समाज

नेपालगन्जका व्यापारीको गुनासोः अनेक बहानामा राजश्वका कर्मचारीले दुःख दिन्छन्

राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीसँग गुनासो राख्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी।

राजश्व अनुसन्धान विभागका कर्मचारीले अनेक बहाना लगाएर आफूहरुलाई दुःख दिने काम गरेको नेपालगन्जका व्यापारीले गुनासो गरेका छन्।

राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारी समक्ष यहाँका ब्यापारीले यस्तो गुनासो गरेका हुन्। नेपालगन्ज उद्योग वाणिज्य संघले राजश्व अनुसन्धान विभाग र ब्यवसायीबीच बुधबार राखेको अन्तरक्रियामा उपस्थित भएका अधिकांश व्यापारीले अनेक बहाना लगाएर विभागका कर्मचारीले तर्साउने गरेको र आफूलाई पीडा भएपनि कतै व्यक्त गर्न नसकेको बताए।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले यहाँको व्यापार, व्यवसाय खस्किरहेका बेला सरकारले सहयोग गर्नुपर्ने बेलामा अनेक निहुँ बनाएर व्यापारीलाई पीडा दिने काम भइरहेको गुनासो गरे। व्यापारीले सरकारलाई राजश्व तिरेर सहयोग गर्ने काम गरिरहेको बताउँदै उनले व्यापारीको कुनै बद्नियत नभएको जिकिर गरे।

‘गलत काम गर्ने व्यापारीको पक्षमा हामी छैनौं, तर सानातिना त्रुटीका कारण व्यापारीले दुःख पाइरहेका छन्, हामी पीडामा छौं,’ अध्यक्ष मन्सुरीले भने। राजश्व अनुसन्धान विभागले कतिपय अवस्थामा व्यवहारिक पक्षलाई पनि हेर्नुपर्ने उनको सुझाव छ।

सो क्रममा बोल्ने अधिकांश व्यापारीले राजश्व अनुसन्धानबाट फोन आउने बित्तिकै प्रेसर बढ्ने अवस्था आइरहेको दुखेसो पोखे। ‘कर्मचारीले फोन गरेर तिम्रो निगरानी गरिरहेका छौं, समयमै भेट गरिहाल, नत्र छापा हान्छु भनेर थर्काउँछन्,’ व्यापारीले भने ‘राजश्व अनुसन्धानको फोन आउने बित्तिकै हाम्रो मुटु काप्न थाल्छ।’

सो क्रममा संघका महासचिव चिरञ्जिवी ओली, प्रवक्ता टंकबहादुर धामी, नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा, व्यापारी जि.आर भुसाल, दिपेन्द्र बिष्ट, सुदिप कौसल, रविन्द्रनाथ शुक्ला, मिन न्यौपाने, राधा झाँ, युवराज ढकाल, बुद्धि विश्वकर्मा लगायतले महानिर्देशक अधिकारी समक्ष गुनासो पोखेका थिए।

बाँकेको कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयले केही समयअघि नेपालगन्जस्थित एक व्यापारीको पसलमा छापा हान्ने क्रममा विवाद बढ्दा कर्मचारी र व्यापारीबीच हात हालाहाल समेत भएको थियो। कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंकबहादुर धामीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी छाडेको थियो।

व्यापारीको गुनासो सुनिसकेपछि महानिर्देशक अधिकारीले व्यापारीको पसल तथा गोदाममा राजश्वका कर्मचारीले मनपरी रुपमा छापा हान्न नपाउने बताए। ‘कतैबाट हामीलाई सूचना आयो भने हामी सूचनाको विश्लेषण गर्छौं, महानिर्देशकको लिखित स्वीकृती कुनैपनि कर्मचारी ब्यवसायीको घरमा पस्न पाउँदैन,’ उनले भने ‘कसैले तपाईलाई अनावश्यक रुपमा फोन गरेर टर्चर गर्छ र सताउन खोज्छ भने मलाई खबर गर्नुस् म ठाउँका ठाउँ कारबाही गर्छु।’

राजश्व अनुसन्धान विभागले कमजोरी रहेको केही आधार फेला पारेपछि मात्र छापा हान्ने गरेको बताए। ‘हाम्रो उद्देश्य अवैध व्यापारलाई निरुत्साहित गर्ने हो, अवैध व्यापार तपाई हाम्रो शत्रु हो,’ अधिकारीले भने ‘हाम्रो उद्देश्य भनेको व्यापारमा सहजीकरण गर्ने हो, व्यापारीलाई तर्साउने होइन, तपाईहरुलाई आतंकित पारेर सहजिकरण हुन सक्दैन।’

व्यापारीले असल नियतले गर्ने जुनसुकै काममा राजश्व अनुसन्धान विभागले साथ दिने तर, बद्नियत राखेर गर्ने काममा साथ दिन नसक्ने उनले प्रष्ट्याए। उक्त घटना पश्चात बाँकेमा व्यापारी र राजश्व अनुसन्धान विभागबीच द्वन्द्व उत्पन्न भएपछि महानिर्देशक अधिकारी, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला, कम्प्युटर अधिकृत पवन बस्नेत लगायत विभागका उच्च अधिकारी नेपालगन्ज आएर सहजीकरण गरेका हुन्।

प्रकाशित: २२ भाद्र २०७९ १४:३४ बुधबार

राजश्व अनुसन्धान विभागका महानिर्देशक राजश्व अनुसन्धान विभाग