधानीका सडक नापिरहेका अधिकांश पैदलयात्रुका मुखबाट छिनछिन निस्किरहन्छन् यी शब्द। नाकमुखमा पेरुंगो (मास्क) लगाएर हिँड्नेहरु पनि आधा मात्र जोगिन्छन्, उनीहरुका कपालदेखि आँखीभौंसम्म धुलाम्मे देखिन्छ।
सडक विस्तार क्रममा सडक भत्काउने, खन्ने तर समयमा नबनाउने। त्यत्तिकै अलपत्र छाडिदिने। यही प्रवृकिा सिकार बनेका छन् राजधानीवासी। सडकछेउ बन्दव्यापार गर्नेदेखि सवारीचालकसम्म धुलोले अनेक समस्या झेल्न बाध्य भए पनि सरोकार निकाय बेपर्वाह छन्।
राजधानीका आम उपभोक्ताका दैनिकी धुलोका कारण अस्तव्यस्त मात्र छैन, उनीहरु यही कारण गम्भीर स्वास्थ्य समस्याका सिकार समेत बनिरहेका छन्।
सडकछेउका सटरमा व्यवसाय गर्नेलाई स्वास्थ्यसँगै आफ्ना सामग्री धुलोबाट जोगाउनुपर्ने चुनौती छ। 'सेतो, रातो, पहेँलो कपडा चार दिनभन्दा बढी झुन्ड्याइए धुलाम्य हुन्छन्,' पुतलीसडक चोकस्थित कालीगण्डकी फेन्सी स्टोरका सञ्चालक उत्तम पाण्डेयले नागरिकसँग भने, 'केही समयमा कामै नलाग्ने गरी ड्यामेज हुन्छन्।'
छ वर्षदेखि चोकमा पसल चलाइराखेका उनी धुलोकै कारण सास्ती र घाटा सहनुपरेको सुनाउँछन्। डिल्लीबजार–बागबजार बाटो विस्तार सुरु भएसँगै त्यस क्षेत्रका व्यवसायी धुलोको मारमा परेको उनले बताए। 'वर्षदिनसम्म भत्काएर छाडे, बनाएनन्, त्यसको असर चोकचोकका पसलमा पर्यो ,' पाण्डेयले भने, 'अहिले पिच त गरियो तैपनि धुलो उड्न छाडेन।'
मैतीदेवीमा १४ वर्षदेखि 'न्यु फेन्सी साडी सेन्टर' चलाउँदै आएका सञ्जय रौनियारले पनि कहिल्यै नपाएको दुःख पाए। धुलोकै कारण आफैं सिकिस्त बिरामी परे, पसलका साडीसमेत बिग्रिए। 'धुलोले साडीजति मक्किन थाले,' उनले भने, 'कति दिन त पसलै बन्द गर्नुपर्योक।' त्यति मात्र होइन, धुलोले घाँटी खसखसाउने समस्या आएपछि उपचारका लागि चार दिन अस्पतालै बसे उनी। 'ग्राभेल गरेर अलपत्र छाडिएको सडक ६ महिनासम्म पिच गरिएन, त्यति बेला म मात्र होइन, अरू पसलका साहू पनि घाँटी दुख्ने, खसखसाउने समस्याले ग्रस्त थिए,' उनले भने। उक्त सडक तीन महिनाअघि बल्ल पिच भएको छ।
पुतलिसडक, सोह्रखुट्टे र महाराजगन्जचोकमा सडक विस्तारले ठूलो वायुप्रदूषण निम्त्याएको क्लिन इनर्जी नेपाल र क्लिन एर नेटवर्क नेपालको दुई वर्षअघिको अध्ययनले देखाउँछ। राजधानीका प्रमुख तीन चोकमा गरिएको अध्ययनका बेला सरकारले ती क्षेत्रमा सडक विस्तारका लागि संरचना भत्काएको थियो।
तीनमध्ये पुतलीसडक सबैभन्दा बढी प्रदूषित देखिन्छ। जहाँ राष्ट्रिय मापदण्ड भन्दा ७ गुणा र विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा छ गुना बढी प्रदूषित वायु मापन गरिएको थियो।
विस्तारका नाममा खनिने सडक वर्षौंसम्म नबनाइँदा राजधानीवासी चरम मर्कामा छन्। बर्खामा हिलोले पीडित उनीहरू बाँकी पूरै वर्ष धुलोले निस्सासिन्छन्। यो अवस्था नियन्त्रण गर्न सरकारले प्रयाससम्म गरेको छैन। वातावरण संरक्षणसम्बन्धी कार्यक्रममा देशदेशावर चहार्ने सरकारी अधिकारी आफ्नै राजधानीको यो बेथितिप्रति भने उदासीन देखिन्छन्। सडक, फुटपाथ, ढल, पाइपलगायत संरचनाको चुस्त व्यवस्थापन नहुँदा थप धुलो बढिरहेको छ।
