समाज

ट्राफिक व्यवस्थापन अस्तव्यस्त, राजमार्ग नै पार्किङस्थल

इलाम बजारमा बनाइएको अस्थायी ट्याक्सी पार्किङ। तस्बिर : भीम/नागरिक

कतै जग्गा अभाव र कतै जग्गा भए पनि उचित व्यवस्थापन नहुँदा जिल्लाभरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। ट्राफिक व्यवस्थापन चुस्त नहुँदा यहाँ आउने पर्यटकलाई समेत प्रत्यक्ष असर पुगिरहेको छ, स्थानीय पनि सास्ती खेप्न बाध्य छन्।  

मेची राजमार्गको झापासँगको सीमा जोरकलशदेखि पाँचथरसँगको सीमा राँके बजारसम्म करिब ९० किलोमिटरमा दर्जन हाराहारी साना–ठूला बजार छन्। ती बजार क्षेत्रमा सवारीसाधन पार्किङ राजमार्गमै भइरहेको छ। कतिपय बजारमा राजमार्गको दायाँबायाँ नै सवारीसाधन पार्किङ गर्ने गरिएकाले हिँडडुल गर्न र सवारीसाधन चलाउनसमेत मुस्किल परेको छ।

सदरमुकाम इलाम बजार मेची राजमार्गभन्दा करिब १ किलोमिटर टाढा पर्ने भए पनि यहाँको ट्राफिक व्यवस्थापन अझ गन्जागोल छ। ट्राफिक व्यवस्थापन योजना बनाउन भन्दै वर्षौंदेखि औपचारिक–अनौपचारिक छलफल चलिरहे पनि ठोस निष्कर्ष निस्किन सकेको छैन। स्थानीय सरकार र प्रहरीले ट्राफिक व्यवस्थापन योजना बनाएको भन्दै कागजी दस्ताबेज देखाउँछन्। तर ‘फिल्ड’ मा वर्र्षाैंदेखि भइरहेको ट्राफिक व्यवस्थापनको अस्तव्यस्त अवस्थाचाहिँ जनसंख्याको चाप बढेसँगै निरन्तर थपिनेक्रममा छ। व्यवस्थापनका लागि प्रयास भए पनि सफल हुन सकेको छैन।

जिल्लाका सबैजसो स्थानीय तहका बासिन्दा कुनै न कुनै कामले सदरमुकाम आइरहन्छन्। त्यतिमात्र होइन, पर्यटकीय जिल्ला भएकाले इलाममा पर्यटकको आउजाउ भइरहन्छ। तर,यहाँका बजार र पर्यटकीय क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा सबैले सास्ती खेप्नुपरेको गुनासो बारम्बार आइरहेको छ। व्यापारिक केन्द्र बिब्ल्याँटे, फिक्कल, नेपालटार, राँके, पुवाखोखा, राजदुवाली, तीनघरेलगायत स्थानमा मेची राजमार्गलाई नै पार्किङस्थल बनाइएको छ।  

इलाम चोक बजारको चारैतिर सवारीसाधन यत्रतत्र रोकेको देखिन्छ। बिहानदेखि साँझसम्म सिठी फुक्दा पनि सवारीसाधन व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई धौधौ छ। ‘ठाउँ साँघुरो भएकाले गाडी कता पार्किङ गर्ने भन्ने समस्या हुँदा सवारीसाधन व्यवस्थापन गर्न हम्मे परिरहेको छ,’ एक ट्राफिक प्रहरी भन्छन्, ‘ठाउँ देखाइदिए त हामी पनि त्यहाँ पार्किङ गर्न भन्ने थियौं तर ठाउँ नै नभएपछि कता पार्किङ गराउने भन्ने अन्योल छ।’

