समाज

पर्यटकीय शहर पोखराः जब रात ढल्दै जान्छ, सडकमा फोहोर खस्न थाल्छ

हरेक दिन सडकमै फालिन्छ फोहोर

पोखराको न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि थुपारिएको फोहोर।

बाहिरबाट आउनेलाई पोखरा शहर निकै नै सफा लाग्छ। सडकमा कमै खाल्डा-खुल्डी र फोहोर नदेख्दा धेरैले पोखरालाई सफा शहरको पहिचान पनि दिलाउँछन्। तर, पोखराको मुख्य बजार क्षेत्रले भोगिरहेको नियमित समस्या त्यही फोहोरको छ, जुन एकाबिहानै सडकमा छरपष्ट देखिन्छ।

पोखराको न्यूरोड, सिर्जनाचोक, सभागृहचोक, चिप्लेढुंगा, पृथ्वीचोक क्षेत्रको मुल सडक किनारमा दिनहुँजसो फोहोरको थुप्रो लागेको हुन्छ, त्यो पनि एकाबिहानै। सडक छेउमा थुपारेको फोहोरलाई महानगरले एकाबिहानै उठाउने भएकोले दिनको समयमा देख्न नपाएपछि एकाबिहानै सडकमा हिड्दा ठाउँ-ठाउँमा थुप्रो र पोकाहरु ठड्याएको देखिन्छ।

यतिसम्मकी पोखरा महानगरपालिकाको कार्यालयको गेटमै हरेक दिन फोहोरको थुप्रो लाग्छ। महानगरले सहरका सबै घरबाट कम्तिमा एकसातामा एकदिन फोहर उठाउँछ। तर, मुख्य शहरको सडकको चोकचोकमा फोहोर थुपार्ने गरिएको छ। सडकको चोक-चोकमा थुपारिएको फोहोर उठाउँदा महानगरलाई समेत हैरानी छ।

महानगरको सरसफाई शाखाकी प्रमुख कल्पना बरालका अनुसार मुख्य सडकका चोक र गल्ली-गल्लीमा फोहोर थुपारेर हैरानी थपेको बताउँछिन्। बरालका अनुसार रातको समयमा स्थानीयवासीले फोहोर ल्याएर सडकको चोकमा फाल्ने गरेका छन्। त्यस क्षेत्रका व्यवसायीले पनि रातको समयमा पसल बन्द गरेर फोहोर ल्याएर सडकमै थुपार्ने गरेको बरालले बताइन्।

‘रातको समयमा मुख्य सडक किनारमै ल्याएर फोहोर फ्याकिन्छ। यो दिनहुँको समस्या हो, यसले हामीलाई नै हैरानी दिलाएको छ,’ बरालले भनिन्, ‘सडक छेउमा कसले फोहोर फ्याक्छ भनेर पत्ता लगाउन पनि समस्या छ। किनकी रातको समयमा ल्याएर सडकमै फोहोर थुपारिन्छ। रात पर्दै जाँदा फोहोर सडकतिर झर्न थाल्छ।’

उनका अनुसार सिर्जनाचोक, सभागृहचोक, महानगरको गेट, न्यूरोडका विभिन्न ठाउँमा फोहोरको थुप्रो लगाइएको हुन्छ। घरायसी र व्यवसायीले निकालेको फोहोर सडक छेउमा थुपारिने गरेको उनले सुनाइन्। बरालका अनुसार सडकमा थुपारेको फोहोरले त्यो बेला समस्यामा पार्छ, जतिबेला रातको समयमा वर्षा हुन्छ। वर्षाको भेलले सडक छेउमा थुपारेको फोहोरलाई बगाएर छताछुल्ल पार्छ। भेलले बगाएर यत्रतत्र पारेको फोहोरले बिहानै पोखराको मुख्य क्षेत्रलाई कुरुप बनाउने गरेको उनले बताइन्।  

‘महानगरकै कार्यालयको गेट अगाडि दिनहुँ फोहोरको थुप्रो हुन्छ। बारम्बार हामीले त्यही कुरेरै पनि फोहोर ल्याउने मान्छे पहिचान गर्‍यौँ,’ उनले भनिन्, ‘उनीहरुलाई पहिलो पटक फोहोर ल्याएको भनेर अबदेखि नफ्याक्ने भनेर सचेत पनि गरायौँ। तर, त्यो समस्या समाधान हुनै सकेन। दिनहुँ रातीसम्म कुरेर बस्ने अवस्था पनि रहेन।’

उनका अनुसार भाडामा बस्नेलाई कतिपय घरमुलिले सडकमा फोहोर फ्याक्न लगाउँछन्। त्यस्तै पसल, होटल, रेस्टुरेन्ट चलाउनेले पनि व्यवसाय बन्द गरेर फोहोर ल्याएर रातको समयमा सडक छेउमा थुप्रो लगाइदिन्छन्। रातको समयमा गाडी र मोटरसाइकलमा समेत फोहोरको पोका बोकेर सडक किनारमा फ्याक्न आउने गरेको उनले बताइन्।

