समाज

ट्र्याक्टर चालक मृतावस्थामा फेला

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङ्माङ मृतावस्थामा फेला परेका छन्। दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ आज बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन्।

हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रोमणराज अर्यालले बताए। 'अनुसन्धान भइरहेको छ, उनले भने, 'शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ।'

दिनभर घरधनीको कोदो रोप्ने काममा सघाएका हिङ्माङ बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत फेला परेको स्थानीय राजन केसीले बताए।  हिङ्माङको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ ।

किसनको शव शङ्कास्पद अवस्थामा फेला परेकाले छानविन नगरी परीक्षण गर्न नहुने उनका आफन्त रामकुमार हिङ्माङले माग गरे। 'बुधबार बेलुका झगडा भएको भन्ने सुन्नमा आएको छ' उनले भने, 'किसनको मृत्यु नभई हत्या भएको अनुमान गरिएको छ। यस विषयमा छानविन नगरी शव परीक्षण गर्न हुँदैन।' हिङ्माङका श्रीमती र एक छोरा छन्। उनीहरु आफ्नै घर बाम्राङमा बस्दै आएको जनाइएको छ।

प्रकाशित: १९ श्रावण २०७९ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App