केही महिनाअघिसम्म इलाम चोक बजारको चारैतिर मोटरसाइकल पार्किङ गर्ने व्यवस्था थियो। पर्यटकका केही सवारीसाधन पनि यहाँ पार्किङ गराइन्थ्यो। अहिले यो क्षेत्रलाई ‘इमर्जेन्सी पार्किङ’ भनिएको छ। इमर्जेन्सी पार्किङमा छोटो समयका लागि मोटरसाइकल रोक्न पाउने व्यवस्था छ। बजारकै सिटीमार्टको अगाडिपट्टि मोटरसाइकलका लागि पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। इलाम नगरपालिकाले बजारको मासु पसल रहेको भवनमा मोटरसाइकल पार्किङ गर्ने तयारी गरे पनि त्यसको प्रयोग हुन सकेको छैन।  

इलाम बजारकै पूर्वी भागमा रहेको ट्याक्सी स्ट्यान्डमा बजारभरका र गाउँगाउँबाट आएका जिप, भ्यानलगायत पार्किङ गर्ने व्यवस्था छ। तर इलाम–बिब्ल्याँटे, इलाम–मिलगोलाई, इलाम–गोलाखर्क भन्ज्याङलगायत रुटमा चल्ने साना सवारीसाधनकै चाप धान्न नसकेको यो ट्याक्सी स्ट्यान्डमा गाउँगाउँबाट आएका सवारीसाधनसमेत राख्नुपर्दा थामिनसक्नुको चाप छ। सवारीसाधनको संख्या धेरै भएको र पार्किङ गर्ने स्थान साँघुरो भएकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ।  

यातायात व्यवसायी गृष्म सुब्बा सदरमुकाममा ट्राफिक व्यवस्थापन उचित हुनुपर्ने बताउँछन्। ‘फरकखाले गाडीलाई फरकफरक स्थानमा व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘जहाँ पायो त्यहीं सवारीसाधन पार्किङ गर्न दिनुुहुँदैन। बरु सवारीचालक अनुमतिपत्र लिँदा नै गाडी कहाँ र कसरी रोक्ने भन्नेबारे पनि परीक्षा लिनुपर्छ।’

अहिले इलाम बजार–बिब्ल्याँटे रुटमा ६०, इलाम–गोलाखर्क रुटमा १५ हाराहारी संख्याका भ्यान चलिरहेका छन्। यहाँ १ सय २० हाराहारी टेम्पो छन् भने दिनहुँ करिब ५ सय सवारीसाधन इलाम बजारमा गुड्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। भानुपथ, निकुन्जपथ, मालापथ, नारायणस्थानलगायत क्षेत्रमा पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिन्छ।  

बिहान विद्यालय र सरकारी कार्यालय खुल्ने तथा साँझ बन्द हुने समयमा यहाँ सवारीचाप अझ बढी हुन्छ। सदरमुकामको जिरो किलोमिटरदेखि ठूलो टुँडिखेल, बसपार्क, नवीन चोक, चोक बजार, नारायणस्थान हुँदै धोबिधारा जाने रुट साँघुरो भएकाले यो रुटमा दुईतर्फी सवारीसाधन चलाउन निकै मुस्किल छ। ‘बिहान यी रुटमा यति चाप हुन्छ कि, कहिलेकाहीं जाम भएर समयमा कार्यालय पुग्नसमेत मुस्किल छ,’ यातायात व्यवस्था सेवा कार्यालयकै कर्मचारी रवीन्द्र श्रेष्ठ भन्छन्, ‘निजी क्षेत्रले पनि सशुल्क पार्किङको अवधारणा ल्याउनुपर्छ।’  

इलाम बजारकै मालापथ क्षेत्रमा ‘वान–वे’ घोषणा गरिए पनि अहिले त्यसको कार्यान्वयन शून्य छ। धेरैजसो स्थानीय होटलका पनि पार्किङस्थल नहुँदा सडकमै सवारीसाधन राख्ने भएकाले साँघुरो सडक खचाखच हुने गरेको छ। होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेल कतिपय होटलको आफ्नै पार्किङ रहे पनि कतिपय होटल जीविकोपार्जनका लागि चलेकाले उनीहरूले पार्किङ व्यवस्था गर्न नसकेको बताउँछन्। बजार क्षेत्रमा कार्यालय रहेका बैंक, बिमा कम्पनी र वित्तीय संस्थालगायतको पनि आफ्नो पार्किङस्थल नभएकाले ती कार्यालयमा काम गर्ने कर्मचारीले दिनभर सडकमै गाडी पार्किङ गरिदिँदा निर्बाध आउजाउमा समस्या थपिएको सर्वसाधारण बताउँछन्।

