समाज

गोरखा नगरपालिकालाई शिक्षा, स्वास्थ्य क्षेत्रमा रश्मोरले सहयोग गर्ने

गोरखा नगरपालिकालाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा बेलायतको रश्मोर बरो काउन्सिलले सहयोग गर्ने भएको छ। काउन्लिका डेपुटी मेयर सहित पाँचदिने भ्रमणका लागि गोरखा आएको टोलीलाई सोमबार बिदाई गर्ने क्रममा आयोजित पत्रकार भेटघाटमा शिक्षा, स्वास्थ्य र खेलक्षेत्रमा सहकार्य गर्ने दुवै पालिकाले संयुक्त घोषणा गरेका हुन्।  

‘यो भ्रमणले हामीबीचको संम्बन्धलाई झनै मजबुत बनाएको छ’ गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले भने, ‘यहाँको इतिहास, भूगोल, शिक्षा, स्वास्थ्य र विकासको बारेमा हामीबीच छलफल भएको छ।’ काउन्सिल र नगरपालिका बीच निरन्तर भेटघाट हुने र त्यहाँको सिकाईलाई यहाँ प्रयोग गर्ने गरी अघि बढ्ने उनले बताए।  

भ्रमणको नेतृत्व गरेका रश्मोर बरोका डेपुटी काउन्सिल लिडर मरिस सिहानले गोरखा भ्रमण उपलब्धीमूलक भएको बताए। साथै उनले काउन्सिल र गोरखा नगरपालिका बीचको संम्बन्धले निरन्तरता पाउने बताउँदै भने ‘भोलीका दिनमा पनि हामीबीच बलियो संम्बन्ध स्थापित हुनेछ।’ गोरखा भ्रमणका क्रममा यहाँका स्वास्थ्य संस्था, अस्पताल, खेलमैदान, विद्यालयको अवलोकन गर्ने अवसर मिलेको बताउँदै उनले ति क्षेत्रमा रश्मोरले सहकार्य गर्ने बताए।  

रश्मोरमा भएको अभ्यासबाट यहाँ सिक्न र सहयोग गर्न सक्ने ठाउँहरुमा संघसंस्थालाई जोड्ने गरी वातावरण सिर्जना गरिने काउन्सिलर जिब बेल्बासेले बताए। ‘रश्मोरबरो काउन्सिल गोरखा नगरपालिकासँगको यो सम्बन्धको गर्व गर्छ’ उनले भने।  

पाँचदिने गोरखा भ्रमणका लागि आएको बेलायतको टोलीले गोरखा संग्रहालय, गोरखा दरबार, भिमसेन पार्क, सौराहा भ्रमण गरेका थिए। रश्मोर बरोको प्रतिनिधिमन्डलमा डेपुटी काउन्सिल लिडर मरिस सिहान, काउन्सिलर जीव बेल्वासे,डेमोक्रेसी एन्ड पार्टनरसीप प्रमुख एन्ड्र क्लोभरका,अमृता बेल्वासे र इज्जी सिहान सहभागी थिए।  

नगरपालिकाले तय गरेको विभिन्न कार्यक्रममा सहभागी भएर उनीहरु सोमबार फर्किएका हुन्। बेलायतसँग गोरखा नगरपालिकाले सन् २०२० जनवरीमा भगिनी सम्बन्ध जोडेको थियो। कोभिड प्रभावका समयमा रश्मोरले गोरखा नगरपालिका मार्फत ८० लाखको स्वास्थ्य सामग्री सहयोग गरेको थियो।

प्रकाशित: १३ भाद्र २०७९ ०८:२२ सोमबार

गोरखा नगरपालिका