समाज

मोटरसाइकलमा मोबाइल स्ट्यान्ड राख्न रोक

नेपाल ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा कम्पनीले बनाएको संरचना विपरीत राखिएको मोबाइल स्ट्यान्ड राख्न रोक लगाउने भएको छ। नेपालमा अहिले अधिकतम् रूपमा ‘राइड सेयरिङ’ गर्ने  बाइकहरूले यस्तो स्ट्यान्ड प्रयोग गरिरहेका छन्।

त्यसलाई नै हटाउन ट्राफिक कार्यलयले यस्ताे निर्देशन दिएको हो। सवारी तथा यातायात ऐन २०४९ अनुसार सवारी साधनमा कम्पनीको संरचना विपरीत कुनै पनि साम्रागी प्रयोग गरे मोडिफिकेसन भएको हुने भएकोले यो प्रयोग गर्न रोक लगाउने भएको हो।

मोटरसाइकलमा मोबाइल स्टयान्ड प्रयोग गर्दा दुर्घटनाको जोखिम समेत बढेकोले कम्पनीको संरचना विपरीत प्रयोग गरेको कुनै पनि साम्रागी प्रयोग गर्न रोक लगाएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले नागरिक न्यूजलाई जानकारी दिए। भट्टले भने, ‘मोटरसाइकलमा यस्ता मोबाइल स्ट्यान्ड प्रयोग गर्दा मोबाइल हेर्दै बाइक चलाउँने, नक्सा हेर्न तथा फोटो/भिडियो खिच्न प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेको छ।’

ट्राफिक नियम उल्लंघन गरेमा ५ सयदेखि २ हजारसम्म र यातायात कार्यलयमा पठाउनु पर्‍यो भने ५ देखि २० हजारसम्म जरिवाना हुनसक्ने उनले बताए। 'हामीले यो सञ्चालन गरेको ३/४ दिन भयो तर आजदेखि सम्झाउने र कारबाही गर्ने गरेका हौँ,' नागरिकसँग भने। 

प्रकाशित: १५ भाद्र २०७९ १४:२७ बुधबार

नेपाल ट्राफिक प्रहरी कार्यालय