समाज

फोहोरले अस्तव्यस्त राजधानी

काठमाडौंको गोंगवु क्षेत्रमा थुप्रिएको फोहरको डंगुर। तस्बि: प्रसन गुरुङ/नागरिक

साँघुरा सडकपेटी। खाल्डाखुल्डी सडक। अनियन्त्रित सवारीजाम। सबैतिर हेर्दा राजधानी ‘गरिब’ भेटिन्छ। तर सहरका चोक, गल्ली र कुना जताततै भेटिने ‘डंगुर’ले पनि राजधानीको अवस्था दयानीय बनेको छ।

‘अब त एकैछिन बाहिर निस्कन पनि मन नलाग्ने भइसकेको छ,’ कमल पोखरीकी मन्दिरा रावल भन्छिन्, ‘हेर्दाहेर्दे राजधानी ‘फोहोरको धनी’ भइसकेको छ।’ विभिन्न बहानामा फोहोरको समस्याले दिक्क रावल फोहोरको दीर्घकालीन समाधान चाहन्छिन्। ‘फोहोर यसपटक थुप्रियोभन्दा पनि यो समस्या कति बल्झिरहेको भन्ने चिन्ताले बढी सताउने गर्छ,’ उनले भनिन्, ‘सफा काठमाडौं देख्न पनि रहरै भयो।’

उस्तै पीडा छ डिल्लीबजार चारखालनजिकैकी रेविका राईलाई पनि। फर्निचर पसलमा कार्यरत उनलाई कक्षमा एकैछिन बस्न पनि निकै सकस छ। अगाडि नै फोहोर थुप्रिन थालेपछि ग्राहकको प्रतीक्षामा रहने राई भुसुनाको भुनभुनबाट झनै दिक्क छिन्।

‘पसल नखोले दैलोमा नै फोहोर थुप्रिने डर छ,’ कारागारको कम्पाउन्डबाहिरको फोहोर देखाउँदै उनले भनिन्, ‘यसका गन्धले त एकै छिनमा टाउको दुख्ने गर्छ।’ दर्केपानी चर्को घामले फोहोर झनै डरलाग्दो बन्ने उनले सुनाइन्। उनी मात्र हैन, लामो समयदेखि सडकमा फोहोर थुप्रिदा राजधानीको जनजीवन बिथोलिएको छ। नानीका हात समाएर रमाउँदै हिँड्नुपर्ने गृहणीहरू सडकमा नाक थुन्दै लम्कँदै गरेका देखिन्छन्। स्कुल जाँदै गरेका कलिला नानीहरू फोहोरको थुप्रोसँगै दिक्क देखिन्छन्।

वर्षात्को समयमा थुप्रिएको फोहोर स्वास्थयको लागि झनै घातक रहने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। ‘ज्वरोदेखि हैजासम्मको जोखिम रहन्छ,’ उनले भने, यस तर्फ सरोकारवाला निकाय गम्भीर हुनुपर्छ।’ संक्रमणको जोखिमसमेत रहने भएकाले समयममै यसतर्फ ध्यान दिनुपर्ने उनले बताए। ‘संकेतको रूपमा ज्वरोका बिरामी बढ्न थालेका छन्,’ उनी थप्छन्, ‘यसैलाई चेतावनी मानेर समाधानको बाटोमा बढ्नुपर्छ।’

फोहोर खसाल्ने ठाउँ बञ्चरे डाडा क्षेत्रमा बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिकाले फोहोरको व्यवस्थापनमा ढिलाई गर्दा यति बेला सहरका विभिन्न ठाउँमा फोहोर थुप्रिन थालेको छ। तर महानगर भने फोहोर उठिरहेको दाबी गर्छ।

‘फोहोर त उठिरहेकै छ त नि,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘हिजो (शनिबार)सम्म गएकै थियो, आज (आइतबार ) उताबाट केही अवरोध आएकाले रोकिएको मात्र हो।’ राजधानीको कमलपोखरी, कालिमाटी क्षेत्रमा थुप्रिएको फोहोर भने त्यहाँ फोहोर उठाउने निजी कम्पनीले नउठाएको कारण भएको मानन्धरले सुनाए। ‘हामीले त्यस क्षेत्रका ठेकेदारलाई बोलाएका छौं,’ उनले भने, ‘किन नउठको रहेछ बुझ्नेछौं।’

महानगरले साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर अलग गराएर मात्र राख्न नगरबासीलाई आग्रह गरेको थियो। त्यस लगत्तै साउन ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सिसडोल क्षेत्रमा सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो। उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न कठिन हुने प्रवक्ता मानन्धरको भनाइ छ।

तर, समस्या सडक निर्माण सकिँदैमा टुगिंने देखिएको छैन। बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएसँगै फोहोरको समस्या झनै गिजोलिएको छ। ‘हामीसँग विगतमा गरेका वाचा पुरा नगरेका कारण हामी यस्तो निर्णय गर्न बाध्य भएका  हौं,’ बन्चरे डाँडा सरोकार समितीका श्रीराम ढुंगाना भन्छन्, ‘अब यो समस्याको हल काठमाडौं महानगरले मात्र गर्नसक्ने रहेन।’ संघीय सरकार गंभिर नभइ समस्याका समाधान ननिस्कने उनले सुनाए।

यता महानगर भने स्थानीयको माग सम्बोधनको चरणमा रहेको र त्यहाँका जनप्रतिनिधिसँग मिलेर अगाडि बढ्ने बताउँदै आएको छ। ‘सम्बन्धित क्षेत्रका जनप्रतिनिधिसँग कुरा गरेर अगाडि बढ्दै छौं, ‘प्रवक्ता मानन्धर भन्छन्, ‘समस्या समाधान हुनेमा आशावादी छौं।’

प्रकाशित: २४ श्रावण २०७९ ०२:५९ मंगलबार

फोहोर राजधानी