बजारको मालापथ क्षेत्रमा गाउँबाट आएका सवारीसाधन बिहान १० बजेदेखि साँझसम्म राख्ने गरिएको छ। सदरमुकाममा सवारीसाधनको संख्या बढिरहेको ट्राफिक प्रहरी बताउँछ। अहिले सदरमुकाममै यातायात व्यवस्था सेवा कार्यालय रहेकाले पनि सवारीसाधन खरिदबिक्रीमा सुविधा हुँदा र सवारीचालक अनुमतिपत्रसमेत यहींबाट वितरण हुने भएकाले सवारीसाधनको कारोबार र संख्या बढ्दो छ। श्रेष्ठ यो कार्यालयबाट मात्रै वर्षमा १ सय २५ वटासम्म मोटरसाइकलको नामसारी हुनेगरेको बताउँछन्।  

अहिले इलामको पुरानो बसपार्कमा बहुतल्ले पार्किङ भवन निर्माणाधीन छ। त्यहाँ पार्किङ नबन्दासम्मलाई इलाम बजारकै ठूलो टुँडिखेलछेउमा साना सवारीसाधनका लागि अस्थायी स्ट्यान्ड बनाइएको छ। इलाम भएर बाहिरी जिल्ला चल्ने सवारीसाधन यो स्ट्यान्डमा रहन्छन् र यात्रु चढाउने–ओराल्ने काम भइरहन्छ। तर बहुतल्ले पार्किङको क्षमता पनि ४८ वटा गाडीको मात्रै भएकाले समस्याको पूर्ण समाधान सम्भव नहुने इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठ बताउँछन्। चोक बजारकै छेउमा रहेको सिटीमार्टको अगाडिपट्टि मोटरसाइकल पार्किङको व्यवस्था गरिए पनि पर्याप्त हुन सकेको छैन।

बजार क्षेत्रका कतिपय सडक भत्किएर क्षत–विक्षत हुँदा सवारी चलाउन कठिन छ। दुर्घटनाको जोखिम पनि बढिरहेको छ। बजार क्षेत्रमा भत्किएका सडक समयमै मर्मत नहुँदा यात्रुलाई सास्ती भएको नारायणस्थानका बासिन्दा हुकुमलाल थेबे बताउँछन्।  

इलाम नगरपालिका–९, सेरामा निर्माण भएको बसपार्कसमेत बसपार्कका रूपमा प्रयोग हुन सकेको छैन। बसपार्कका लागि बनाइएको भवनमा अहिले वडा कार्यालय र इलाम कृषि क्याम्पस सञ्चालन भइरहेको छ।  

व्यापारिक केन्द्रका रूपमा रहेको बिब्ल्याँटे बजार पनि ट्राफिक व्यवस्थापन अभावमा उकुसमुकुस छ। स्थानीय रुट र झापा–ताप्लेजुङ रुटमा चल्ने सवारीसाधन पनि यहाँबाटै आउजाउ गर्ने भएकाले चौबिसै घन्टा यहाँ सवारीसाधनको चाप बाक्लो देखिने गरेको छ। मेची राजमार्गको दुवैतिर सयौं सवारीसाधन पार्किङ गर्दा सवारीचालक, यात्रु र सर्वसाधारणलाई समस्या भइरहेको इलाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका स्थानीय व्यवसायी कृष्ण पौडेलले बताए। ‘यहाँ ट्राफिक व्यवस्थापनको दिगो विकल्प खोज्नु आवश्यक छ,’ उनले भने।  

