समाज

ठूला योजनाको काम सुस्त, लापरवाहीले विकास प्रभावित

संघीय सरकारद्वारा कैलालीमा निर्माणाधीन ठूला योजनाको काम गति सुस्त देखिएको छ। गत आर्थिक वर्षमा अधिकांश ठूला योजनाको प्रगति निराशाजनक रहेको छ।

योजना निर्माणको काम सुस्त हुँदा विकासको गतिमा नकरात्मक प्रभावक देखिएकोमा स्थानिय चिन्तित बनेका छन्। धनगढी–अत्तरिया छ लेन सडक, राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिंचाइ आयोजना, सहजपुर–बोगटान सडक लगायत ठूला आयोजनाको भौतिक र वित्तीय प्रगति न्यून रहेको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख जगत भट्टले निर्माणाधिन ठूला आयोजनाको गत आर्थिक वर्षमा विनियोजन भएको बजेट पुरै खर्च हुन नसकेको बताएका छन्। रानीजमरा कुलरिया सिँचाइ आयोजनाको पूँजीगततर्फ दुई अर्ब ५८ करोड ४५ लाख बजेटको अख्तियारी आएकोमा एक अर्ब ७८ करोड ३६ लाखमात्र खर्च भएको उनले बताए।

कर्णाली नदीमा बाँध रहेको यो आयोजना अन्तर्गत नहर विस्तारसँगै ४.७ मेगावाटको जलविद्युत आयोजना निर्माण भइरहेको छ। पटक-पटक म्याद थप गरिँदै आएको धनगढी–अत्तरिया छ लेन सडकको पनि गत आर्थिक वर्षको वित्तीय प्रगती सन्तोषजनक छैन। यो सडकको पूँजीगततर्फ वित्तीय प्रगति ५७ प्रतिशतमात्र छ। ६ लेन सडकको २५ करोड पूँजीगत बजेटमध्ये १४ करोड १५ लाखमात्र खर्च भएको उनले बताए।

६ लेन सडक कालोपत्रे गर्ने कार्य पूरा भएपनि फुटपाथ र सर्भिस लेन निर्माणको काम अलपत्र छ। रेलिङ्ग लगाउने, रंगरोगन गर्ने, ट्राफिक संकेतहरु राख्नेलगायतका कामहरु पुरा भएका छैनन्। निर्माण व्यवसायीले चरम लापरवाही गरेकाले पटक-पटक म्याद थप गरिँदै आएको छ। दुई वर्षभित्र पूरा गर्ने गरी २०७४ जेठमा निर्माण गरि सक्नु पर्ने यो आयोजना अझै पूरा हुन नसकेको हो भने लापरवाही गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्नुको साटो पटक पटक म्याद थप गरिदै आएको छ।

पौने दुई अर्ब लागत रहेको यो प्रदेशकै ठूलो आयोजना मध्येको हो। यसैगरी क्षेत्रीय आयोजना कार्यान्वयन इकाईले २ अर्ब १४ करोड ८४ लाख बजेटमध्ये ९५ करोड ९२ लाख मात्र खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख भट्टले बताए। यो ४५प्रतिशत मात्र हो। स्थानीय पूर्वाधार विकास आयोजनाको प्रगति ५१ प्रतिशत छ।

स्थानीय पूर्वाधार आयोजनाको पूँजीगत बजेट १४ करोड साढे ६३ लाख थियो। धनगढी उपमहानगरमा संचालित संघीय सरकारको सघन सहरी विकास कार्यक्रमको चार करोड बजेट फ्रिज भएको छ। नेपाल सरकारले निर्माण गरिरहेको कैलाली र डोटी जोड्ने बिपीनगर–बोगटान सडकको प्रगति पनि सन्तोषजनक छैन।

यो सडकका लागि गत आर्थिक वर्षमा अख्तियारी दिइएको एक अर्ब ६० करोड रुपैयाँमध्ये ६५ करोड ९४ लाखमात्र खर्च हुन सकेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भट्टले बताए। यो ४१ प्रतिशतमात्र हो। ५० किलोमिटर सडक दुई वर्षमा कालोपत्रे सक्नुपर्ने थियो। तर साढे तीन वर्ष बित्दा पनि निर्माण काम अधुरै छ। भौतिक प्रगति ७० प्रतिशतभन्दा कम छ। यो सडकले कैलाली र डोटीका ग्रामीण बस्तीलाई जोड्छ।

निर्माण सामग्रीको मूल्य वृद्धिको कारण देखाएर निर्माण कम्पनीले काममा ढिलाइ गरेकाले प्रगति न्यून देखिएको सहजपुर–बोगटान सडक आयोजनाले जनाएको छ। बजेट अख्तियारी ढिलो हुनु, पहिलो र दोश्रो चौमासिकमा काम सुरु नहुनु, निर्माण व्यवसायीको लापरवाहीलगायतका कारण योजनाको काम सुस्त भएको कर्मचारी बताउँछन्।

प्रकाशित: १४ श्रावण २०७९ १५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App