सरकारी प्राथमिकता अभाव र सर्वसाधारण चुप बस्दा सास्ती बेहोर्नुपरेको वातावरणविद् तोरण शर्मा बताउँछन्। 'हामी आफ्नै घरअगाडि धुलो उडिरहँदा चुपचाप सहन्छौं,' उनी भन्छन्, 'सर्वसाधारणको यही कमजोरीले सरकारले ध्यान दिएन, सरकारी निकाय विदेशी डलर आउने काममा मात्र लागिपर्छन्।'
शर्माका अनुसार विस्तारका नाममा बाटो भत्काएपछि महिनौं नबनाउने प्रवृत्ति राजधानीभरि व्याप्त छ। सहरका विभिन्न गल्ली, मुख्य सडकमा कालोपत्रे उप्किरहेकै छन्। ढल, पानीको पाइप गाड्न भन्दै सरकारी निकाय तथा स्थानीय टोल सुधार समितिले पनि बेलाबेला खनिरहन्छन्। तर, सडक पुरानै स्वरूपमा फर्काउने दायित्व कसैले लिँदैन।
काठमाडौंमा अहिलेसम्म २ सय ४० किलोमिटर सडक विस्तार भइसके पनि सबैतिर कालोपत्रे छैन। निर्माण कम्पनी ढिलाइले एउटै सडक बनाउन दुई–तीन वर्षसम्म लगाउने गरिएको पाइन्छ।
शर्माका अनुसार दक्षिणी वायुको प्रभाव पनि राजधानीमा धुलो बढ्नुको कारण हो। भारतबाट वायुसँगै आउने धुलोका कण कचौरा आकारको काठमाडौं उपत्यकामा लामो समय रहने उनले जानकारी दिए। नजिकका विकसित देशको औद्योगिक प्रदूषणले हामीलाई सिधै असर पारिरहे पनि सरकार मौन बसेको उनले आरोप लगाए।
'सरकारले पहिले प्रणाली विकास गर्नुपर्छ, त्यसले काम गराउँछ,' शर्मा भन्छन्, 'अहिले त हामीकहाँ एउटै व्यक्तिले प्रणाली बनाउन थाले।'
काठमाडौंमा अहिले अत्यन्तै साना अर्थात् २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा कम आकारका धुलोका कण रहेको धेरै अध्ययनहरुले देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले यस्ता कण जाडो मौसममा बढी सक्रिय हुने सार्वजनिक गरेको थियो।
'यो वर्ष धेरैले धुलोको समस्या अनुभव गरे, अव्यवस्थित सडक र भूकम्पले भत्किएका संरचनाले काठमाडौंलाई धुलाम्य बनाए,' त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक रेजिना मास्के भन्छिन्, 'त्यसमा आगलागी, डढेलो पनि थप समस्या देखा परे।'
बाक्लो धुलोमा रहने २.५ पिएम कणले स्वास्थ्यमा प्रत्यक्ष असर पारेको उनी बताउँछिन्। 'सिधै फोक्सोमा जाने भएकाले साना कण निकै घातक छन्,' उनी भन्छिन्, 'यस्ता कणलाई मास्कले पनि छेक्दैन।' धुलो व्यवस्थापन नहुनुमा सरकारलाई मुख्य दोषी औंल्याउने उनी सर्वसाधारणका तर्फबाट समस्या समाधानका लागि दबाब हुनुपर्ने देख्छिन्।
काठमाडौंको वायु प्रदूषणमा यातायातका साधनको मुख्य योगदान रहेको एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय संस्था (इसिमोड) का बरिष्ठ वायुमण्डलीय वैज्ञनिक अरनिको पाँडेले एक कार्यक्रममा केही महिनाअघि बताएका थिए।
'यातायात मात्र वायु प्रदूषणको स्रोत होइन तर यसको ठूलो योगदान छ,' काठमाडौंमा आयोजित कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्दै उनले भनेका छन्, 'यसलाई कम गर्न समुदायले दिगो यातायातको उपाय खोज्नुपर्छ। सार्वजनिक यातायातको सञ्जाल विस्तार गर्नुपर्छ।'