बिब्ल्याँटे बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि बजारभन्दा केहीमाथि ट्याक्सी स्ट्यान्ड निर्माण गर्ने प्रयास भएको थियो। तर कतिपय व्यवसायीले बजारभन्दा टाढा गाडी रोक्ने व्यवस्था गर्न नहुने भन्दै विरोध जनाएपछि पुन;मेची राजमार्गलाई नै ट्याक्सी स्ट्यान्डका रूपमा प्रयोग गर्नुपरिरहेको स्थानीय बताउँछन्। इलाम बजार क्षेत्रका पनि धेरैजसो व्यवसायीले आफ्नै पसलअगाडि सवारीसाधन रोक्नुपर्ने तर आफूलाई भने असर गर्न नहुने ‘मानसिकता’ प्रकट गरेकाले ट्राफिक व्यवस्थापनमा समस्या थपिएको एक ट्राफिक प्रहरीले बताए।  

सदरमुकामको जिरो किलोमिटरबाट कुलधारा, धोबिधारा, चुरेघाँटी, बिब्ल्याँटे–नेपालटार भएर जाने मेची राजमार्ग पनि ठाउँठाउँमा भत्केका कारण सवारीसाधन चलाउन समस्या छ। यो क्षेत्रमा राखिएका ट्राफिक संकेत, ट्राफिक बत्ती र जेब्रा क्रसिङ स्पष्ट नहुँदा यात्रु समस्यामा छन्। मेची राजमार्गको कुलधारास्थित बालागुरु टोलबाट ग्रिनभ्याली स्कुल हुँदै इलाम बजार जाने सडकको मेची राजमार्गसँग जोडिएको स्थान निकै जोखिमपूर्ण देखिएको छ। यो ठाउँमा सडक मर्मत नहुँदा सानाठूला सवारीसाधनसमेत उकालो चढ्न नसकेर दर्जनौंपटक दुर्घटना भइरहेको छ। बजार क्षेत्रमा गुड्ने टेम्पो वा अटोरिक्साको व्यवस्थापन पनि चुनौतीपूर्ण बनिरहेको छ।

बजार क्षेत्रमा भित्रिने सवारीसाधन जिरो किलोमिटर र धोबिधारा क्षेत्रमै पार्किङ गर्ने व्यवस्था मिलाउन सक्दा चोकबजारको सवारी चाप व्यवस्थापन सहज हुने ट्राफिक प्रहरी प्रमुख शैलेन्द्र गच्छदारको सुझाव छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले पनि बजार क्षेत्रका सवारीसाधन व्यवस्थापन गर्न उचित स्थानको व्यवस्थापन गर्न सुझाएका छन्। ‘अब नगर क्षेत्रमा घर बनाउँदासमेत पार्किङ अनिवार्य गर्ने नीति ल्याउने हो भने एक तहसम्मको पार्किङ अभाव समस्या कम हुन्छ,’ उनले भने, ‘त्यसबाहेक बजार नजिकका खाली क्षेत्र सदुपयोग, वान–वेलगायत विकल्पमा पनि जान सकिन्छ।’  

इलाममा ट्राफिक प्रहरीको संख्या नै न्यूून भएकाले पनि सवारीसाधन व्यवस्थापनमा समस्या भइरहेको छ। जिल्लाभर ट्राफिक प्रहरीको दरबन्दी नौ रहे पनि अहिले १९ जना कार्यरत छन्। यो संख्या ज्यादै अपुग भइरहेको प्रहरी बताउँछ। इलाम नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि योजना बनाएको मेयर केदार थापाले बताए। ‘अब केही समयपछि यहाँको ट्राफिक व्यवस्थापन सुधार हुँदै जानेछ,’ उनले भने।

प्रकाशित: ७ आश्विन २०७९ ०३:२८ शुक्रबार

इलाम बजार ट्राफिक व्यवस्थापन मेची राजमार्गको झापा