‘सबैभन्दा विजोग त पानी परेपछि हुन्छ। भेलले फोहोरलाई बगाएर सडकभरि छताछुल्ल पार्छ। त्यो फोहोर संकलन गरेर उठाउँदा बिहानको समय नै बित्छ,’ उनले भनिन्, ‘पोखरा जति स्मार्ट सहर हो, यहाँका नागरिक उत्तिसारो स्मार्ट हुन सकेनन्।’ बाटोबाटोमा थुपारिएको फोहोर दिनहुँ उठाउनुपर्दा घर-घरसम्म जान पनि ढिला हुने गरेको उनले बताइन्।

महानगरले सातामा एकदिन सबै नागरिकको घरसम्म पुगेर फोहोर उठाउने गर्दागर्दै पनि मुल सडकमा भने दिनहुँ उठाउनुपरेको उनले बताइन्। ‘सडकमा फ्याकिने फोहोर घरमै राखिदिने हो भने पनि सडक त सफा हुन्थ्यो, तर, यहाँ फोहोरको विषयमा पुरै असहयोग छ,’ उनले भनिन, ‘नियमित रुपमा सातामा कम्तिमा एकदिन फोहोर संकलन गर्दा पनि सकिने अवस्था रहेन।’

रातको समयमा सडक छेउमा फोहोर फ्याक्नेलाई कारवाहि गरेपनि समस्या समाधान नभएको उनले बताइन्। केही दिनअघि पृथ्वीचोकका एक जना रेस्टुरेन्ट व्यवसायीलाई रातको समयमा नागढुंगाको सडकमा फोहोर फ्याकेको भन्दै पाँच हजार रुपैयाँ जरिवाना पनि गरिएको थियो। स्थानीय आमा समूहले ती व्यवसायीले रातको समयमा फोहोर फ्याकेको भन्दै प्रमाणसहित महानगरमा उजुर गरेका थिए।

रातको समयमा सडकमा फोहोर फ्याक्नेलाई एक हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गराउन सकिने पनि बरालले बताइन्। ‘कारबाही पनि गरेका छौँ। प्रमाण फेला परेमा कारबाही हुन्छ, पहिलो पटकमा एक हजार रुपैयाँ जरिवाना हुन्छ। बारम्बार गल्ती गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ,’ उनले भनिन्।  

त्यसबाहेक शहरभित्रको सडक सरसफाई गर्न महानगरले १८ जना स्वीपर परिचालन गर्छ। ती सबैजसो स्वीपर त्यही न्यूरोड, सभागृह, सिर्जनाचोक, पृथ्वीचोक क्षेत्रमा खटाउने गरिएको छ। ‘अरुतिर यस्तो समस्या छैन। अरुतिरका नागरिकले फोहोरजति घरभित्रै राख्छन्, तर, मुख्य बजार क्षेत्रमा भने सडकमै थुपारिदिन्छन,’ उनले भनिन्, ‘राती थुपारेको फोहोर बग्ने हुँदा वर्खाभर ती स्वीपरको काम न्यूरोड क्षेत्रमै हुन्छ। अरुतिर खासै समस्या छैन। तर, मुख्य बजार क्षेत्रकै समस्या हो।’  

महानगरले परिचालन गर्ने स्वीपर पालिखेचोकदेखि पृथ्वीचोक–नागडुंगा, सिर्जनाचोक–राष्ट्रबैंक, महेन्द्रपुल–चिप्लेढुंगा लगायतकै क्षेत्रमा खटिन्छन्। ‘भए जतिका स्वीपर न्यूरोड, सभागृह, सिर्जनाचोक क्षेत्रमै खटाउनु परेको छ,’ उनले भनिन्, ‘एकाबिहानै थुपारिएको फोहोर उठे पनि छरपष्ट अवस्थामा सरसफाई गर्नुपर्ने हुन्छ।’

सडक किनारमा रातको समयमा फ्याकिएको फोहोर बिहानैदेखि परिचालित हुने फोहोर संकलन गर्ने सवारीमार्फत उठाउने गरिएको उनले जानकारी दिइन्। उनका अनुसार पोखरामा दिनमा ३० वटा गाडीले शहरभित्रको फोहोर संकलन गर्छ। दिनमा करिब एकसय टन फोहर ल्याण्डफिल साइटमा फ्याक्ने गरिएको छ। त्यसबाहेक अस्पतालबाट निस्कने थप सात टन जति फोहोर हुन्छ। एउटा गाडीले दिनमा तीन ट्रिपसम्म फोहोर उठाउने गरेको छ।  

प्रकाशित: २१ श्रावण २०७९ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App