कार्यपत्रमा प्राकृतिक इन्धनभन्दा जलविद्युतको भरपुर उपयोग गर्नुपर्ने सुझाव दिए। र, वायुप्रदुषणको व्यवस्थापनको लागी तथ्यांकको आवश्यकता पर्नेमा पनि उनले जोड दिए। यसले सर्वसाधरणलाई अस्वस्थ वायुप्रदूषणको बेला जानकारी दिन, सरकारलाई वायु प्रदूषणका स्रोत बन्द गर्न, निकै लामो दुरीबाट भित्रिएको वायुप्रदूषण पत्ता लगाउन मद्दत मिल्ने उनले जनाए।
भारतीय नाकाबन्दीले पनि स्थानीय जलविद्युतको उत्पादन बढाउन पनि पाठ सिकाएको उनको भनाइ छ। 'तेल र मेडिसिन नेपालका बोर्डरहरुमा रोकिए तर प्रदुषण रोकिएन,' उनले भने, 'किनकी काठमाडौंमा निकै धेरै तुवालो देखिएको थियो। त्यसबेला स्थानीय प्रदुषणका भागिदार (यातायात तथा कलकारखाना) लगभग शून्य नै थिए।'
स्थलगत रुपमा सरकारले केही नगरेपनि काठमाडौं महानगरपालिकाले केही सडकमा धुलो तान्ने मेसिन 'ब्रुमर' प्रयोग गरेर नियन्त्रण प्रयास गरे पनि त्यो दीर्घकालीन हुन सकेको छैन। तीनवटा ब्रुमर रहे पनि दुइटा प्रयोग हुँदैनन्। एउटै ब्रुमर हप्ताको तीनपटक प्रयोग गर्ने गरिएको महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठ बताउँछन्। 'धुलो नियन्त्रण गर्न कि पानी चाहियो कि त ब्रुमर चलाउन पर्योख,' उनी भन्छन्, 'तर, अहिले पानी पाउन गाह्रो छ। ब्रुमर चलाउन पनि सडकका संरचना बिग्रिएका छन्।'
एयरपोर्ट, महाराजगन्जजस्ता केही क्षेत्रमा ब्रुमर सञ्चालन भइरहे पनि फुटपाथ र सडक राम्रोसँग मर्मत नहुँदा धुलो जस्ताको त्यस्तै छ। 'विस्तार गर्दा कंक्रिट सडकमा फालिन्छन्,' उनी भन्छन्, 'यस्तो बेला बु्रमर चलाउन सकिँदैन।' ब्रुमर चलाउन बाटो र फुटपाथ राम्ररी निर्माण गर्नुपर्ने श्रेष्ठ बताउँछन्। 'ब्रुमर चलाउँदा धेरै तेल खर्च हुन्छ। निकै महँगो पनर्ेे भएकाले यो पनि दीर्घकालीन उपाय भने होइन,' उनले भने।
सरकारको वातावरण विभाग पनि धुलो नियन्त्रणमा कुनै काम अघि बढ्न नसकेको स्विकार्छ। विभागका सूचना अधिकृत शंकरप्रसाद पौडेलले चालु आवमा उपत्यकाका विभिन्न सात स्थानमा धुलोको मात्रा नाप्ने यन्त्र जडान गर्नेबाहेक थप योजना नरहेको सुनाए। 'उपत्यकामा १५ ठाउँमा यस्तो यन्त्र जडान गर्नुपर्ने अध्ययनले देखाएको छ,' उनले भने, 'तर सात ठाउँमा मात्र राखेर अध्ययनको काम हुँदैछ। त्यसपछि मात्र नियन्त्रणमा लागिपर्ने हो।'
उनका अनुसार विभागले तीनवटा यन्त्र खरिदका लागि टेन्डर गरिसकेको छ। काठमाडौं दिगो सहरी यातायात परियोजनाले चार र अन्तर्राष्ट्रिय संस्था इसिमोडले दुइटा यन्त्र उपलब्ध गराउने सूचना अधिकृत पौडेलले जानकारी दिए।
अमेरिकास्थित यल विश्वविद्यालयको वातावरणीय अवस्था सूचकांक २०१४ ले काठमाडौंको हावा बंगलादेशपछिकै सबैभन्दा प्रदूषित औंल्याएको थियो। आन्तरिक सवारीसाधन वृद्धिलाई पनि धुलो बढ्नुका कारण देखाइएको छ। पछिल्लो एक दशकमा राजधानीमा मोटरसाइकल, बस, ट्रक, जिपकारलगायत सवारीको संख्या तेब्बरले वृद्धि भएर करिब ७ लाख पुगेको छ।
नेपाली विद्यार्थी अनोभा गुरुङ र विश्वविद्यालयका प्रध्यापक मिचेल एल बेलले गरेको अध्ययनले तीव्र सहरीकरण र अत्यधिक सवारी चापले प्रदूषण बढेको निष्कर्ष निकालेको थियो। अध्ययनमा २.५ माइक्रोमिटर कण धेरै पाइएको गुरुङले बेलायती अखबार गाडियनलाई बताएकी थिइन्।
प्रकाशित: २५ वैशाख २०७३ १९:५० शनिबार