हिमालपारिको जिल्ला मुस्ताङमा पनि डेंगीका बिरामी फेला परेका छन्। मुस्ताङमा फेला परेको डेंगीका बिरामी विदेशी नागरिक हुन्। मुस्ताङ घुम्न पुगेका ३० वर्षीय स्पेनिस नागरिकमा डेंगी पुष्टि भएको मुस्ताङ अस्पतालले बताएको छ। मुस्ताङमा पनि बिरामी फेला परेपछि ७७ वटै जिल्लामा डेंगी पुगेको छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अहिलेसम्म मुस्ताङबाहेक ७६ जिल्लामा डेंगी फैलिएको बताएको थियो। अरु हिमाली जिल्लामा यसअघि नै डेंगीका बिरामी भेटिएका थिए। हिमाली जिल्लामा भेटिएका डेंगीका बिरामी अन्य जिल्लाबाटै गएका थिए। मुस्ताङमा फेला परेका बिरामी पनि काठमाडौँ, पोखरा हुँदै दुई दिनअघि जोमसोम पुगेका थिए। स्थानीयस्तरमा संक्रमण हुने भन्दा पनि अन्य जिल्लाबाट पुगेका व्यक्तिमा संक्रमण देखिएको चिकित्सकले बताएका छन्।
अस्पतालका डा. तेजेस कुमारका अनुसार दुई दिनअघि मात्र ती विदेशी जोमसोम पुगेका थिए। काठमाडौँ, पोखरा हुँदै मुस्ताङ पुग्दा उनी बिरामी परिसकेका थिए। परीक्षणका क्रममा उनमा डेंगी पुष्टि भएको डा. तेजेस कुमारले बताए। उनका अनुसार ती विदेशी झन्डै एकसातादेखि बिरामी थिए। अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको र होटलमा बसिरहेको चिकित्सकले बताए।
मुस्ताङमा यो नै डेंगीका बिरामी फेला परेको पहिलो घटना भएको उनले बताए। ती चिकित्सकका अनुसार मंगलबार पोखरा र बुटवलबाट गएका तीन जना नेपाली नागरिक पनि बिरामी परेपछि डेंगी परीक्षण गराउन अस्पताल पुगेका थिए। तर, डेंगी परीक्षण गर्ने किट नभएपछि परीक्षण हुन सकेको थिए। तर, ती बिरामीमा डेंगीको लक्षण थियो। रगत परीक्षणको रिपोर्टले पनि डेंगीको संक्रमणलाई पुष्टि गर्ने आधार थियो। तर, किट नहुँदा डेंगी नै यकिन हुन सकेको थिए।
‘हामीले बल्ल किट पाएका छौँ। बुधबार किट ल्याएपछि परीक्षण गरेका हौँ। अब शंकास्पद बिरामीको परीक्षण गर्न सकिन्छ,’ उनले भने। उनका अनुसार जिल्लामा ५० जनाको डेंगी परीक्षण गर्न मिल्ने गरि किट पुर्याइएको छ। ती चिकित्सकले स्थानीयस्तरमा संक्रमण हुने भन्दा बाहिरबाट उक्लेका व्यक्तिमा पुष्टि भएको उनले बताए। ‘मुस्ताङमै संक्रमण बढ्ने सम्भावना भने हुँदैन, किनकी यहाँको मौसम अनुकुल हुँदैन,’ उनले भने।
स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख रामबहादुर नेपालीले पनि विदेशी नागरिकमा डेंगी पुष्टि भएसँगै मुलुकका ७७ वटै जिल्लामा पुगेको बताए। ‘हिमाली जिल्ला भएकोले मुस्ताङमा स्थानीय रुपमा संक्रमण त हुँदैन, तर, तल (पोखरा) बाट आएका व्यक्तिमा संक्रमण हुने सम्भावना रहन्छ,’ नेपालीले भने, ‘पहिलो पटक मुस्ताङमा यो संक्रमण पुष्टि भएको छ।’
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठका अनुसार गण्डकीमा डेंगी संक्रमितको संख्या ९१७ पुगेको छ। अहिलेसम्म प्रदेशका १० जिल्लामा मात्र संक्रमण देखिएकोमा अब मुस्ताङमा पनि संक्रमित फेला परेपछि मुलुकका ७७ वटै जिल्लामा संक्रमण देखिएको उनले बताए। ‘हिमाली जिल्ला मुस्ताङ बाहेक अन्यत्र संक्रमण फैलिएको थियो। मुस्ताङमा पनि संक्रमित भेटिएपछि सबै जिल्लामा पुगेको छ,’ उनले भने।
सबैभन्दा बढी कास्कीमा ३२१ जनामा संक्रमण देखिएको छ। त्यस्तै गोरखामा १२२, तनहुँमा १२१, पर्वतमा ९२, स्याङजामा ८०, लम्जुङमा ६४, बागलुङमा ६२, नवलपुरमा २८, म्याग्दीमा २४ र मनाङमा २ जना बिरामी फेला परेका थिए।
चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। यतिबेलाको तापक्रम न्यूनतम २० र अधिकतम ३२ डिग्री सेन्टिग्रेड रहेको छ।
यो लामखुट्टे फैलनका लागि ह्युमिडिटि (सापेक्षित आद्रता) ६० प्रतिशत आवश्यक पर्छ। ६० प्रतिशत ह्युमिडिटि भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ। ६० प्रतिशत ह्युमिडिटिले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताउने गरेका छन्। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एक वर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम भने रही रहने स्वास्थ्यकर्मीको भनाइ छ।
पोखरामा २०७२/७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीन वर्ष पोखरामा एक/एक जना मात्र डेंगीका बिरामी भेटिएकोमा थौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ।
खासगरी वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।
चिकित्सकका अनुसार डेंगु लागेपछि उच्च ज्वरो आउने, जीउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।
प्रकाशित: १२ आश्विन २०७९ १०:४७ बुधबार